Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३८२,४८४
संक्रमित
६,४५२,७०३
निको भएका
३,०६७,६८१
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
२३००
निको भएका
२७८

सम्झनामा सिमिकाेट-हिल्सा यात्रा



२०६० साल जेठको महिना, आजभन्दा सत्र वर्ष अघिको समय ।

पर्या–पर्यटन आयोजना अन्तर्गतको सिमिकोट विमानस्थलको स्तरोन्नति र सिमोकोट–हिल्सा पदमार्गको वातावरणीय अध्ययनको सिलसिलामा मेरो हुम्ला यात्रा तय भयो ।

अध्ययनपश्चात् २०५९ सालमा चीनबाट नेपाल फर्केपछि कामको सिलसिलामा यो मेरो पहिलो स्थलगत अध्ययनको यात्रा थियो । हुम्ला नेपालको सबभन्दा विकट जिल्लामध्येको एक जिल्ला हो । काम शुरु गर्दाका शुरुवाती चरणमा नै कठिन चुनौतीहरुसँग साक्षात्कार गर्दा धेरै कुरा सिक्न पाइन्छ र त्यस अनुभवले पछिल्ला दिनलाई अझ सहज बनाउँनेछ भन्ने मेरो मान्यता थियो । दुर्गम कर्णालीको विकट भूगोल र जनजीवनका बारेमा धेरै सुनेको, पढेको भए पनि प्रत्यक्ष अनुभव गर्न पाएको थिईन । यस अर्थमा यो यात्रा मेरा लागि महत्वपूर्ण अवसर थियो । यो अवसर छोप्न पाइने लोभमा मेरा लागि कामको पारिश्रमिक र सेवासुविधा गौण विषय बने ।

काठमाडौंबाट रात्री बस चढेर नेपालगञ्ज पुगियो । नेपालगञ्जबाट प्लेन चढेर हुम्ला सिमिकोट जानुपर्ने, तर यात्रा तालिका अनुसारको प्लेन टिकट पाउन सकिएन । केही दिन नेपालगञ्जको उधुम गर्मीको खाएपछि मात्र सिमिकोटतिर उड्न सकियो । प्लेन नेपालगञ्जबाट बिस्तारै उत्तरतिर उकालो लाग्न थाल्यो । छिटै मैदानी भागलाई काटेर स–साना पहाड छिचोल्दै, कर्णाली किनारलाई पछ्याउँदै, अनि नांगा अग्ला पहाडहरुलाई नाघ्दै सिमिकोट प्रवेश र्गयो । समुद्री सतहबाट लगभग ३,००० मि. को उचाईमा भएको सिमिकोटमा जाडो सकिएको रहेनछ । त्यहाँको चिसो बतासले स्वागत र्गयो । नेपाल पर्यटन बोर्डको पोष्टरमा देखिने सिमिकोट भन्दा अझ सुन्दर ठाउँमा पुगेको अनुभूत भयो । सिमिकोटको दक्षिण(पश्चिमी कुनातिर हिमाल टल्किरहेका थिए । बजारको बिचतिर विमानस्थल थियो । प्लेन आउने बाहेक अरु समयमा मानिस विमानस्थलको कच्ची धावनमार्ग भएरै ओहोरदोहोर चलिराखेको हुन्थ्यो । गाइवस्तु, खच्चरहरु चरिराखेका थिए, वरपर तारबार थिएन ।

(सिमिकाेट, २०६४ साल)

केही दिन सिमिकोट बसियो । हरेक सामानका भाउहरु काठमाडौं भन्दा धेरै गुना महँगा थिए । वातावरण भने निकै स्वच्छ । बजारको पश्चिमी पाखोमा रानीवनको हरियाली पोतिएको थियो, उत्तरतिर अग्लिएको पहाड र पूर्वतिर तरेली पर्दै गएका थुप्रै पहाडहरु । पर परका पहाडहरु बादलमा हराएका थिए । बजारको अलिक दक्षिणतिर पश्चिमबाट बग्दै आएको हुम्ला कर्णालीको खोंच थियो, जुन खोंचबाट हुम्ला कर्णाली दक्षिण–पूर्वी दिशातर्फ लाग्थ्यो ।

