Logo

सञ्चारमैत्री वातावरण निर्माणमा सरकार जुटेको छः सञ्चारमन्त्री बस्नेत



Spread the love

काठमाडौँ, असोज  ६ गते । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताउनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “सञ्चार क्षेत्रको विकास भए मात्र मुलुकको विकास र समृद्धि हुन्छ ।”

मन्त्री बस्नेतले “सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिस धनी बनेका छन् र धेरै देशले विकास र समृद्धि गरेका छन्,” भन्दै सूचना प्रविधिको क्षेत्रलाई देशभर विस्तार गर्ने गृहकार्यमा सरकार जुटिरहेको बताउनुभयो ।

“कात्तिक मसान्तभित्र देशका हरेक कुनाकाप्चामा टेलिफोन सेवा पु¥याउने गरी काम भइरहेको छ,” उहाँले भन्नुभयो– “राष्ट्रिय आमसञ्चार प्रतिष्ठान निर्माण, न्यूनतम पारिश्रमिक कार्यान्वयन लगायतका आधारभूत कुरालाई लागू गर्नेमा सरकार गम्भीर भएर कार्य गरिरहेको छ ।”

मन्त्री बस्नेतले मुलुकको हरेक परिवर्तनमा फोटो खिच्ने नाउँमा आफ्नो ज्यानलाई जोखिममा राखेर फोटो पत्रकारले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै फोटो पत्रकारलाई परेको समस्याको समाधानका लागि मन्त्रालय सदैव सकारात्मक रहेको धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले विद्यागत पत्रकारिताको विकासका लागि फोटो पत्रकार संस्थागत रुपमा अगाडि बढेको भन्दै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले फोटो पत्रकारिताका नाममा पत्रकारले लाखौँ रुपैयाँ खर्च गरेर क्यामरा किने पनि क्यामरा र मान्छेको बीमा नहुँदा समस्या परेको बताउँदै मन्त्रालयलाई उक्त कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

समूहका अध्यक्ष धुव्र आले, पूर्वअध्यक्ष कवीन्द्रमान शाक्य, राष्ट्रिय पर्यटन पत्रकार सङ्घका अध्यक्ष शिव अधिकारी लगायतले फोटो पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

विसं २०५३ मा स्थापना भएको समूहमा हाल ३१ जिल्लाका ४०० भन्दा बढी फोटो पत्रकार आबद्ध रहेको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न विद्यामा फोटो पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै पाँचजना फोटो पत्रकारलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा गोरखापत्र दैनिकका फोटो पत्रकार राजेन्द्र चित्रकार, मनोरञ्जन फोटो पत्रकार कवीन्द्रमान शाक्य, संस्कृति तथा सम्पदा फोटो पत्रकार गणेशकुमार श्रेष्ठ, साहसिक फोटो पत्रकार राजेश गुरुङ र पर्यटन फोटो पत्रकार किरण आचार्य रहनुभएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्