Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३३,१७८
संक्रमित
७,०२,३६८
निको भएका
१,४९,२१५
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

तस्वीर




–हृदयचन्द्रसिंह प्रधान

मलाई सबभन्दा ‘मै’ मन पर्छ ‘मै’ प्यारो छ, र ‘मै’ सुन्दर लाग्छ, त्यसैले मलाई खुब प्यारो लाग्ने र सुन्दर देखिने ‘म’ अर्थात् मेरो आफ्नो मुख र रुप खुब हेरिरहेर धेरै काल बाँचिरहने इच्छा छ । धेरैजना साथीहरुले मसित धेरैचोटि सोधिसकेका छन्–‘तिमीलाई सबभन्दा मन पर्ने के हो ?’ म सधैं सबैलाई खाली यहीं जवाफ दिने गरिरहेको छु–“मलाइ सबभन्दा मै मन पर्छ, मै प्यारो छु र मै सुन्दर लाग्छ !”

मलाई भारी गजब लाग्छ, मेरो यो जवाफ सुनेर धेरैजसो मानिस मलाई स्वार्थी र मूर्ख भन्दारहेछन् । जल्ले जे भनुन्, मलाई के पर्वाह छ ? के खाँचो छ र आफ्नो रुचिलाई बेचेर दबाएर दुनियाँको खुशीका निम्ति मरिरहुँ ? मेरो यो भावना र विचारलाई लिएर मलाई मन नपराउने त पशु नै भन्दा होलान् भनुन् । कसैको खेलाउनाका निम्ति सृष्टि भएको त म होइन । मेरो सृष्टि, मेरो अस्तित्व मेरै मनोरञ्जनका निम्ति हो, मेरै आनन्दका निम्ति म हुँ । म मेरै निम्ति बलिरहेछु, बाँचिरहेको छु, भइरहेको छु, मलाइ मन नपरेको दिन म अहिल्यै निभ्न सक्दछु, मर्न सक्दछु नहुन सक्दछु, तर मलाइ मन पराउने मेरा मित्रहरु चाहिँ मलाई अत्याउँदै छन्–“है त्यसो भन्नु छैन, आफ्नो निम्ति भन्दा अरुको हुनुपर्छ, बाँच्नुपर्छ र मर्नुपर्छ, आफ्नो निम्ति हुने र बाँच्ने त पशुहरुमात्र हुन् ।”

वाह, मलाई मन नपराउने मेरा मित्रहरुको अर्ती ! भर्सेला परोस् उनीहरुको अर्ती ! उपदेश ! शिक्षा ! कसैलाई दयाको उपदेश, अझै भनुँ साधारण पाइलोमा पनि उपदेश दिनलिन नपर्ने जुग कहिले आउला क्या र ? त्यो जुगको म एउटा मानिस हुन चाहन्छु । उपदेश र शिक्षाको स्थान खाली स्कुल कलेज भएको हेरेर गतिका निम्ति अर्तीको खाँचो नभएका सब मत्र्यमण्डलको साथ आफू पनि त्यस बेला म स्वर्गका वासिन्दाहरुसित सुखको दाँजो दाँजिरहुँला ।


त आफ्नो निम्ति सुन्दर र प्यारो नभइकन अरुका निम्ति भएर पनि बाँच्ने र मर्ने ? शायद यसैले होला कि मबाट कसैलाई सुख हुन सक्दछ । त्यसबेला म एउटा दयालु हुनुपर्छ । म दयालु भएर देवता हुन चाहन्न । म मानिसै हुँ यसकारण सबैसरह मबाट पनि दया पाउन सकिन्छ ।

म कसैलाई चाहिन पर्ने दया राख्ने नै हुन चाहन्न । दयाको मिठो पासोमा फँसेर दानव किन बन्ने ? आफूसम्मलाई मात्र पाल्न सकी, आफ्नो रुचि–सौन्दर्यमा आनन्दित भएर, मानव बन्न पाए मलाइ पुग्यो ।

