Logo

ए ! मेरी रंगीन चित्रकार !!!



Spread the love
अँध्यारा मेरा छाँयाहरुमा
रंग सजाउदै हिडेकी,
ए !
मेरी रंगीन चित्रकार !!
कैयौं रातहरु देखि
चिसो यो अन्धकारमा,
तिम्रो आगमनको
पर्खाइमा !
सुस्त सुस्त
सुस्ताइ रहेछ यो,
तिम्ले लत्याएर हिडेको
आधा-अधुरो क्यानभास !!
आऊ !
तिम्रा सबै मुस्कानहरुको
स्वाद लिएर आऊ !
आऊ !
तिम्रा सबै कुचिहरुको
पोको लिएर आऊ !
आऊ !
तिम्रा सबै रंगहरुको
लालित्य लिएर आऊ !
आऊ !
अनि
रंगाइदेऊ यो
ओसिलो क्यानभास
छमछम ती कुचिहरुमा
लतपत तिम्रा रंगहरुले !!
मेरो छाँया
र,
यो रात !
तिम्रा स्वर्णिम रंगहरुको
झर्झराउँदो रसमा
रसिला हुन चाहन्छौं !!
मेरो छाँया
र,
यो रात !
तिम्रा स्वादिला औलाहरुको
चलमलाउँदो तापमा
मादक हुन चाहन्छौं !!
मेरो छाँया
र,
यो रात !
तिम्रा ती रंगहरुको
भर्भराउँदो रापमा
अमर हुन चाहन्छौं !!
अहो !
त्यो सौभाग्य !!
बताइ देऊ
ए !
मेरी रंगीन चित्रकार !!
कहिले फर्किन्छ्यौ
हँ तिमी !
यो चिसो अन्धकारमा ?
ढल्काउँदै त्यो नुनिलो मुस्कान
लर्काउँदै त्यो रुमानी कम्मर
छल्काउँदै ती गुलिया केशराशी !!
अहो !
त्यो संगिन मिलन !!
झन्झन
व्याकुल भैरहेछुँ !!!

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्