कर्णालीको गरिबी, अभाव, भोकमरीको कथा सुनिरहेकाहरुका लागि सिमिकोट बजारले केही समय भने सजिलै ढाँट्न सक्थ्यो । बजारक्षेत्रभित्र सुकिला मानिसहरुकै चहपहल बढी थियो । विभिन्न जागिरका सिलसिलामा बाहिरी जिल्लाबाट आएका मानिसहरु सराबरी थिए । यस बसाइँका क्रममा पत्रकार र लेखक मोहन मैनालीसँग पनि भेट भयो ।

एक दिन बिहानको खाना खाइवरि हाम्रो यात्रा सिमिकोटबाट हिल्सातिर शुरु भयो । मेरो यस यात्रामा काठमाडौंबाट साथै जानुभएका रामकृष्ण श्रेष्ठ दाइ पनि हुनुहुन्थ्यो । हुम्लाकै अर्का एक सहयोगी खोजियो यात्राभरका लागि, उनी सिमिकोट नजिकैको वरगाउँ, बुराउँसेका थिए, जुन केही समय अगाडिसम्म पनि बहुपतिप्रथाका लागि चिनिएको गाउँ हो । मैले ऊनलाई यस बारेमा सोध्दा अहिलेको पुस्तामा यो चलन हटिसकेको कुरा बताए ।

यस मार्गमा कुनै स्थापित होटलहरु भेटिने अवस्था थिएन । हुम्लामा लामो समयसम्म अध्यापन गरिराखेका एक शिक्षक र त्यहाँका केही परिचित मित्रले यात्रामा बास बस्ने गाउँ र त्यहाँ बस्नका लागि चाँजोपाँजो मिलाइदिने व्यक्ति वा घरका बारेमा बताइदिएका थिए । यसले यात्राका क्रममा बासका लागि सामना गर्नु पर्ने अनिश्चितता वास(समस्याहरुलाई निकै हदसम्म दूर गराईदिएको थियो ।
सिमिकोट बजारबाट उत्तर पश्चिमतिर लगभग आधा घण्टा उकालो लागेपछि बाटो ओरालो झर्थ्यो । यो लगभग डेढ घण्टा हिंडाईको ठाडो ओरालो थियो । त्यसपछि बाटो पश्चिमतिर लाग्थ्यो, जताबाट हुम्ला कर्णाली बग्दै आएको थियो । हामी पुग्नु पर्ने गन्तव्य सुदूर पश्चिमको क्षितिजमा कैयौं पहाडहरुका पछाडि बिलाएको थियो । जुन गन्तव्यलाई हामी केही दिनसम्म निरन्तर पछ्याउने वाला थियौं ।

बाटोमा स–साना खोल्सीहरु, काठको फड्के भेटिन्थे । कुनै खोलाका छेउछाउमा पानीघट्टहरु पनि देखिए । ओरालो झरेर केही पश्चिमतिर तेर्सैतेर्सो लागेपछि डाँडाफयाको धारापोरी गाउँ आइपुग्यो । गाउँ नजिकिंदै गएपछि बाटो निकै फोहर हुँदै गएको थियो । बाटामा भेटिन थाले बालबच्चाहरु, जसका लुगाहरु वर्षौं नधोइएर मैलले निकै कटकटिएका देखिन्थे । नाकभरि सिंगान देखिन्थ्यो । अनुहारभरी झिंगा भन्किएका थिए । लामो समय ननुहाएका र कपाल जिंगरिङ्ग भएका ती बच्चाहरु निकै टीठलाग्दा थिए । बस्ती पनि उस्तै फोहोर । काठमाथि बाक्लो माटो राखेर छाइएका घरहरु । एक घरको छानोमाथिबाट अर्को घर शुरु हुने । घरको तलामा जान खोबिल्टाहरु बनाइएका काठको लिस्नो ।

