Logo

कोरोना भाइरसको प्रभाब: प्रदेश २ का अधिकांश सीमानाका बन्द



Spread the love

९ चैत, जनकपुरधाम । कोरोनाको संक्रमणलाई फैलन नदिन प्रदेश २ का प्राय: सबै सीमानाकाहरु बन्द गरिएको छ । आइतबार बिहानैदेखि केहीलाई मात्र खुल्ला राख्दै अधिकांश सीमा नाकाहरु बन्द गरिएको हो ।

सर्लाहीमा सदरमुकाम मलंगवा नजिकैको सोनवर्षा र बलरा नाका मात्रै खुल्ला राखी बाँकी सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए । सप्तरीमा कुनौली भन्सारबाहेकका सबै सीमानाका आइतबारदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । सिरहामा माडर र ठाडीबाहेक सबै सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार धनुषामा खजुरी र जटहीबाहेकका सबै सीमानाका बन्द गर्दा महोत्तरीमा भिठामोडबाहेकका नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै, रौतहटमा गौर भन्सार नाकाबाहेक सबै नाका बन्द गरिएको सशस्त्र प्रहरी उपरीक्षक रबीनराज कर्णजीतले जानकारी दिए । बाराका ५ वटा बाहेक सबै सीमा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए भने पर्सामा पनि रक्सौलबाहेकका सबै सीमानाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उच्च सतर्कता अपनाउन सबै जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्