Logo

विज्ञानका पिता महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको प्रेरणादायी कथा



Spread the love

मानव विकासको इतिहासमा नजाने कैयौं असफलताहरू भए होलान् । लिखित इतिहासको परम्परा सुरु हुनु भन्दा पनि कैयौं अघिदेखि मान्छेहरू आफ्ना विराट सफलता चुम्नका लागि असफलताको काँडाले कतिपल्ट बिझाइरहे । किनकि मानव जातिको उत्पत्ति केवल बाँच्नका लागि मात्रै नभएर, संसारमा आफ्नो अस्तित्व निर्माण र शासनका लागि पनि थियो । त्यसैले त ऊ सङ्घर्ष गर्न कहिल्यै पछि हटेन । चाहे जस्तोसुकै परिस्थितिबाट ऊ किन नगुज्रियोस् !

तर, के तपाई आफुले भोगेका केही असफलता कै कारण चिन्तित हुनुहुन्छ ? जिन्दगीमा म अब केही पनि गर्न सक्दिन, मेरो जिन्दगी बर्बाद भयो, जस्ता अनेक सोचले आक्रान्त हुनुहुन्छ ? स्वाभाविक हो, यस्तो महसुस जिन्दगीको यात्रामा जो-कोहीलाई पनि एक-न-एकपल्ट त हुन्छ नै । यो बस् एउटा अनुभुति हो, वास्तविकतामा यसको कुनै प्रभाव हुँदैन ।

बस् तपाई यसबाट मुक्त हुने साहस लिनुस् । त्यो साहसमा ढाढस दिन तपाईका लागि हजारौं-लाखौं प्रेरणाहरू तयार भएर बसेका छन् ।

आज हामीले त्यस्तै एउटा ढाढस लिएर आएका छौं । तपाई कै लागि । सल्लेरी खबरको एउटा सानो प्रयास- सल्लेरी प्रेरणा मार्फत । यसमा हामी असफलता चिरेर सफलता चुम्ने महान हस्तीहरूका कथा ल्याउनेछौं । ताकि एउटा सानो असफलता कै कारण तपाईमा रहेको असीमित सामर्थ्य र सम्भावना त्यसै खेर नजाओस् ।

सुन्नुस् है त !

यो कथा हो- सापेक्षतावादको सिद्धान्तका प्रतिपादक, विज्ञानका पिता ‘अल्बर्ट आइन्सटाइन’ को । आइन्सटाइन केवल एक वैज्ञानिक मात्र नभएर, एक महान् प्रेरक पनि हुन् । जसले मेहेनत, लगनशीलता र सपना भयो भने जस्तोसुकै आममानिस पनि संसारलाई चकित पार्दिन सक्छ भन्ने प्रमाणित गरे ।

सन् १८७९ मा जन्मिएका आइन्सटाइन अहिलेसम्म कै सबैभन्दा अभुतपूर्ण दिमाग भएका व्यक्ति भनेर चिनिन्छन् । जसलाई कुनैबेला एकदमै मूर्ख भनेर बोलाइन्थ्यो ।

अचम्मको कुरा के भने, आइन्सटाइन ४ वर्षको हुँदा समेत बोल्न सकेका थिएनन् । उनका आमाबुवाले त आसै मारिसकेका थिए- छोरो बोल्न सक्ला र भनेर !

त्यति मात्र कहाँ हो र ! सन् १८९५ मा उनी १६ वर्षको हुँदा ‘स्वीस फेडेरल पोलिटेक्निक स्कुल’को प्रवेश परिक्षामा फेल भएका थिए । त्यस्तै, विश्वविद्यालयको पढाइका क्रममा उनको नतिजा एकदमै दयनीय हालतको थियो । उनको कहिल्यै राम्रो अंक आएन । लद्दु विद्यार्थीको रुपमा उनी कुख्यात थिए ।

कति सम्म भयो भने, उनका बुवाले मृत्युको अन्तिम समयमा हुँदा समेत उनलाई ‘मूर्ख, केही दिमाग नभएको पागल’ भनेर सुनाइरहन्थे । जसले गर्दा आइन्सटाइनको मन निकै कुँडिन्थ्यो ।

विश्वविद्यालयबाट ग्र्याजुयट भइसकेपछि उनी साह्रै दोधारमा थिए । के गर्ने ? कता जाने ? उनलाई केही थाहा थिएन । जिन्दगी एकदम अनिश्चित बन्दै थियो ।

यस्तैमा उनले बीमा कम्पनीमा जागिर खाए । सेल्सम्यानको रुपमा । उनी प्रत्येक दिन घरघरमा गएर बीमा बनाउँदै हिड्थे । त्यसको करिब २ वर्ष पछि प्याटेन्ट अफिसमा निरिक्षकको जागिर खान थाले ।

यिनै आइन्सटाइन पछि गएर वैज्ञानिक बने । ‘सापेक्षताबादको सिद्धान्त’ प्रतिपादन गरे । ‘क्वान्टम सिद्धान्त’को जग बसाले । ब्रमाण्डको प्रक्रियाबारे सरल रुपमा बुझाए । सन् १९२१ मा भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार जित्न सफल भए । अहिले उनी संसारभर ‘विज्ञानका पिता’ भनेर चिनिन्छन् ।

त्यसैले, असफलता या अस्वीकार हरकोहीको जिन्दगीमा आउँछन् नै । हरकोहीका महान सपनालाई सबैले अपत्यारलाग्दो मान्न सक्छन् नै । बस् फरक यत्ति हो कि- कोही यसको सामना गर्दै यात्रालाई थप मजबुत बनाउन थाल्छन् त कोहि भने थकाइ मार्छन् र बिचमै यात्रा टुङ्ग्याउँछन् ।

साहस गर्नुस्, तपाईभित्र असीमित क्षमता छ, त्यसको पहिचान गर्नुस् र मर्न दिनुको साटो मलजल गर्नुस् । एकदिन तपाईको सफलता देखेर तपाई आफै छक्क पर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्