मेरा रुचि र मेरो आनन्द यही हो, मलाई सबभन्दा मै मन पर्छ, मै प्यारो छु र मै सुन्दर लाग्छ । यसैले मलाई हमेसामै अर्थात् आफैलाई हेरिरहन मन लाग्छ । म भन्न चाहन्छु सबैले मैलेजस्तो आफू–आफूलाई खुब मन पराउन्, प्यारो गरुन्, सुन्दर ठानुन् र आफूलाई खुब हेरिन् । मैले यसैले कहिल्यै पनि धन थुप्राउने कोसिस गरेको, रुपियाँ बटुल्न इच्छा नगरेको किनभने त्यसलाई सधैं छोपेर, लुकाएर र पोका पारेर चियाइकन हेरिरहनुपर्छ । यसो गर्नाले आफूलाई हेरिरहन पाइँदैन, आफ्नो अनन्त सौन्दर्य पान गरी चिरायु पाइँदैन ।

आफूलाई राम्ररी हेर्न र आफ्नो सौन्दर्यलाई निहाल्ने साधन मैले दुईटा पाएको छु–ऐना र तस्वीर । यसैले यी दुबै साधन मलाई प्रेमजस्तै प्यारो लाग्छ, आफूजस्तै मनपर्छ । हरहमेशा म ऐनाद्धारा आफूलाई हेरेर खुश भइरहन्छु, अनि आफ्नो चेहराद्धारा आफ्नो हृदयलाई सुन्दरता बढाउने चेष्टा गरिरहन्छु, आफ्नो चेहरामा प्रसन्नताको द्युति प्रस्फुटित गर्ने प्रयास गरिरहन्छु, आफ्नो चेहरामा प्रसन्नताको द्युससति प्रस्फुटित गर्ने प्रयास गरिरहेछु । ऐनामा हेर्दा आफ्नो भगवानलाई दर्शन पाएको आनन्द पाउँछु ।

ऐनाभन्दा पनि आफूलाई हेर्ने र आफ्नो सौन्दर्य निहाल्ने साधनमा तस्वीर मन पर्छ । आफूलाई फुर्सद नपाएर सिंगार्न नसकेको बेला कुनै परिश्रमले थकित भएको बेला, कुनै मानसिक रोग भएको बेला र बिरामी भएको बेलामा ऐनामा आफूलाई तुष्ट गर्न पाउँदिन । आफ्नो हृदयलाई सुन्दर र मनलाई हरियो पारेर दीर्घायुताको डिग्री चढाउन पाउँदिन । तर तस्वीर हेरेर त आफ्नो इच्छा, कामना, मनमा शीतलता र हरियालीपन, चेहरामा प्रसन्नताको सौन्दर्य वर्तमान भएको बेला खिचाइन्छ । यसकारण तस्वीरमा आफ्नो आनन्दी हृदय, ठण्डा मन र प्रसन्न चेहरा खडा भइरहन्छ । यिनै सबको एकत्र अस्तित्व र समष्टिको वर्तमानलाई नै म आफू सम्झन्छु, आफ्नो जीवन सम्झन्छु । म सदा जीवनमय आफूलाई हेर्न चाहन्छु । ममा कहिलेकाहीँ मृत्युका चिन्हहरु आइपर्दा पनि म आफ्नो जीवन खुब हेर्न मन पराउँछु ।

यसो भन्ने पनि मानिसहरु छन् रे “आफ्नो कोठामा आफ्नो तस्वीर राख्नु एक किसिमको त्यो पनि बडप्पन र उत्ताउलोपन मात्र हो, स्वयम् आफै आफ्नो कोठामा छ, फेरि तस्वीर किन ? कोठामा तस्वीर राख्नु आफ्नो जिउँदोपनको मूल्यलाई, आफूले आफ्नो कोठामा राखेर बढ्दैन, अरुले राखे पो । फेरि तस्वीरको मूल्य बढ्ने मृत्युपछि पनि हो । ”