पच्चीस तीस वर्ष उमेरको मान्छेमै पनि बुढ्यौलीले प्रवेश गरेको देखिन्थ्यो । घरका भुईंतलामा वस्तुभाउ बाँधिएका थिए । एक घरमा चिया बनाउन लगायौं, केही बिस्कुट आफैंले लगिएको थियो । चिया खाँदा चियाको गिलासभरि झिंगा, बिस्कुटभरि झिंगा । केही मानिस चियामा खसेको झिंगा निकाल्दै चिया पिइरहेका थिए । यति धेरै झिंगा देख्दा पहिलोचोटि देख्दा म चाहिं अचम्मित नै बएको थिएँ । खाना खाँदा पनि थालभरि झिंगा हुन्थे । पछि त झिंगा देखि घिन मान्न पनि छाडियो ।
सिमिकोटबाट हिल्सासम्म पुग्दा पूर्व डाँडाफया गाविसको चौगनफया बस्तीमा मात्र एक मावि स्कूल भेटियो भने बाटामा शिक्षकहरु बाहेक कोही पनि प्रवेशिका वा सो भन्दा माथिल्लो शैक्षिक योग्यता भएका मानिसहरु भेटिएनन् ।

अधिकाशं शिक्षकहरु बाहिरबाट गएका थिए र हिउँदमा हिउँ पर्न शुरु गर्दा नगर्दैमा घर फर्कन्थे र लामो समय विदामा बस्थे । त्यताका अभिभावकहरुमा आफ्ना बालबच्चालाई शिक्षित बनाउनु पर्ने कुरामा त्यति चेतनशीलता पनि भेटिएन । अध्याँरो घरभित्र बालेको सल्लाको धुँवा र बाहिरको सुख्खा बतासले कालो बनाएको दुब्लो र ख्याउटे अनुहार । वर्षौं नधोइएका मैला र चोथ्रा लुगाहरु । ऊनीहरुको मुहार वरपरका उजाड पहाड झैं कान्तिहीन देखिन्थे, जहाँ उत्साहका कुनै धर्काहरु देखिन्थेनन् । यस्तो लाग्थ्यो, शायद ती मुहारले कुनै सपना देख्न पनि जानेका छैनन् । हामी जस्ता बाहिरबाट गएका मानिस देख्दा खिस्स हाँस्थे । ऊनीहरु आफ्नै जीवन जिइराखेका थिए र जीवनबाट सन्तुष्ट नै थिए, शायद । त्यसो त राज्यबाट शदियौं देखि ठगिरहँदा ऊनीहरुको पीडा र वेदनाहरु स्वतस् दबिएको पनि हुनसक्थ्यो । झुलुक्क देखेकै भरमा ऊनीहरुको दुस्खको पहाड र वेदनाका पत्रहरु कसरी पो उप्काउन सक्थ्यौं र? काठमाडौंको रत्नपार्क वा सिंहदरबार वरिपरि हुने गरेका अधिकारप्राप्तिका कतिपय आन्दोलनहरु देख्ने गर्छु, मलाई सँधै ती बस्तीमा भेटिएका हुम्लीहरुको कान्तिहीन, सपाट, ख्याउटे, भावशुन्य अनुहार झल्झल्ती अगाडि आउने गर्छ, तीमध्ये कतिपय जो संभवत जिन्दगीभर कहिल्यै पनि काठमाडौंसम्म आएर राज्यलाई आफ्ना कुरा सुनाउन सक्ने छैनन् ।
धारापोरी पछि आइपुग्ने मूख्य बस्ती केर्मी थियो । सिमिकोटबाट बिहान निस्कँदा लगभग एघार बजिसकेकोले त्यही दिन केर्मी पुग्ने छाँटकाँट देखिएन । च्याछडा भन्ने स्थानमा सानो चियापसल घर रहेछ । त्यस सुनसान स्थानमा एक युवाले पसलमा एक्लै बस्दा रहेछन् । रात परिसकेकोले त्यहीं बास बसियो । त्यतातिर तरकारी खेतीको चलन खासै रहेनछ । सागलाई असुरा भन्दारहेछन् । राति उत्पातै भुसुना लाग्ने रहेछ, पूरै रात सुत्न सकिएन । पाँच वर्ष जति पछि दोस्रो पटक यही मार्ग भएर यात्रा गर्दा भने त्यो घर थिएन, ती युवा पनि बितिसकेछन् । कर्णालीतिर नेपालीको औसत आयु निकै कम भएको कुरा सम्झनामा आयो ।

