Logo

प्रम देउवाद्वारा स्व गौचनप्रति अन्तिम श्रद्धाञ्जली



Spread the love


काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गर्नुभएको थियो ।

स्व गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासङ्घको कार्यालय पुग्नुभएको थियो । स्व गौचनको शव १० देखि १ बजेसम्म महासङ्घको कार्यालय अनामनगर राखिएको थियो ।

अध्यक्ष गौचनको सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट निधन भएको थियो । गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहीद घोषणा गर्नुपर्ने र निर्माण व्यवसायीलाई सुरक्षा दिनुपर्ने लगायतका माग राखी गौचनको शव महासङ्घ र परिवारले यसअघि बुझ्न मानेका थिएनन् ।

बुधबार गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहीद घोषणा गर्ने र व्यवसायीको सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिनुभएपछि आज गौचनको शवलाई अन्त्येष्टि गर्न लागिएको हो । अहिले अध्यक्ष गौचनको शवयात्रा निकालिएको छ । महासङ्घका एशोसिएट सदस्य शिवहरि घिमिरेका अनुसार अनामनगरबाट पुतलीसडक, दरबारमार्ग, लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म शवयात्रा गरिनेछ । गौचनको शवलाई बालाजुस्थित थकाली सेवा समाजको कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र उहाँको आजै थकाली परम्पराअनुुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।(रासस)

Print

प्रतिक्रिया दिनुहोस्