Logo

दुई प्रदेश जोड्ने मितेरी पुलको काम शुरु



Spread the love

९ फागुन, दैलेख – पाँच वर्षदेखि अलपत्र परेको कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम जोड्ने मितेरी पुल निर्माण पुनः शुरु भएको छ । दैलेखको पश्चिम आठबीस नगरपालिकाको राकम कर्णाली र अछामको पञ्चदेवल विनायक नगरपालिका जोड्ने पुलको काम शुरु भएको हो ।

तीन वर्षभित्र बनाइसक्ने लक्ष्यका साथ विसं २०६८ असार २८ गतेदेखि निर्माण शुरु भएको पुलको पिलर हाल्ने क्रममा समस्या आएकाले पाँच वर्षअघिदेखि निर्माण अलपत्र परेको थियो । जग कर्णाली नदीको बीच भागमा बसाल्ने क्रममा ठूला ढुङ्गा भेटिएकाले जग बसाल्न नसकेको भन्दै निर्माण कम्पनीले ‘फाउण्डेशन’ बदलिदिन भन्दै काम छाडेको हो ।

सडक विभागअन्तर्गत पर्ने यो पुल निर्माणको जिम्मा काठमाडौँको राजेन्द्र जेभी निर्माण कम्पनीले पाएको छ । कर्णाली नदीको बीचमा करिब १६–१९ मिटरभन्दा तल ‘वेल फाउण्डेशन’ डिजाइनबाट बनाउन सम्भव नभएपछि डिजाइन बदलेर पुनः काम शुरु गरेको निर्माण कम्पनीले जनाएको छ । अहिले फाउण्डेशन बदलेर ‘वाइल फाउण्डेशन’ अन्तर्गत काम शुरु भएको सडक डिभिजन कार्यलय सुर्खेतका प्रमुख देवेन्द्र भट्टराईले जानकारी दिए ।

रु साढे १३ करोड लागत रहेको सो पुल छ मिटर चौडा र १२५ मिटर लम्बाइको डिजाइनमा निर्माण हुँदैछ । यो पुल निर्माण भएपछि कर्णाली प्रदेशको एक पर्यटकीय गन्तव्य राकमदेखि सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरासम्म आर्थिक गतिविधि बढ्ने स्थानीय रमेशजङ्ग थापाले बताए ।

दैलेख–अछामको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक हित हुने योजनाका साथ दैलेखको डाँडीमाडी, ठाटीकाँध राकम हुँदै अछाम प्रवेश गर्ने पर्यटकीय सडकअन्तर्गत सो पुल पर्दछ । सडक डिभिजन कार्यालयका अनुसार करिब रु पाँच करोड बराबरको बजेट एउटा पिलरमा सकिसकेको छ । पुल निर्माण भएपछि काठमाडौँ, पोखरालगायतका विभिन्न क्षेत्रबाट आउने यात्रुले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सवारी यात्रा गर्न सक्ने आठबीसका वुद्धिजीवी गोकर्ण माझीले बताए ।

प्रतिक्रिया दिनुहोस्