यस स्थानबाट कर्णालीको तिरैतिर अलिक पश्चिमतिर लागेपछि आइपुग्छ, यस मार्गकै सबभन्दा सुन्दर च्याछडा झर्ना । झर्नाका थुप्रै फोटो खिचिए । बाटोसम्म उछिट्टिएर आएको झर्नाको पानीले चिसो स्पर्श दियो, त्यो भन्दा बढी मनमा प्रफुल्लता र शरीरमा स्फूर्ति । झर्ना पश्चिमतिर अत्यन्तै साँघुरो, पहाड खोपेर बनाइएको उकालो बाटो थियो । बाटो मुन्तिर चट्टानी पहराका बिचबाट ढुंगामा ठोकोएर सेतो फिंज र भयानक आवाज निकाल्दै बगेको कर्णाली । त्यस निर्जन स्थानको चकमन्नतालाई बिथोल्ने त्यहीं कर्णालीको सुसाहट थियो । बाटोबाट चिप्लिएमा त्यहीं कर्णालीको पानीमा विलीन होइन्थ्यो ।

(च्याछडाको झर्ना)

परतिरका अग्ला अग्ला चट्टानी पहाड र जंगलहरु हेर्दै, अलिक उकालो चढेपछि केर्मी आइपुग्यो । त्यतिबेला माओवादी द्वन्द्व चरमोत्कर्षमा पुगेको थियो । कर्णाली अञ्चल पनि यसबाट अत्यधिक प्रभावित थियो । केर्मीमा पुग्दा केही माओवादी कार्यकर्तासँग जम्काभेट भयो । यात्रामा निस्कनु अघि नै यो अनुमान गरिएको थियो । ऊनीहरुको जम्काभेट भएमा कसरी सामना गर्ने भन्ने बारेमा मानसिक रुपमा धेरथोर तयारै थियौं । ऊनीहरुले अनुमति विना कसरी हाम्रो क्षेत्रमा प्रवेश गरेको भनेर केरकार गर्न थाले, क्रान्तिको व्याख्या पनि गर्न थाले । मैले हाम्रो यो अध्ययन भनेको यस क्षेत्रको विकाससँग सम्बन्धित भएको, यी अध्ययनका प्रतिवेदनहरु पछि क्रान्ति सफल भएपछि पनि उपयोगी हुनसक्ने, यथार्थ विवरणका लिनका लागि नै यसरी विकट स्थानहरुसम्म आइपुगेको, नत्र नाम मात्रका प्रतिवेदन त सदरमुकाम, अझ भनौं काठमाडौंमै बसेर पनि बनाउन सकिने कुरा गरें । हामीसँग बहस गर्नमा बिस्तारै ऊनीहरुको रुचि घट्दै गयो । एकजना कार्यकर्ता केही बिरामी रहेछन् । हामीसँग भएका सिटामोल र अन्य सामान्य औषधीहरु दियौं । केही चन्दा माग्दैथिए । हामीले चाहेर पनि दिन सक्ने अवस्था थिएनौं । हाम्रो अवस्था बुझेपछि ऊनीहरु आफ्नो बाटोतिर लागे । पछि खाना खाँदै गर्दा त्यहाँका स्थानीयले बताए – “यिनीहरुले क्रान्तिको नाउँमा गाउँमा भएको एउटा स्वास्थ्य चौकी पनि जलाए, अहिले बिरामी भएँ भनेर तपाईंहरुसँग औषधी माग्दैछन् ।” गाउँलेहरु ती कार्यकर्ताहरुलाई बास, खाना र चन्दा दिनु पर्दा रुष्ट भइसकेका रहेछन् ।

