Logo

वीरगञ्ज चिनी कारखानाको छ बिघा जग्गा बिक्री



Spread the love

१६ फागुन, वीरगञ्ज – सरकारले सम्पत्ति शुद्धिकरण तथा आतङ्कारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एशिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ ।

यही फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकले हेजिङसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ मा स्वीकृति प्रदान गर्ने गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । बैठकले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं १४ मा रहेको कित्ता नं ११३१ को १०–६–४ बिघामध्ये ६ बिघा जग्गा बिक्री गर्न स्वीकृति दिएको छ ।

पोखरा मनपा–३ र ११ जोड्ने सेती नदी माथिको पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्गमिटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति दिइएको छ । यही फागुन २६ देखि आगामी चैत्र ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय आयोग (सिएसडब्लु) को ६४औँ सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृति दिइएको छ ।

बैठकले नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बहुप्राविधिक महाविद्यालय निर्माण र सञ्चालनार्थ सिन्धुपाल्चोकको चौतारा–साँगागढीचोकगढी नगरपालिका–५ स्थित आहालडाँडा सामुदायिक वन क्षेत्रसहित राष्ट्रिय वन क्षेत्रको ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख र पोल तगा बिरुवा हटाउन स्वीकृति दिएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) (दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत, २०७७ सालमा दिइने सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरी स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जानकारी दिए ।

संखुवासभा जिल्लामा जग्गा पुनः नाप जाँच गर्नको लागि स्वीकृति, खेलकूद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को पहिलो संशोधन स्वीकृत गर्ने र नेपाल–भारत सीमा निरीक्षण समितिको कार्यविधि २०७७ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्