Logo

इटालियन सिरी ‘ए’: करियरको १००० औँ खेलमा ३५ वर्षीय रोनाल्डोको कीर्तिमानी गोल



Spread the love

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै युभेन्टसले इटालियन सिरी ‘ए’ मा घरेलु टोली एसपाललाई २–१ ले पराजित गरेको छ । युभेन्टसको जितमा रोनाल्डोसँगै आरोन राम्सीले एक गोल थपे । घरेलु टोलीका एन्ड्रिय पेटाग्नाले गोल गरेपनि हार टार्न सकेन ।

आफ्नो खेल करियरको १०००औं खेल खेलिरहेका रोनाल्डोले खेलको ३९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । एसपालविरुद्ध गोल गरेसँगै रोनाल्डोले सिरी ‘ए’ मा लगातार ११ खेलमा गोल गर्ने ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमानलाई बराबरी गरेका हुन् ।

३५ वर्षे रोनाल्डोले सोसुलोविरुद्धको खेलमा गोल गरेयता युभेन्टसका लागि लगातार गोल गरिरहेका छन् । उनले युभेन्टसबाट ७३ खेलमा ५३ गोल गरेका छन् । रोनाल्डोले आफ्नो खेल करियरमा ७२५ गोल गरेका छन् । एसपालविरुद्ध नै करियरको १००० खेल पुरा गरेका रोनाल्डोले क्लबबाट ८३५ र राष्ट्रिय टोलीबाट २६४ पटक खेलिसकेका छन् । उमेर बढ्दै गएपनि रोनाल्डोका गोल गर्ने क्रम रोकिएको छैन ।

जितसँगै युभेन्टसले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । युभेन्टसको २५ खेलबाट ६० अंक छ । एसपाल १५ अंक जोडेर रेलिगेसन जोनको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्