म तिनीहरुलाई एउटा साथी भए र सल्लाह दिन चाहन्छु– “यो भनाइ ठिक भएन, यो भनाइमा झन् मौन रुपमा बडप्पन छ । कसैले पनि बडप्पन र उत्ताउलोपनको निम्ति आफ्ना कोठामा राख्दैन, सबै आफ्नो कोठामा आफ्नो तस्वीर ‘स्वान्तः सुखाय’ का निम्ति मात्र राख्दछन् ।”

म त झन् आफ्नो कोठामा सबभन्दा आफ्नै तस्वीर राख्न मन पराउँछु । बडप्पन र उत्ताउलोपनको त ममा कल्पना पनि छैन । म त खालि आफ्नो आनन्द र मनोरञ्जनका निम्ति आफ्नो तस्वीर राख्दछु । दुर्भाग्यवश आफ्नो शिशु, किशोर, बालककाल अर्थात् अवस्थान्तर कालको तस्वीर मैले हेर्न पाइन ।

मेरा अवस्थान्तर कालका तस्वीरहरु हेर्ने सौभाग्य पाएको भए मैले आफ्ना जीवनका तह–तह दर्शन पाउन सक्दथेँ, मेरो बेहोशियारी कालका जीवन–ग्रन्थीहरु पनि सबै मेरा आँखा अगाडि भएर मनोवैज्ञानिकताको अन्वेषणमा लागे पनि म सफलताका बाटोमा धेरै अगाडि पुग्न सक्थेँ, जीवनका अणु–अणुका परिचायक र मनोविश्लेषणका ज्ञाता भएर मानिसका निम्ति म केही कामको हुन सक्थेँ हुँला । अब मेरो छ, अतीतको पश्चातापबाट तस्वीर खिचेर खिचिराख्नेहरुको वर्षेनी तस्वीरहरु हेरेर आफ्नो सचेत र अरुको जीवन गतिको मनोवैज्ञानिक अध्ययन गर्ने ।

अवस्थान्तरकालका अनेक तस्वीर राख्न चाहेर पनि म विशेष गरेर आफ्नो पौढता सन्निहित बल्दो युवावस्थाको तस्वीर नै ज्यादा मन पराउँछु । म यौवन र सौन्दर्यको गाढा प्रेमी छु । आफ्नो भरजीवनमा म यौवन, युवत्व र सौन्दर्य दर्शन गरिरहन चाहन्छु । बुढ्याइँदेखि म निकै तर्सन्छु । बुढ्याइँलाई पनि म एउटा मृत्यु सम्झन्छु । यसैले म आफ्नो युवाअवस्थाको तस्वीर हेरी–हेरीकन यौवन, युवत्व, सौन्दर्य, तेजस्विता, ओजभावको आकर्षण भरेर सदा युवक बनिरहन खोज्दछु । मेरो युवावस्थाको तस्वीरमा भएको मेरो व्यक्तित्व र भावलाई इच्छा शक्तिद्धारा तानी तानीकन म १०० वर्षको पुरानो भएर पनि नवयुवक भइरहन चाहन्छु ।

