Logo

“नारी”



Spread the love

सिताराम भट्टराई (मधुकर)

सहनशीलताकी मुर्ति नारी, दया, माया, प्रेम र सुन्दरताकी खानी पनि नारी, र पनि पुरुषका तिखा नङ्ग्राहरूबाट सधैँ चिथोरिन्छन् नारी । नारी शब्द आफैमा सुन्दर र भव्य छ । युगै देखि पुरुषहरुले संसार भरिका नारीहरू माथि दमन गरेको देखिन्छ । एउटा परिवर्तनको लागि नारी समानता, नारी सहिष्णुता र नारी स्वतन्त्रता हुन आवश्यक हुन्छ ।

नारी र पुरुषको विभेदकारी खाडललाई पुर्न एउटा शैक्षिक समानताको सङ्ग्राम आवश्यक छ । जति पुरुष गर्न सक्छन् त्यति महिला ले पनि गर्न सक्छन् भन्ने कुरा विश्व उदाहरण हरू थुप्रै छन् । तर उनीहरूलाई विभिन्न अवसर तथा चुनौतीहरू बाट वञ्चित गराउनु हुँदैन । सामाजिक, भाैगलिक, राजनीतिक, धार्मिक तथा पर्यावरणीय क्षेत्रमा पनि उतिकै स्थान दिनु पर्दछ । आज विश्व नारी दिवस मनाई रहेको छ यो खुसीको कुरा हो । संविधानले महिला अधिकार दिएता पनि हाम्रो जस्तो मुलुकमा संविधानको कार्यनयन नगरिनु दुखलाग्दो कुरा हो ।

नारीहरू पनि महिला अभियान्ताको रूपमा रहँदा व्यक्तिगत स्वार्थमा बिक्नु यो आफैमा अपराध जन्य कुरा हो । ती नारी अभियान्ताहरुले अर्थात् नारी समानता को लागि, नारी परिवर्तनको लागि, राजनीतिक ढोका ढकढक्याउने व्यक्तिहरूले महिला हक, अधिकार र कानुन कार्यन्वयनको लागि बुलन्द आवाज उठाउनु पर्छ । सबैलाई थाहा छ नारी महान् छन् । तर एक चोटि समृद्धिको सपना बोकेका जो कोहीले पनि पश्चिमका छाउपडी गोठमा पुग्नु पर्छ । चिल्लो कार र सधैँ भटभटेमा संसद् आेेहोर दोहोर गरिरहने शासकहरुले एक चोटी कर्णाली पुग्नु पर्छ ।

सधैँ भोको पेटमा घाँस दाउरा गर्ने, साँझ बिहान चुलो चाैको गर्ने अनि गर्भवती हुँदा एक छाक खाना खाएर बच्चा जन्माउने किशोरी आमालाई सोध्नु पर्छ कि नारी स्वतन्त्रता के हो ? महिलाका हक र अधिकार के हुन् ? गरिबी, अशिक्षा र पिडा के हो ? जीवनका हरेक कठिन सफरमा हमेशा साथमा रहने, पतिब्रता, आफ्ना छोराछोरी र सन्ततिको समृद्धिको लागि आफ्नो कहालीलाग्दो पिडाहरू लुकाउछिन् भने यहीबाट बुझ्न सकिन्छ कि नारी कति महान् छन् भन्ने कुरा ।

दिनानुदिन थुप्रै घटनाहरू घटिरहेका छन् । सरकार माैन छ । महिलाहरू पशुहरु जस्तै विदेशका कोठीमा बेचिन्छन् र प्यास मेटाउँछन् पिपासु सञ्जनहरु । दाईजो नदिएको भन्दै मण्डव बाटै उठ्छन मानवीयता बिराएका कायर पुरुषहरू । समाजको अमानवीयताले आत्महत्या गर्न बाध्य हुन्छन् नारीहरू । भनिन्छ असल सोचले असल परिवारको निर्माण गर्छ, असल परिवारले असल समाजको निर्माण गर्छ, असल समाजले असल राष्ट्र निर्माण गर्छ र असल राष्ट्रले विश्वलाई मानवीयताको पाठ सिकाउंँछ । नारी पुरुष एक रथका दुई पाङ्ग्रा हुन एक विना अर्को पूरा हुँदैन ।

तर पनि बढ्दो पुरुषबादी सोचले नारीको सहनशीलता माथि दमन गर्छ र शोषण गर्छ । अझ भनौ भने नारी घर परिवार बाटै असुरक्षित महसुस गर्छन् । मानव मूल्य र मानवता सर्बोच्च हुन्छ तसर्थ महिला हिंसा हटाउन महिलाले पनि अदम्य आँट लिएर पुरुषबादी हाबि भएको सोचलाई प्रतिकार गर्नु पर्छ । मानव चेतनशील र मर्यादामा रहनउ सबैभन्दा ठुलो उत्कृष्टता हो । अर्को तर्फ पुरुषले यो पनि भुल्छ कि उ एउटा नारीकै स्वर्गीय गर्भबाट सृष्टिको प्राप्त युगमा आएको र एउटा नारीको छाती कुल्चँदै अमृत पान गरेको । तसर्थ एउटा परिवर्तनको लागि यो दुनियाँमा एक शैक्षिक महाभारत आवश्यक छ।

भुल्नु हुँदैन कि नारीहरू पनि सगरमाथाको शिखर चुम्न सक्छन् ,नारीहरू पनि विश्व हाँक्न सक्छन् र अन्तरिक्ष यात्रा तय गर्न सक्छन् । नारी परिवर्तनको वेग्र तेज गतिलाई रोक्नु हुँदैन । सामाजिक ,सांस्कृतिक , राजनीतिक , धार्मिक प्रतिबन्ध बाट फुकुवा गर्नु पर्छ। यसको मतलव यो हो कि नारी स्वतन्त्रता को नाममा अङ्ग प्रदर्शन गर्नु उचित होइन ।

पुरुष बादी अहङ्कारलाई टुटाई दिनु पर्छ । नत्र कहिले सम्म रहन्छ बोक्सी भनेर मलमुत्र खुवाउने चलन निर्मला जस्ता लाखौँ अबोध बालिकाको चीत्कार र कहिले सम्म रहन्छ छोराछोरी बिचको विभेद । तसर्थ शिक्षा मात्र त्यस्तो अस्त्र हो जसले विभेदकारी अन्याय र अत्याचार लाई पराजित गर्न सक्छ । त्यसैले बा आमाले छोराछोरी समान हुन्छन् भन्ने कुरा बुझ्नु पर्छ र उनीहरूको अधिकार तथा उत्तरदायित्व समान हुन्छ भन्ने कुरा बुझ्नु पर्छ । एक सकारात्मक सोचमा हजारौँ परिवर्तन सम्भव हुन्छन् भन्ने कुरा बुझ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्