Logo

लिटिल इभिल मेन



Spread the love


असीको दशक मेटालिका, मेगाडेथलगायतका बिग फोर थ्रास मेटल ब्यान्डले कब्जा गरेको थियो । सोही बखत टुल ब्यान्डका सदस्यहरु लस एन्जलसमा स्थापित हुन संघर्ष गरिरहेका थिए ।


गितारिस्ट एडम जोन्स हलिउडमा छिर्ने प्रयास गरिरहेका थिए । गायक मेनार्ड जेम्स किनन भने पेट स्टोरमा भिजुअल आर्टिस्टको रुपमा काम गर्दथे । पेट स्टोरबाट निकालिएपछि संगीततिर लाग्ने मनसायले लस एन्जलसको दुई ब्यान्डमा बास गितारिस्ट र फ्रन्टम्यानको रुपमा काम गर्न थाले ।

सन् १९८९ मा किनन र जोन्सको भेट हुन्छ । भेटपछि दुबैजना मिलेर ब्यान्ड खोल्ने योजना बनाउँछन् । जोन्स किननको आवाज सुनेर निकै प्रभावित भएका थिए । ड्रमर डेनी करेको परिचय जोन्सको हाइस्कुलको साथी टम मोरेलोले गरिदिन्छ । पल डीअमोर बेसिस्टको रुपमा आएपछि ब्यान्डको लाइन अप पुरा हुन्छ । तर सन् १९९५ मा डीअमोरले ब्यान्ड छाडेपछि उनको ठाउँमा जस्टिन चान्सलरले बेसिस्टको रुपमा भूमिका निभाइरहेका छन् ।


एडम जोन्सलाई खासै गितार बजाउन आउँदैनथ्यो । उनी फिल्ममा मेकअप आर्टिस्टको रुपमा काम गर्दथे । उनले जुरासिक पार्क र टर्मिनेटरजस्ता सुपरहिट फिल्ममा काम गरेका छन् । सम्भवत उनले आफै गितार बजाउन सिकेका हुन् । ड्रमर डेनी करे भने सिपालु ड्रमर थिए । गायक किननको समाजप्रति हेर्ने दर्शन नितान्त भिन्दै थियो । जुन कुरा उनको गीतहरुमा स्पष्ट देखिएको छ ।

ब्यान्ड खडा गरेको दुई वर्षसम्म रिहर्सल गरेपछि ब्यान्डले ओपिएट ईपी निकाल्दछ । ओपिएट इपीलाई ‘स्ल्याम एन्ड ब्याङ्ग’ को रुपमा लिने गरिन्छ, यानेकी एल्बम निकै हेभी थियो । नब्बेको दशकमा निर्भाना, पर्ल जाम, साउन्डगारडेनजस्ता ग्रन्ज ब्यान्डले एकक्षत्र राज गरिरहेको बेलामा छुट्टै पारामा एल्बम निकालेर टुल ब्यान्डले आफ्नो क्षमताको परिभाषा दिएको थियो ।

सन् १९९३ मा निस्केको अन्डरटो एल्बमको प्रिजन सेक्स र सोबर गीत निकै नै हिट भए । प्रिजन सेक्सले बच्चा दुर्व्यवहारको बारेमा बोलेको हुनाले उक्त गीत एमटिभी प्लेलिस्टबाट निकालिएको थियो । अन्डरटोपछि टुलले आनमा, लेटरएलस, टेन थाउसेन्ड डेज र फियर इनोकोलुमजस्ता हिट एल्बम निकालिसकेको छ । आनमा एल्बम कमेडियन बिल हिक्सबाट प्रभावित भएको पाइन्छ । टेन थाउसेन्ड डेज भने किननको आमाको सम्झनामा निकालिएको एल्बम हो ।

फियर इनोकोलुम एल्बम ब्यान्डले गएको अगस्टमा ३० मा रिलिज गरेको थियो । जुन एल्बम १३ वर्षपछि निकालिएको हो । उक्त एल्बम रिलिज हुनुभन्दा एक हप्ताअगि टेलर स्वीफ्टको लभर भन्ने एल्बम बिलबोर्ड चार्टको एक नम्बरमा थियो । तर एक हप्तामै टुल ब्यान्डले स्वीफ्टलाई बिलबोर्ड चार्टको दोस्रो स्थानमा झार्न सफल भयो । टेलर स्वीफ्टको एल्बमलाई पछि पार्नसक्नु सानो कुरा होइन । सामाजिक सन्जालमा स्वीफ्टका प्रशंसकहरु टुलबाट हैरान भएका थिए ।


टुलको आजसम्मको उत्कृष्ट एल्बमको रुपमा लेटरएलसलाई मान्ने गरिन्छ । यो मान्ने गरिन्छ कि प्रोगको दुनियाँमा लेटरएलसजस्तो एल्बम अरु कुनै छैन । यो पनि भन्ने गरिन्छ कि टुलको जस्तो लिरिक्स आजसम्म कुनै ब्यान्डले नलेखेको छैन । सोबर, स्किज्म, द पट, लेटरएलस, फोेर्टी सिक्स एन्ड टु जस्ता गीतहरुको अति नै गहिरा छन् । दर्शन र साइकोलोजीलाई बेसी आफ्नो गीतमा समेटेका छन् मेनार्ड जेम्सले ।

