Logo

विश्वकप लिग-२: नेपालको दुई अवे सिरिज स्थगित



Spread the love

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत खेल्ने दुई अवे सिरिज स्थगित भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । कोरोना भाइरसका कारण आईसीसीले जुन ३० भन्दा अगाडी हुने सम्पूर्ण प्रतियोगिता स्थगित गरेसँगै नेपालको तालिकामा रहेको दुई सिरिज सरेको हो ।

कोरोनाका कारण आईसीसीको मुख्यालय समेत बन्द भएको छ । नेपालले खेल्ने सातौं चरणको सिरिज अप्रिल २० देखि २७ तारिखसम्म नामिबि हुने तय थियो । जसमा नेपाल, नामिबिया र स्कटल्याण्ड खेल्ने थिए । त्यस्तै जुन दोस्रो सातामा पपुवा न्यु गिनीमा संयुक्त अरब इमिरेट्स (यूएई) सहित हुने त्रिकोणात्मक सिरिज पनि सरेको छ । अब यी खेलको अर्को मिति आईसीसीले पछि निर्धारण गर्नेछ ।

आईसीसीले जुलाईमा स्कटल्यान्डमा हुने नेपाल र नामिबिया सम्मिलित सिरिजको लागि भने हाल सम्बन्धित पक्षसँग छलफलमा रहेको जनाएको छ ।

आईसीसीले खेलाडी, अफिसियल स्टाफको सुरक्षा र स्वास्थ्य मुख्य प्राथमिकतामा रहेको भन्दै यस्तो निर्णय लिएको जनाएको छ । आईसीसीले अन्य सिरिजहरुको समेत मनिटरिङ गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्