Logo

‘नोवेल क्विज मेनिया–६’ आउँदो साताबाट प्रसारणमा आउने



Spread the love

विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको नोबेल क्विज मेनिया सिजन ६ को प्रसारण आउँदो साताबाट प्रसारणमा आउने भएको छ । कान्तिपुर टेलिभिजन बाट यही आश्विन ५ गते बिहीबार (सेप्टेम्बर २१) नेपालीहरूको महान् चाड दसैँको घटस्थापनाको दिनबाट प्रसारण हुने आयोजक एक्रेटिभ मिडिया प्रा.लि.ले जनाएको छ । कुनै पनि राम्रो काम गर्दा शुभ साइत हेर्ने नेपाली परम्परालाई पछ्याउँदै आयोजकले नोवेल क्विज मेनिया–६ लाई घटस्थापनाको दिनबाट प्रसारणमा लगेको हो ।

यस पटकदेखि एसियाली स्तरमा सञ्चालन गरिएको नोवेल क्विज मेनियामा एसियाका विभिन्न देशहरूले सहभागिता जनाउँदै छन् । महानायक राजेश हमाल क्विज मास्टर रहेको नोवेल क्विजमा एसियाली क्षेत्रका विभिन्न राष्ट्रहरुका उत्कृष्ट कलेज तथा विद्यार्थीहरूले सहभागिता जनाउने एक्रेटिभ मिडिया प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलले बताए ।

यस अघिको सिजन ५ दक्षिण एसियाली स्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको एक्रेटिभ मिडियाको यो नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हो । प्रतियोगिताको माध्यमबाट एसिया महादेशमा रहेका उच्च माध्यमिक तहका विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने मौका प्राप्त गर्नुका साथै उनीहरूका लागि यो कार्यक्रम एक अर्कालाई नजिकबाट चिन्ने र सांस्कृतिक आदानप्रदानको अवसर समेत हुने दाबी गरिएको छ ।

विभिन्न एसियाली देशहरूमा छनौट चरण (अडिसन) सञ्चालन गरिने नोबेल क्विज मेनिया सिजन ६ को अन्तिम चरणको प्रतियोगिता नेपालमा सञ्चालन हुनेछ । क्विजमा सहभागी हुने विदेशी विद्यार्थीका साथै कुटनीतिक, शिक्षा, व्यवसाय जस्ता विविध क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहने छ । प्रतियोगिताको अन्तिम चरणका कार्यक्रमहरूमा नेपालको पर्यटन, कला संस्कृति, भाषा भेषभुषाका बारेमा प्रबर्द्र्न गर्ने लक्ष्य समेत आयोजकले लिएको छ ।

विभिन्न विदेशी कार्यक्रमका फ्रेन्चाइजहरु नेपाल भित्रिने क्रममा रहेको वर्तमान अवस्थामा नेपालबाट नोवेल क्विज मेनिया एकमात्र अन्तर्राष्ट्रिय स्तरमा गएको प्रतियोगिता हो ।

विराटनगर स्थित नोवेल मेडिकल कलेजको प्रस्तुति रहेको सिजन ६ को इन एशोसिएशन विथमा इस्लिङ्टन कलेज रहेको छ । कार्यक्रमको प्रायोजकमा एनआइसी एसिया बैङ्क लि., राइटपाथ करियर काउन्सेलिङ, मर्सि एजुकेशन कन्सल्टेन्सी, हिरो मोटरसाइकल, श्री वेङ्कटेश्वर कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी इण्डिया, श्रीनाथ कलेक्सन, कतार एयरलाइन्स, गोल्डेन गेट इन्टरनेशनल कलेज, नेपालय कलेज, पाथ फाइण्डर इन्टरनेशनल एजुकेशन, एक्सस एजुकेशन नेटवर्क, एक्सपर्ट एजुकेशन नेटवर्क, कान्तिपुर एजुकेशन, हिटाची रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्