दोस्रो पटक सिमिकोट–हिल्सा यात्रा गर्दा भने २०६२ र ६३ को आन्दोलन पश्चात् लोकतन्त्र आइसकेको अवस्था थियो । मेरा सहयोगी, हुम्लाकै तल्लो भेगका २०–२२ वर्षका शाही थरका युवा थिए । ऊनको साथले मेरो दोस्रो यात्रा अझ रोचक बन्यो । ऊनी पूर्व माओवादी लडाकु थिए । ऊनले बाटोभरि माओवादी आन्दोलन र त्यसमा ऊनको संलग्नताका बारेमा बताए । ऊनी १३–१४ वर्षका उमेरदेखि नै माओवादी आन्दोलनमा सहभागी भएका रहेछन् । शुरुमा सहयोगीका रुपमा काम गरे पनि पछि लडाकुकै रुपमा सहभागी भएका रहेछन् । ऊनले रुकुमको खारा, जुम्ला, बर्दियाको रम्भापुर, बाँकेको शमशेरगञ्ज देखि कालिकोटको पिली आक्रमणसम्मको युद्धमा सामेल भएका रहेछन् । लडाईंका क्रममा जाजरकोटबाट जुम्ला आउँदा १४,००० फिट अग्लो लेक पार गर्दा हिउँ परेर कैयन् लडाकुको मृत्यु भएको, केही महिना पछि हिउँ पग्लेको समयमा त्यस स्थानमा हातहतियार खोजेर ल्याएको, त्यतिखेर जाँदा साथीका लाशहरु त्यतिकै भुईंमा पडिराखेको कुरा पनि ऊनले बताए । परिवार र आफन्तको अत्यधिक दबाबमा पिली आक्रमण पछि भने ऊनी माओवादी आन्दोलनबाट पलायन भएछन् । कलिलै उमेरमा आन्दोलन र युद्धमा भोगेको अनेकौं सकस र पीडाले उनको स्वास्थ्य कमजोर हुनु पनि परिवारले ऊनलाई लडाकु जीवन त्याग्न दबाब दिनुको अर्को कारण रहेछ । जे होस्, ती युवाहरु बेथितिहरुको अन्त्य भएको, समाज सुखी र समृद्ध भएको हेर्ने निश्छल र निष्कपट सपनाहरुबाट अनुप्राणित थिए । लोकतन्त्र आइसकेपछि नेताहरुको बोली र व्यवहारमा आएको परिवर्तनबाट भने ऊनी सन्तुष्ट हुन सकिराखेका थिएनन् ।

केर्मीबाट केही तेर्सो बाटो हुँदै पश्चिमतिर लागेर थोरै ओरालो झरेपछि सल्लीखोला पुगिन्छ । दोस्रो चोटिको यात्रामा केर्मीमा बास बस्दा राति अनुहार भरि भुसुनाले टोकेछ । बिहान उठ्दा त अनुहार पुरै सुन्निएर पीडा र असहज अनुभव भइरहेको थियो । बाटोमा भेटिने मान्छेहरु मेरो सुन्निएको अनुहार हेरेर हाँस्थे । ती मान्छेहरु मेरो पीडा देखेर भन्दा पनि हाँसो रोक्न नसकेर हाँसेका हुन् भन्ने मलाई थाहा थियो । एक डेढ घण्टापछि सल्लीखोला किनारमा पुगेपछि एक सानो चियापसल भेटियो । त्यहाँ मन्तातो नुनपानीले धेरैबेर अनुहार धोएपछि भने सुन्निएको बिस्तारै बस्दै जान थाल्यो ।

