Logo

श्रममा युवा -जुत्ता सिलाइ महिनामै ३५ हजार कमाइ !



Spread the love

नेपालमा अरूभन्दा सस्तो, भरपर्दो र धेरैले प्रयोग गर्ने जुत्ताहरुमा हामी सबैको पहिलो रोजाइ बन्ने गर्छ– छालाको जुत्ता । देशका कुनाकन्दरासम्म लाखौँ मानिसले प्रयोग गरिरहेका छालाका जुत्ता लगाएर कसैकसैले उनै जुत्ता सिलाई सेवा दिँदै आइरहेकाहरुलाई सम्मानको साटो दुब्यहार गरेको सम्म देखिन्छ । डक्टर, पाइलट,वकिल,सरकारी कर्मचारीजत्तिकै सिर्जनशील थुप्रै युवा दाजुभाइले देशका विभिन्न भागमा अहिले पनि जुत्ता सिलाइरहेका भेटिन्छन् । जुत्ता सिलाएर बेचेबापत आएको पैसाले नै उनीहरूले बिहान–बेलुकीको छाक टार्दै आएका छन् । यस्ता हजारौँ सिर्जनशिल युवाहरुमध्ये सल्यान डाँडागाउँ गाविस वडा नम्बर ६ बरला स्थाई ठेगाना भई हाल तुलसीपुर नगरपालिका–५, पिपलबोट दाङमा रहेका युवराज नेपालीले दाङ तुलसीपुर पिपलबोटमा जुत्ता सिलाएर बेच्न थालेको १५ वर्ष भयो । यही पेसामार्फत् जीवनलाई अगाडी बढाउने उद्देश्य साँचेका यिनै ३२ वर्षे तन्नेरीसँग सुन्जिता बस्नेतले गरेको कुराकानीको सारसंक्षेपः

जुत्ता सिलाई बेच्न थालेको कतिवर्ष भयो ?
अहिले १५ वर्षजति भयो ।

महिनामा कति जति पारिश्रमिक पाउनुहुन्छ ?
त्यो त हेरेर हुन्छ । कहिले थोरैमा पनि चित्त बुझाउनु पर्ने हुन्छ । तापनि सालाखाला महिनामा ३५ हजार जति हुन्छ ।

अनि त्यो पैसा केमा खर्चिनुहुन्छ ?
घरभाडा,बालाबच्चाको पढाइ, रासनपानी, घरखर्च, औषधिमूलो गर्दागर्दै ठिक्क हुन्छ ।

तपार्इंले उत्पादन गरेका जुत्ता कुन–कुन ठाउँमा खपत हुन्छ ?
मेरा उत्पादन यही तुलसीपुर बजार र आसपासका क्षेत्रका साथै कहिलेकाही सल्यान–रुकुममा समेत खपत हुँदै आएको छ।

तपाईँ सुरुदेखि यही पेसामा लाग्नुको कारण ?
घरको आर्थिक अवस्था ठिकै थियो । तापनि पढाइमा भन्दा अन्य सिर्जनशिल काममा सुरु देखी केही गरौँ भन्ने रुचि भएकै कारण मैले राम्रोसँग पढ्न सकिनँ । बाबुआमाको पनि अन्य पेसा केही नभएकोले म यही पेसा रोज्न बाध्य भएँ । मेरो अब एउटै आशा के छ भने मैले दुःख गरेर छोराछोरीलाई राम्रो ज्ञान दिन सकें भने अवश्य पनि उनीहरूले अन्य कुनै राम्रो जागिर वा यही पेसा व्यवसाय विस्तार गरेर जीवनलाई अगाडी बढाउलान् भन्ने आशा छ ।

यही पेसामा यत्तिका दिन, महिना–वर्ष बित्यो अब जीवनलाई कसरी अगाडी बढाउने सोच छ ?
आजसम्म त यही पेसामा लागेर आफ्नो युवा जोस यसमै समर्पित गर्दै छु । पाएसम्म देशकै सेवा गर्ने हो । तै पनि यहाँ जत्तिकै दुःख अन्य देशमा गर्ने हो भने यहाँको भन्दा धेरै कमाई हुन्छ भन्ने साथिहरुबाट सुन्दा कहिलेकाही उतैतिर जाउँ जस्तो लाग्छ । सकेसम्म यही ठाउँमा मेहनत गर्ने हो । यही बसेर जीवन धान्नै नसक्ने अवस्था आयो भने अन्य विकल्प सोच्नुपर्ला ।

कस्तो झन्जटिलो पेसा गरेछु भनेर दिक्क लाग्दैन ?
लाग्दैन । पहिले पहिले त्यो महसुस कहिलेकाही गर्थे । तर आजभोली यसैमा रमाइरहेको छु।
अन्य पेसामा लागेका व्यक्ति र तपाईँलाई समाजले हेर्ने दृष्टिकोणमा कस्तो भिन्नता पाउनुभएको छ ?
सही कुरा गर्नुभयो । पहिले पहिले रातदिन नभनी मेहनतबाट हामीले निर्माण गरेका जुत्ता लगाएर हामीलाई ‘जुत्ता सिलाउने’ भनेर हेप्ने काम समेत कसैकसैबाट हुन्थ्यो । तर आजभोली त्यो चलन हराउन थालेको छ । के गर्ने म मात्र बोलेर केही हँुदैन । दिनभरि दुःख गरेर पनि साँझ–बिहान हातमुख जोर्न समेत ग्राहो पर्छ । स्पष्ट सरकारी नीति नहँुदा आज हामी अन्य पेसा व्यवसाय गरेका भन्दा शिर निहुरायर भए पनि काम गरेको अवस्था छ । अब समाजले पनि बुझ्न जरुरी छ,सबै पेसा व्यवसाय एउटै हुन र सबैलाई समान व्यवहार गर्नुपर्छ ।

जीवनलाई फर्केर हेर्दाखेरि दोषी को ?
अरू कोही नभई सरकार, त्यस्तो सोच्ने मान्छे र हामी आफैँ दोषी हौँ । के गर्ने जीवनमा राम्रो सँग पढेको भए, कुनै सरकारी जागिर गरेको भए आज यो अवस्था आउने नै थिएन ।
अन्त्यमा, अब के लाग्छ, आफ्नो जीवन भोगाइमा मान्छेको जीवन के रहेछ ?
मेरो बुझाइमा जीवन भन्नु नै यात्रा रहेछ । कहिले कता पुगिने कहिले कता तर कहिल्यै त्यो ठाउँ पुग्न नसकिने गन्तव्यहीन यात्रा ।
(कुराकानी सक्दा उनकी जीवनसँगेनी नयाँ जुत्ता सिलाइमा व्यस्त उनै युवराजलाई हेर्दै मुसुमुसु हाँसिरहेकी थिइन ।)

 

प्रतिक्रिया दिनुहोस्