Logo

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा



Spread the love

२३ फागुन, कर्णाली – कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन् । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका यहाँका पुल निर्माण कार्य धमाधम भइरहेका छन् ।

केही पुल निर्माण भइसकेका छन् भने धेरै पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तीव्र गतिमा काम भइरहेको छ । विशेष गरी कर्णालीका जुम्ला, कालिकोट र मुगुको मुख्य आधारका रुपमा रहेको कर्णाली राजमार्गका पुल निर्माणपछि आवतजावत गर्ने यात्रुलाई सहज हुने जुम्ला पातारासी गाउँपालिका वडा नं ३ का रामबहादुर ऐडीले बताए ।

जुम्ला र कालिकोट खण्डका नौ निर्माणाधीन पक्की पुलमध्ये खल्लागाड बालीघाट, सिम्लेमा र छेडेनामा काम सम्पन्न भएर गाडी गुडेका डिभिजन सडक कार्यालय जुम्लाका इञ्जिनीयर दीपक विकले बताए । उनका अनुसार अन्य पुल असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी द्रुत गतिमा काम भइरहेको छ । कर्णाली करिडोर जोड्ने खुलालु पुल र सेरी पान्तडी पुल भने ठेक्कामा जाने तयारी भइरहेको छ ।

यसैगरी कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका नौ पुलमध्ये बोडखोला र कुमाले खोलामा निर्माण सम्पन्न भई गाडी गुडिसकेका सडक डिभिजनले जनाएको छ । दैलेख खण्ड सडक डिभिजन सुर्खेतले हेरिरहेको छ भने जुम्ला कालिकोट खण्ड जुम्लाको जिम्मामा रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

दैलेख खण्डका पातलेखोला, लाम्चुलीखोला, मानेखोला, पुवाखोला, कालेखोला, पाल्तडाखोला, कानेगाड, दहीखोला र गुहेखोलाको काम असारसम्म सकिने गरी काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर देवेन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार यो वर्ष धेरैजसो पुलका निर्माण व्यवसायीलाई काम समयमा नगरेमा कालोसूचीमा राख्ने वा सम्झौता रद्द गर्ने पटकपटक निर्देशन गरेपछि काम समयमै भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्