बाटोमा ठाउँठाऊमा साना ठूला पानीका मूल र खोलाहरु भेटिन्थे । केर्मीमा तातोपानीको मूल समेत थियो । कुनै खोला नजिकै पानीघट्ट भेटिए भने कुनै बस्ती नजिकैको खोलाहरुबाट लघुजलविद्युत पनि निकालिएको थियो । प्रायस् खोलामा स्टीलका पक्की झोलुंगे पुल बनेका थिए । अग्ला पहाडबाट झरेर घना जंगल छिचोल्दै उच्च बहावगति भएका खोलाहरुले जरासहितका रुख र मुढाहरु बगाएर ल्याएको देख्न सकिन्थ्यो । ती खोलामा त्यतिकै कुहिएर गइराखेका थिए । बाटामा खच्चड र च्यांग्राका बथानहरु भेटिन्थे । स–साना च्यांग्राका पीठमा दुई चार किलो सामानका पोकाहरु बोकाइएका हुन्थे । खेतीयोग्य जमीन निकै कम भएकोले पशुपालन पनि यस भेगका मानिसहरुको मूख्य पेशा थियो । बालीका रुपमा गहुँ, जौ, उवा, फापर, चिनो, सिमी लगाइएका थिए । ठाउँठाउँमा स्याउ र ओखरका बोटहरु पनि देखिए । कुनै बस्तीमा मौरीका घार थिए । डाडाँफयाको दक्षिण कर्णाली पारिपट्टि (स्याँडा) का खेतहरुमा वैशाखतिरै धान रोपाईं गरेको दृश्य पनि देखियो, शायद ती स्थानहरु नेपालमा धानखेती गरिएका उच्चस्थानहरुमै पर्छन् होला।

उच्च बहाव गतिमा तल्तिर बगिराखेको हुम्ला कर्णाली, अनि बाटोमा पार गरेका हेप्का खोला, सल्ली खोला, याङगार खोला, मुचु खोला, तुम्कोट खोलाहरुमा विद्युत उत्पादनको उच्च संभावना देखिन्थ्यो, तर पहुँच सडक र प्रसारण लाइनको अभावमा निकट भविष्यमा त्यसबाट विद्युत उत्पादनको कुनै संभावना थिएन ।

त्यसबाहेक बाटोका आसपास ढटेलो, डालेचुक, भुईचुक र खुर्पानेका बोटहरु प्रशस्त देखिन्थ्यो । यसबाट हालसम्म व्यावसायिक लाभ लिने कुनै प्रयास भएको चाहिं देखिएन । स्थानीयसँगको कुराकानीका आधारमा गुच्ची च्याउ, जटामसी, पाँचऔंले, अतीस, कुट्की, यार्सागुम्बा लगायत अन्य जडिबुटी पनि प्रशस्त पाइने रहेछ, तर यसबाट स्थानीयले खासै लाभ लिने सकेको देखिएन ।
सल्लीखोलाबाट कर्णाली किनारैकिनार अझ पश्चिमतिर लागेपछि आइपुग्छ यालवाङ चौर र त्यसबाट केही उकालो लागेपछि यालवाङ बस्ती । यालवाङ चौरमा पहिले व्यापार पनि हुने रहेछ । कर्णाली किनारमा रहेको यालवाङ चौरमा तीन चार दशक अघिसम्म तिब्बतीयनहरु सामानहरु किन्नरसाट्न यस चौरमा आइपुग्दा रहेछन् । हिमालय सीमापारको वस्तु विनिमय प्रणालीमा आधारित व्यापार हुँदो रहेछ त्यहाँ । तिब्बतीयनहरुले नुन ल्याएर अनाजहरु लग्दा रहेछन् । स्थानीयहरुले भने अनुसार त्यतिबेला तिब्बतीयनहरुको आर्थिक अवस्था नेपालीको भन्दा दयनीय थियो रे । तिब्बत बिस्तारै समृद्ध हुँदै गएपछि अहिले भने स्थिति उल्टिएको रहेछ । पुरानो व्यापार प्रथा बन्द भईसकेको रहेछ । कतिपय नेपालीहरु तिब्बत (ताक्लाकोट) तिर काठ र जडिबुटीको चोरी निकासी गरेर तिब्बतबाट खाद्यान्न ल्याऊदा रहेछन् । अहिले तिब्बतीयनका अगाडि नेपालीले गरीब र पिछडिएको महसुस गर्नु पर्ने अवस्था रहेछ ।

