Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४३५
संक्रमित
२२९,३४३
निको भएका
२०९,४३५

बास्केटबल रोज्नु मेरो जीवनको सर्वोत्कृष्ट निर्णय



फुटबल र बास्केटबलमा धेरै फरक छ । एउटा हातले खेलिन्छ भने अर्को खुट्टाले । बास्केटबल अचम्मैकै खेल छ । तपाई एक पटक कोर्टमा पुगेर एक छिन मात्र टिकेर हेर्नु भयो भने अर्को पटक देखि नियमित दर्शक बन्नेमा कुनै दुई मत छैन । त्यसको तीव्रताले आउने रोमाञ्चकताले मानिसहरूलाई दङ्ग पारिदिन्छ। सेकेन्ड सेकेन्डमा जुरुक्क पारिदिन्छ ।

मेरो नाम मनिस राज राजोपाध्याय । तर, मलाई धेरैले मनिस सोलो भनेर चिन्ने गर्छन्। मेरो कुल घर भक्तपुर । अहिले चैँ नक्खीपोटमा बस्छु। मेरो बाल्यकाल मामाघरको रमाइलो माहोलमा बित्यो । म चाहिँ सानोमा फुटबल खेल्नमा रुचि राख्दथे । तर, पछि गएर बास्केटबलर भए । फुटबल छाडेर बास्केटबलमा कसरी होमिए भन्ने त म बताउने नै छु ।

नेपालमा स्कुल र कलेजमा बास्केटबल राम्रै चले पनि त्यसबाहिर धेरै फैलिन भने सकेको छैन । मैले राष्ट्रिय टिममा खेल्न थालेको यो ८/९ वर्षमा केही परिवर्तन आएका छन् । तर , त्यसले राष्ट्रिय खेलाडीलाई राष्ट्रिय टिममा नै टिकाई राख्न भने सकेको छैन । आँखै अगाडी कति राम्रा खेलाडीहरु विदेशिएको पनि देखेको छु। यस्तो निराशाबिच पनि मैले आत्म विश्वास भने गुम्न दिएको छैन । निरन्तर लागिरहेको छु । त्यसैले केही परिवर्तनहरु पनि भेटेको छु ।

मलाई स्वयम् त्यस्तो निराशा नआए पनि धेरै खेलाडीहरुमा त्यस्तो निराश देखेको छु। मलाई परिवारको सहयोग र मेरो आत्मविश्वासले नै अरू केही कुरा न सोची बास्केटमा लागिरहन मदत मिलेको छ। होइन भने खेलेर मात्र बाच्न गाह्रो नै छ । अहिले स्कुल कलेजमा विकास भएको बास्केटबलले जागिर पाउन अप्ठ्यारो भने छैन । म आफै पनि साना खेलाडीहरुलाई बास्केटबल सिकाउने काम गरिरहेको छु । बास्केटबलबाट केही हुँदैन कि भन्ने निराशा पनि ममा धेरै टिक्दैन । म आफैले आफ्नो आत्मबल बढाएर आगाडी बढ्छु ।

खासमा भन्नु पर्दा म सानोमा फुटबल खेल्न सोखिन मान्छे । तर , घरमा बास्केटबलको क्रेज ज्यादा भएकोले बिस्तारै बिस्तारै म पनि बास्केटबल तर्फ नै होमिए । मेरो मामा पनि बास्केटबल खेल्नु हुन्थ्यो उहाँ सँगसँगै बास्केटबल खेल्दै जाँदा बिस्तारै बिस्तारै यसैमा रमाइलो लाग्न थाल्यो । हाम्रो पालामा नेपाल बास्केटबल सङ्घले ट्यालेन्ट हन्ट आयोजना गर्दथ्यो । जसको म चाहिँ दोस्रो ब्याज थिए । त्यहाँ त्यतिकै अवसर भने पाइँदैन थियो । जसले राम्रो खेल्छ उसैले अवसर पाउने गर्थ्यो । मेरो बास्केटबलको यात्रा पनि त्यहीबाट सुरु भयो । मलाई विद्यालय स्तरीय हुँदै राष्ट्रिय टिममा स्थान बनाउन खासै गाह्रो भएन । मान्छेमा इच्छा शक्ति चाहिन्छ असम्भव भन्ने कुरा हुँदैन । बास्केटबलले सबै दियो । पहिला मलाई कसैले चिन्दैन थिए । अहिले धेरैले चिन्नेका छन् यो चाहिँ मलाई बास्केटबलले दिएको देन हो ।

सानोमा बास्केटबल रहरले खेल्दथे । अहिले देशका लागि खेलिरहेको छु । जब राष्ट्रिय झन्डा अङ्कित जर्सी लगाएर मैदान उत्रिन्छु र नेपालको राष्ट्रिय गान गाउँछु छुट्टै आनन्दको अनुभूति हुन्छ । राष्ट्रिय टोलीबाट खेलेदेखि अहिलेसम्म थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले अवसर पाए । तर , अन्तर्राष्ट्रिय स्तरमा भने हामी निक्कै पछाडि छौँ। ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सकिएन तर थुप्रै तिता मिठा अनुभवहरू बने बटुलेको छ ।

