Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३९,०४६
संक्रमित
८,०३,५४७
निको भएका
१,७२,४३४
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

दिवाखाजा कार्यक्रमले विद्यार्थीमा थपियो उत्साह



१३ फागुन, खोटाङ । रावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय छाड्न नदिन गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

गत पुस १ गतेदेखि गाउँपालिकाका २८ वटै विद्यालयमा लागू गरिएको दिवाखाजा कार्यक्रमका लागि पुस र माघ महिनाको रकमसमेत वितरण शुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । “गाउँपालिकामा १६ प्रावि, पाँच आधारभूत र सात माविमा एक हजार ६१४ विद्यार्थी अध्ययनरत छन्”, उहाँले भन्नुभयो, “प्रतिविद्यार्थी रु १० का दरले उनीहरुको अभिभावकलाई विद्यालयमा बोलाएर दिवाखाजावापतको भत्ता रकम प्रदान गर्ने गरिएको छ ।”

छ वडा रहेको रावाबेँसी गाउँपालिकाको सबै विद्यालयका छात्रछात्राका अभिभावकलाई आगामी फागुन १९ गतेसम्म पुस र माघको दिवाखाजावापतको भत्ता रकम वितरण गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । प्रत्येक अभिभावकले आफ्ना बालबच्चालाई रोटी, गेडागुडी, खाना, चाम्रे, सातु, सागसब्जीका परिकार तथा फलफूललगायत खाजाका रूपमा पठाउने र सोवापत गाउँपालिकाले खर्च दिने विद्यालयमा आधारित दिवाखाजा सञ्चालन कार्यविधिमा उल्लेख गरिएको छ ।

गत मङ्सिर १९ गते दिवाखाजा सञ्चालन कार्यविधि पारित गरेको गाउँपालिकाले विद्यार्थीलाई बिस्कुट, चाउचाउ, भुजिया, दालमोटजस्ता जङ्कफुड (पत्रु खाना) जन्य खाजाका रूपमा खुवाउन र पठाउन बन्देज लगाएको छ । विद्यार्थीका आमालाई भेला गरेर खाजाको सूची तयार पारेको र सोहीअनुसार खाजा तयार पारेर पठाउन भनिएको छ ।

विद्यालयमा दिवाखाजा कार्यक्रम शुरु गरिएपछि विद्यार्थी नियमित भएको र कक्षा छाड्ने प्रवृत्तिमा कमी आएको गाउँपालिका उपप्रमुख समला राईले जानकारी दिनुभयो । “दिवाखाजा कार्यक्रम लागू भएको छोटो समयमै सकारात्मक प्रभाव देखिएको छ”, उहाँले भन्नुभयो, “दिउँसै कक्षा छाडेर हिँड्ने सङ्ख्यामा पनि कमी आउनुका साथै उनीहरुको पढाइमा समेत उत्साह थपिएको पाइएको छ ।”

दैनिक रु १० का दरले दिवाखाजावापतको भत्ता दिँदा गाउँपालिकाबाट विनियोजित रकमले करिब ६५ दिन मात्र पुग्ने देखिएको शिक्षा शाखा संयोजक तीर्थराज दाहालले बताउनुभएको छ । शिक्षा शाखा संयोजक दाहालका अनुसार अन्य दिनका लागि उक्त कार्यक्रमलाई निरन्तरता दिन पुनःविचार गर्नुपर्ने अवस्था देखिएको छ । दिवाखाजा कार्यक्रमको निरन्तरता दिन वित्तीय समानीकरणअन्तर्गतको बजेटका लागि राष्ट्रिय योजना आयोगसमक्ष माग गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम शुरु गरिएपछि प्रदेश सरकारले विद्यार्थीलाई खाजा ल्याउने भाँडा उपलब्ध गराउने भएको छ ।

जिल्लाका सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजा पठाउने चलन कमै मात्र छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा दिवाखाजा कार्यक्रम लागू गर्ने रावाबेँसी गाउँपालिका पहिलो स्थानीय तह हो । जिल्लामा ९१ मावि, ६७ आधारभूत र ३३५ प्राविगरी ४९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । रावाबेँसी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा सञ्चालित विद्यालयमा अहिलेसम्म दिवाखाजा कार्यक्रम लागू भएको छैन ।

जिल्लाका कतिपय ठाउँमा सञ्चालित सामुदायिक विद्यालय जान पैदल तीन घण्टासम्म हिँड्नुपर्ने अवस्था छ । बिहान ७ बजे विद्यालय गएका विद्यार्थी बेलुका ८ बजे मात्र घर पुग्ने हुँदा कतिपयले बीचैमा विद्यालय छाड्ने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्