Logo

कार्ल मार्क्स फिर्ता लैजाउ तिम्रो घोषणा पत्र



Spread the love

प्रिय कार्ल मार्क्स तिमीले लेखेको
कम्युनिस्ट पार्टी घोषणा पत्र वल्टाइ पल्टाइ हेर्छु
कति दुख्खले लेख्यौ होला
मेरो हजुरबुबाले निगालाको कलमले
नेपाली कागजमा जेठो नातिको चिना लेखेजस्तै
तिमीले कलम वा टाइप राइटरले लेखेका हौला
दुबैलाई सँगै राखेर हेर्छु
दुबै भविष्यको मार्गजस्तै लाग्छ
न तिमीले लेखेको उद्देश्य पुरा भएको देख्छु
न हजुरबाले लेखेको चिना
चिना र घोषणा पत्र
उस्तै हैन उस्तै–उस्तै देख्छु ।

कहिले डराउँदै सोच्छु
कतै ह्विस्कीको नशामा लट्ठिएर लेखेको हो की
कनिकुथी पढ्छु तर कतै नशामा लेखिएको जस्तो लाग्दैन ।
शंका गरेकोमा स्वर्गको बाटो बन्द होलाजस्ताे लाग्छ
जवानीमा आएको जोसले लेखायो होला भनुँ भने
जवानी जस्तै सकिएर जानु पर्ने होला
तर कालझै छ तिम्रो घोषणा पत्र ।

मेरो थोरै गिदी भएको टाउकाले बुझेन होला जस्तो लाग्छ
तिम्रो संसार हल्लाउने घोषणा पत्र
अनि म,
तिम्रै घोषणा पत्रले देखाएको लक्ष्य भेटाउन हिडेका हाैँ भन्नेहरू
जसको हातबाट बारुदको गन्ध आउँछ तिनलाई
सोध्ने गर्छु
कम्युनिष्टकाे मेनिफेस्टो अर्थ के हो ?
मेरो प्रश्नले अकमकाउँछन्
कन्दै भन्छन
यो सर्वहाराहरुको लागि हो
म प्रतिप्रश्न गर्न सक्दिन ।

अन्धभक्तहरुले तिम्रो अपमान गरेको आरोप लगाउने डर छ मलाई
शिशु कक्षामा पढ्ने मेरो छोरीले कखरा पढे जस्तै गरी पढ्न खोज्छु
हो कि जस्तो लाग्छ सर्वहाराको लागि
तर देख्छु ,
घोषणापत्रको मर्ममा पछ्याउन खोज्नेहरु निरास देखिन्छन
घोषणापत्रको पसल थाप्नेहरु मालामाल भइसके
तिम्रो सच्चा लक्षित वर्गको खुट्टामा चप्पल हैन केवल माटो छ ।
तिम्रो मार्गलाई नयाँ बनाउनेको खुट्टाको माटोले छेक्दैन
तिम्रै देशको बिएमडब्ल्यूले छेक्छ ।
तिम्रो द्वन्द्धात्मक भौतिकवादको
राजनैतिक रंगमञ्चमा भद्दा मजाक बनाइन्छ,
अनुकूलताको अर्थ लगाइन्छ
तिम्रै भाषाको ‘दलाल पुँजी’ को कमिसनले
अन्धो बनाएको छ तिम्रा हिमायती हौं भन्नेहरुलाई
जो देख्दैनन, हेर्छन् मात्रै
तिम्रो दास क्यापिटल अझपछि नाइल नदीमा पानीभन्दा यहाँ व्हिस्की धेरै बगिसक्यो ।

कार्ल मार्क्स फिर्ता लैजाउ तिम्रो घोषणपत्र
किनकी
कसैले सिरानी राखेर नै च्यातियो
कसैले झोला राखेर फाट्यो
कसैले त्यसलाई विक्री गर्दै हिडे
न सर्बहारा जनताको सत्ता आउला जस्तो छ
न दलाल पुँजीको नष्ट होला जस्तो छ
बरु तिमीले बहुत मेहनतले लेखेको घोषणा पत्र
आजभोलि सामन्तले दिएको कमिसनले छापिन्छ ।
जनताका सपना खरिद गर्छ
पुरा कहिल्यै गर्दैन ।


त्यसैले तिमीले दुखले लेखेको घोषण पत्र फिर्ता लौजाउ
नत्र तिम्रा हिमायती हौँ भन्नेहरूले लिलाम बिक्री गर्ने छन्
डियर कार्ल मार्क्स, तिम्रो घोषणापत्र बाटोमा अलपत्र फालिएको छ
फिर्ता लौजाउ तिम्रो घोषणा पत्र
तिमीप्रतिको मेरो श्रद्धा रहिरहने छ
तर तिम्रो हिमायती हौँ भन्नेहरूले तिमीप्रतिको श्रद्धा घटाइ रहनेछन्
दलाल, पुँजीवादीहरु तिम्रो गुणगान गाउन थालेको छन
यसले तिम्रो सम्मान भन्दा अपमान भएको महसुस गर्छु
त्यसैले फिर्ता लैजाउ तिम्रो घोषणा पत्र ।

कोहलपुर नगर कार्यपालिकाका शाखा अधिकृत एवम् लेखक न्यौपाने सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्