जब बास्केटबलमा रुचि जाग्न थाल्यो तब देशको लागि खेल्नु पर्छ भन्ने भोग जाग्न थाल्यो त्यसैबीच २०११ मा भारतमा अन्डर १८ च्याम्पियनसिप खेल्न गयौँ। त्यसै क्रममा भएको रमाइलो कुरा सुनाउँछु , म भन्दा धेरै हाइट भएको प्लेयरले एकदम राम्रो खेलेको देख्दा म त अचम्म नै परे । तर, पनि त्यहाँको खेलको स्तर नै बेग्लै छ । त्यही क्रममा म आफैदेखि लज्जित भएको थिए । म के खेलिरहेको छु भन्ने भान भएको थियो । त्यसपछि बास्केटबल खेल्न थप ऊर्जा मिल्यो । होइन भने त बास्केटबल खेलेर केही हुन्न , यसमा कुनै भविष्य छैन भन्ने लागेको थियो मलाई । त्यसै बिचमा १/ २ वर्ष त म बास्केटबलबाट नै टाढिए पनि ।

मैले जुनियर टिममा चाहिँ २०११ मा स्थान बनाए भने २०१३ मा नै सिनियर टोलीमा स्थान बनाउन सफल भए । तर, खासै अवसर भने पाइन । थोरै समयको अन्तरालमा नै सिनियर टिममा डेब्यु गरे । बास्केटबल करियरमा मैले छोटो समयमै केही थोर बहुत उपाधिहरु हात पारे । त्यसै क्रममा लगातार २०७४ र २०७५ मा बास्केट बल player of the year को अवार्डबाट सम्मानित भए। त्यो मेरो जीवनकै सम्झन लायक क्षण रह्यो ।

सानैमा आमाबाबु गुमाउनु परेको पिडा बिर्साउन मलाई बास्केटबलले नै मदत गर्‍यो । बिस्तार बिस्तारै समालिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउनको लागि सक्दो मिहिनेत गरे ।

थाहा छ ! महेन्द्र राजाको पालामा मेरो हजुरबुवा पनि फुटबल खेल्नु हुन्थ्यो रे । उहाँले राम्रो प्रदर्शन गर्दा टिम महेन्द्रबाट मेडल पनि पाउनु भएको छ नि । उहाँ मेरो आइडल नै हुनुहुन्छ । सधैँ मलाई बास्केटबल खेल्न हौस्याउनु हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा भने म कोबी ब्रायांटलाई आइडल मान्छु। तब त अझै राष्ट्रिय टिमबाट खेल्ने रहर मेटिएकै छैन । तर समय समयमा बास्केटबल सङ्घले लिगहरु नगर्दा हामी खेलाडीहरु भने मर्कामा पर्ने गर्छौ। गत वर्ष भने म गोल्डेनगेट कलेजमा जोडिएको थिए । तर, अहिले भने कुनै क्लबहरुमा आबद्ध छैन ।

तपाईहरुलाई म आफ्नो करियरको नमिठो अनुभूति पनि बताउँछु । मैले उत्कृष्ट प्रदर्शन गर्नुका बाबजुद पनि म २०१२ मा राष्ट्रिय टोलीको छनोटमा नै पर्न सकिन । के कारणले परिन त्यो भने थाहा पाइन । त्यसै क्रममा मेरो बाइक एक्सिडेन्ट भएर हात फ्याक्चर भयो । बल्लतल्ल रिकोभर भएर खेलमा पुनरागमन गर्दा समर्थकबाट उचित व्यवहार भने पाइन।

विगतमा भन्दा बास्केबलको गतिविधि कम भएको र नयाँ खेलाडी आउने अवसर पनि कम हुँदै गएको म आफैले पनि महसुस गरेको छु । नेपाल बास्केबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा डेढ वर्षयता देखि अस्वस्थ रहेका कारण पनि त्यसको प्रत्यक्ष्य असर बास्केबलको संरचनामा परेको छ । ‘अरुले पनि कोसिस गर्नुभएको छ । तर पनि यति बेला बास्केबल अविभावक विहिन जस्तो भएको छ।’ , ‘ टेन्डी सर हुँदा गतिविधि, प्रतियोगिता जसरी हुन्थ्यो । अहिले त्यसमा कमी आएको छ । समग्र बास्केटबलमा नै उहाँको अनुपस्थितिले असर गरेको छ ।’

आफूलाई बास्केटबलबाट कहिल्यै टाढा राख्न सकिन त्यसैले अझै केही गरौँ भन्ने लाग्छ । देशको लागि केही गरौँ भन्ने जोस जाग्दो रहेछ । तर, अन्य खेलले जस्तो बास्केटबलेले स्थान लिन सकेको छैन । स्कुल र कलेज लेभलमा बास्केटबलको लोकप्रियता भए पनि राष्ट्रिय स्तरमा चार्म छैन । जसले गर्दा क्रिकेट, फुटबल र भलिबलको जस्तो क्रेज हुँदा हुँदै पनि छायामा परेको जस्तो लाग्छ बास्केटबल ।
प्रस्तुति – भावना पण्डित

प्रतिक्रिया दिनुहोस्