हाम्रो समाजको जुन विश्वास छ त्यो विश्वासले हामीलाई गरेको असर र त्यो विश्वास हामीले पछ्याउन नहुने कुरा मेनार्डले गीतमार्फत् व्यक्त गरेका छन् ।


ब्यान्डको म्युजिक भिडियोहरु गितारिस्ट आडम जेम्सले बनाएका हुन् । सोबरको भिडियोले अति नै चर्चा पाएको थियो । टुलको गीत मात्र नभइ भिडियो पनि दुर्बोध्य नै रहेको छ । आजसम्म म्युजिक भिडियोको इतिहासमा यस्तो खालको भिडियो पाइएको छैन । एल्मबको कभर डिजाइन जोन्स आफै हुन् । तर लेटरएलस, टेन थाउसेन्ड डेज र फियर इनोकोलुम एल्बमको कभर भने सर अलेक्स ग्रेको सहयोगले बनाइएको हो । ब्यान्डको गीत, म्युजिक भिडियो, अनि एल्मब कभर सबैमा हामीले कला देख्न सक्छौँ । समग्रमा भन्नुपर्दा टुल कलाले भरिएको छ ।

ब्यान्डको जनराको बारेमा गितारिस्ट जोन्सले एक अन्तर्वार्तामा भनेका थिए,“हामी रक, मेटल, ग्रन्ज, पंकलगायतका ब्यान्ड होइनौँ । हामी टुल हौँ । हामी एक्सपेरिमेन्ट गर्न रुचाउँछौँ ।”


अरु ब्यान्डमा भोकलिस्ट जहिले पनि समर्थकहरुको अघि रहेर गीत गाउँछन् तर मेनार्ड जेम्स भने स्टेज पछाडि बसेर गीत गाउँछन् । उनलाई अँध्यारोमा रहेर गीत गाउँदा आफू अझै धेरै रचनात्मक हुने विश्वास गर्छन् । यसै कहाँ टुल ब्यान्डका समर्थकहरुले ब्यान्डलाई आठौँ आश्चर्यको रुपमा मानेका हुन् र ?


टुल ब्यान्ड पिङ्क फ्लोइड, सेक्स पिस्तोल, रसजस्ता ब्याण्डबाट प्रभावित छ । तर विशेष गरी बेलायती प्रोग्रेसिभ ब्याण्ड किङ्ग क्रिमसनबाट अझ बढि प्रभावित रहेको छ ।

किङ्ग क्रिमसन ब्यान्डका गितारिस्ट रोबर्ट फ्रिपले एक अन्तर्वार्तामा भनेका थिए, “किङ्ग क्रिमसन ब्यान्डबाट टुल जत्ति कुनै पनि प्रभावित भएको छैन । टुल र किङ्ग क्रिमसन एउटै लाइनमा भएका ब्याण्ड हुन् । मैले किङ्ग क्रिमसन टुलमा सुनिरहेको छु । दुबै ब्याण्ड एक अर्कामा गाँसिएका छन् । टुलमा किङ्ग क्रिमसन मजाले पाउन सकिन्छ । मलाइ टुलको फ्यान हुँन पाउँदा खुशी लागेको छ ।”


पछिल्लो समयमा नेपालमा पनि टुलका समर्थकहरु बढेका छन् । अन्डरग्राउन्ड ब्यान्डदेखि नाम चलेका ब्यान्डहरुले टुलको गीतहरु कभर गरिरहेका छन् । अधिकांश समर्थकहरु टुलको टीसर्ट तथा हुडमा सजिएका हुन्छन् । तर कोही कोही समर्थकहरुले भने लेटरएलस एल्बमको लोगोलाई ट्याटु बनाएको देख्न सकिन्छ ।


टुलको हुडमा सजिएका शिशिर सापकोटा भन्छन्, “स्टे स्पाइरलिङ्ग माइ फ्रेण्ड्स । टुल ब्यान्ड सुन्दा अद्भुत आनन्द मिल्छ । यसले हामीलाई मनोरञ्जन मात्र नदिई जीवनजगत बुझ्न सहयोग पनि गर्छ । अधिकाँश लिरिक्सहरु दार्श्निक पाराका छन् । जुन गहिरा र सामान्यतया नबुझिने खालका छन् ।


यसैगरी टुलका समर्थक निरोज खतिवडा भन्छन्, “स्वदेशी विदेशी धेरै ब्यान्ड सुनियो तर टुलजस्तो आजसम्म भेटेकाे छैन । टुल सुन्नुको मजा छुट्टै छ । टुल आफैमा कला हो, कलाले कसको मन पो प्रफुल्ल पार्दैन र ? खासमा भन्नुपर्दा हामीले टुल ब्यान्ड सुन्दैनौँ, यसलाई अनुभव गर्छौँ ।”

प्रसिद्ध म्यागजिन रोलिङ्ग स्टोनले टुल ब्यान्डलाई लिटिल इभिल मेन को रुपमा वर्णन गरेको थियो । टुल ब्यान्ड खोलेको २८ वर्ष भइसकेको छ । २८ वर्षको दौरानमा ब्यान्डले ४ वटा ग्रामी अवार्ड जितिसकेको छ भने विश्वभर कन्सर्ट गरेर समर्थकहरुको दिलमा बस्न सफल भएको छ । संगीतको क्षेत्रमा अरुभन्दा छुट्टै अस्तित्व कायम गरिरहेको ब्यान्डले आगामी दिनमा अझै एउटा एल्बम निकाल्न सक्ने अनुमान गर्न सकिन्छ ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्