मानिसको जीवनका विशेष गरेर आयुको सम्बन्धमा मानिसहरुलाई प्रायः गरेर भविष्यभन्दा अतीत सुन्दर लाग्छ । कुनै वर्तमान जीवनको महत्व केही पनि नबुझ्ने वर्तमान जीवन र हृदयगत लोकको बहुमुल्यता, भविष्यै मन पर्ला । उसलाई अतीतको युवत्वभन्दा भविष्यको बुढ्याइँ नै मन पर्ला । तर मलाई त, यो जीवन, यो लोक ज्यादै प्रिय छ । यसैले यो जीवन र यो लोकको अवधि बुढ्याइँ अवश्य जीवनको हत्यारा र मृत्युको दूत हो । बुढ्याइँभन्दा त मलाई बरु लड्कापन धेरै राम्रो लाग्छ, तर वास्तवमा जीवनको सबभन्दा राम्रो हिस्सा आयुको सबभन्दा सुन्दर भाग यौवनकाल हो । यसको अगाडि हाम्रो जीवनको दुबै छेउ लड्कापन र बुढ्याइँलाई म त जीवनमय मृत्यु सम्झन्छु । यसैले मलाई जवानीमात्रै मन पर्छ । शेष आयुपर्यन्त म जवानीको प्रकाश दिइदिईकन बुढ्याइँको किटाणुलाई मारेर यो सुनौलो र सुगन्धमय संसारलाई हेरिरहन चाहन्छु (यो संसारको सुनौलो र सुगन्धमय उपवनमा डुलिरहन चाहन्छु) यसैले म संसारलाई सुनौलो पार्ने प्रसन्नता, सुगन्ध बनाउने सास, उज्यालो पार्ने किरण, वीर बनाउने जोश र अगाडि बढाउने ओज आदिले भरिपूर्ण भएको आफ्नो जवानीको सुन्दर र कलामय तस्वीर आफ्नो कोठामा एउटा अत्यन्त राम्रो फ्रेममा जडेर राख्न खुब चाहन्छु । त्यसलाई खुब हेरिरहेर म सदा युवत्वबाट फुट भएर जवानीको साथ भइरहन चाहन्छु र आफ्ना साथीहरुलाई र मानिसमात्रलाई म यहीं सल्लाह दिन चाहन्छु ।

तस्वीरको मुख्य काम नै म आफ्नो निम्ति ठान्दछु । आफ्नो तस्वीरलाई राख्न बडप्पन र उत्ताउलोपन सम्झनु आफूलाई हत्या गर्नु हो, आफूलाई आफैले केही पनि नसम्झनु हो । आफूलाई केही पनि मूल्यवान नसम्झीकन बिनासित्ति कीरा सम्झनु आत्म–गौरवके हनन गरेर मानवताको मापदण्डलाई गिराउनु मात्र हो । आफूलाई केही पनि नसम्झिने मानिस वास्तवमा केही हुन पनि सक्दैन । आफूलाई केही पनि नसम्झनुलाई यदि कसैले नम्रता सम्झन्छन् भने म उनलाई भूल बाटोमा हिँडिरहेको सम्झन्छु । नम्रता त म यहीं सम्झन्छु कि कसैलाई पनि सानो ठान्नु हुँदैन ।

कुनै पनि कुरा, कला र योग्यतालाई प्रकाश नगरीकन छोपिराख्नु उनको महत्व र उपयोगिताको हत्या गर्नु हो । कुनै कलाकार र कलाप्रेमीले आफ्नो कलाकृति बडप्पन र उत्ताउलोपन सम्झनु कलामात्रकै अपहत्या गर्नु हो । यसैले म आफ्नो तस्वीरलाई आफ्नो कोठामा राखेर कलाको कदर गर्न चाहन्छु, सृष्टिको सराहना गर्न चाहन्छु ।

सृष्टिमा म पनि एउटा प्रशंसनीय सौन्दर्य हुँ । विश्व–सृष्टिमा म कुनै धुलो, कसिङ्गर र फुहड होइन, एउटा जबर्जस्त सौन्दर्य हुँ । मलाई सबभन्दा मै मन पर्छ, मै प्यारो र मै सुन्दर लाग्छ । मा बाहिर स्वयं सौन्दर्यपुञ्ज भई सृष्टिमा शोभा बढाएर हिँड्नका साथसाथै तस्वीर भई बसेर आफ्नो कोठामा पनि सौन्दर्यका छटा छरिरहन चाहन्छु । प्रत्यक्ष म जिउँदो खडा नभएको बेला पनि तस्वीर भई बिम्बरुपमा भए पनि आफूकहाँ आएका सज्जनहरुलाई स्वागत र प्यार गरिरहन चाहन्छु । आफ्नो प्रियसीको प्यार थपिरहन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्