Logo

फेसबुकका जन्मदाता मार्क जुकरबर्गको प्रेरणादायी कथा



Spread the love

मानव विकासको इतिहासमा नजाने कैयौं असफलताहरू भए होलान् । लिखित इतिहासको परम्परा सुरु हुनु भन्दा पनि कैयौं अघिदेखि मान्छेहरू आफ्ना विराट सफलता चुम्नका लागि असफलताको काँडाले कतिपल्ट बिझाइरहे । किनकि मानव जातिको उत्पत्ति केवल बाँच्नका लागि मात्रै नभएर, संसारमा आफ्नो अस्तित्व निर्माण र शासनका लागि पनि थियो । त्यसैले त ऊ सङ्घर्ष गर्न कहिल्यै पछि हटेन । चाहे जस्तोसुकै परिस्थितिबाट ऊ किन नगुज्रियोस् !

तर, के तपाई आफुले भोगेका केही असफलता कै कारण चिन्तित हुनुहुन्छ ? जिन्दगीमा म अब केही पनि गर्न सक्दिन, मेरो जिन्दगी बर्बाद भयो, जस्ता अनेक सोचले आक्रान्त हुनुहुन्छ ? स्वाभाविक हो, यस्तो महसुस जिन्दगीको यात्रामा जो-कोहीलाई पनि एक-न-एकपल्ट त हुन्छ नै । यो बस् एउटा अनुभुति हो, वास्तविकतामा यसको कुनै प्रभाव हुँदैन ।

बस् तपाई यसबाट मुक्त हुने साहस लिनुस् । त्यो साहसमा ढाढस दिन तपाईका लागि हजारौं-लाखौं प्रेरणाहरू तयार भएर बसेका छन् ।

आज हामीले त्यस्तै एउटा ढाढस लिएर आएका छौं । तपाई कै लागि । सल्लेरी खबरको एउटा सानो प्रयास- सल्लेरी प्रेरणा मार्फत । यसमा हामी असफलता चिरेर सफलता चुम्ने महान हस्तीहरूका कथा ल्याउनेछौं । ताकि एउटा सानो असफलता कै कारण तपाईमा रहेको असीमित सामर्थ्य र सम्भावना त्यसै खेर नजाओस् ।

सुन्नुस् है त !

यो कथा हो- विश्वप्रसिद्ध सोसल मिडिया ‘फेसबुक’का जन्मदाता ‘मार्क जुकरबर्ग’ को । जुकरबर्ग केवल एक आविष्कारक मात्र नभएर, एक महान् प्रेरक पनि हुन् । जसले मेहेनत, लगनशीलता र सपना भयो भने जस्तोसुकै आममानिस पनि संसारलाई चकित पार्दिन सक्छ भन्ने प्रमाणित गरे । बस् ! तपाई आफ्नो सपना चुम्न यति लालायित हुनुस् कि- नाथे असफलताले तपाईलाई एक डेग पनि चलाउन नसकोस् ।

फेसबुकको संस्थापक । अहिलेको समयमा योभन्दा ठुलो परिचय के पो हुन सक्ला र ! फेसबुक मार्फत् जुकरबर्ग अहिले संसारैभरका कुनाकाप्चामा छरिएका छन् । सुप्रसिद्ध छन् । धनी छन् । शक्तिशाली छन् । चर्चित छन् ।

तर, यो सब उनले छोटो समयमा कमाएको परिचय हो । फेसबुकको सुरुवात गरेको केही समयमा नै उनीमाथि अदालतमा एउटा केस फाइल दर्ता भएको थियो । त्यो केस पछि १.२ मिलियन फेसबुक शेयर मार्फत् सल्टाइएको थियो ।

फेसबुक सुरुवात गर्नुभन्दा पहिले उनले ‘फेसम्यास’ सफ्टवेयर बनाएका थिए । यसले विद्यार्थीहरूबाट महिला र पुरुष छुट्याउथ्यो । तर, पछि विद्यार्थीहरूले आफ्नो फोटो बिना अनुमति प्रयोग गरिएको भनेर झुटो आरोप लाइदिए ।

परिणामतः उनी पढिरहेको हार्वर्ड विश्वविद्यालयले उनलाई माफी माग्न लगाउँदै उक्त सफ्टवेयर बन्द गराइदियो । साथै, यसलाई ‘पूर्ण रुपले अनावश्यक सफ्टवेयर’ को संज्ञा पनि दिइयो ।

तर, उनको फेसबुक आविष्कार अहिले सर्बत्र चर्चित छ । जुन उनको पहिलेका असफलताको नतिजा थियो । यदि उनी असफल हुदैनथे भने सायद फेसबुकको जन्म नै हुँदैनथ्यो कि !

अहिले फेसबुक कै कारण उनी संसार कै सबैभन्दा धनाढ्य व्यक्तिहरूको सुचिमा पर्छन् । उनले सोचेभन्दा पनि निकै सम्पन्न छन् उनी ।

त्यसैले, असफलता या अस्वीकार हरकोहीको जिन्दगीमा आउँछन् नै । हरकोहीका महान सपनालाई सबैले अपत्यारलाग्दो मान्न सक्छन् नै । बस् फरक यत्ति हो कि- कोही यसको सामना गर्दै यात्रालाई थप मजबुत बनाउन थाल्छन् त कोहि भने थकाइ मार्छन् र बिचमै यात्रा टुङ्ग्याउँछन् ।

साहस गर्नुस्, तपाईभित्र असीमित क्षमता छ, त्यसको पहिचान गर्नुस् र मर्न दिनुको साटो मलजल गर्नुस् । एकदिन तपाईको सफलता देखेर तपाई आफै छक्क पर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्