(यालवाङ बस्ती)

ठूलो ढुंगाको काखमा रहेको छ, यालवाङ बस्ती । बस्ती केही मास्तिर छ भव्य यालवाङ गुम्बा, जुन गुम्बा दर्शन गर्न तिब्बतीयनहरु पनि आउँदा रहेछन् । यहाँ बौद्ध धर्मको पठनपाठन पनि हुन्छ । यस विपन्न बस्तीमा यालवाङ गुम्बाको भव्यताले यस बस्तीको कुनै समयको समृद्धिको परिचय दिन्छ । त्यहीं नै एकजना समाजसेवी युवासँग भेट भयो । ऊनी यस क्षेत्रलाई सडकमार्गले सकभर छिटो जोड्नुपर्ने कुरामा लागिपरेका थिए । बेलाबेलामा जिल्ला सदरमुकाम र राजधानीसम्म पनि धाइरहँदा रहेछन् । यो क्षेत्र पछाडि पर्नुको मूल कारण सडक यातायातले जोडिन नसक्नु नै हो भन्ने ऊनको दलील थियो । सदरमुकाम र बाहिरके केही मानिसले यस क्षेत्रमा सडकको पहुँच भएमा यहाँको प्राकृतिक वातावरण खल्बलिन सक्ने, स्थानीय संस्कृति र परम्परा लोप हुँदै जान सक्ने तर्क गरेर सडक लग्नु नहुने तर्क पनि गरेका रहेछन् । ऊनी आक्रोशित भएर हामीलाई बताउँदैथिए– “आफूले राम्रा सडक, बाटोघाटोको सुविधा लिने केही मानिसहरु यस क्षेत्रमा चाहिं सडक बनाउनु हुन्न भन्छन् । अनि यस क्षेत्रका मानिस शिक्षा, औषधीमुलोको सुविधाबाट वञ्चित भएको, खाद्यसंकट र चरम गरिबीको अवस्थाबाट गुज्रिरहेको चाहिं देख्दैनन् । के ऊनीहरु चिडियाखानाको जन्तु झैं विदेशीहरुका लागि टिकट काटेर हामीलाई हेर्न घुम्न आउने स्थान मात्रै बनाउन चाहन्छन्?


वास्तवमा यो भनाईमा पूर्वाधार विकास, वातावरण तथा संस्कृति संरक्षणका बिच आजकल चलेको द्वन्द्व भेटाउन सकिन्थ्यो । यसको बिचबाट कसरी सही समाधान निकाल्ने भन्ने कुरामा पनि हामीलाई सोच्न बाध्य तुल्याउँछ । पचासको दशकको बिचतिरबाट तत्कालीन जिविसको पहलमा हुम्ला सदरमुकाम, सिमिकोटलाई चीन, तिब्बतको सीमामा पर्ने हिल्साबाट सडकमार्गले जोड्न सडक खन्ने काम थालिएको रहेछ । २०६० सालतिर म त्यता पुग्दा हिल्साबाट लगभग ४,५०० मिटरको नारा लेक पार गरेर यारी गाउँ भन्दा अलिक वरसम्म सडक खोल्ने काम २० कि.मि. जति भएको रहेछ । त्यस सडकमार्गमा कुनै गाडी गुड्न सक्ने अवस्था भने थिएन । पाँच वर्ष पछि पुग्दा पनि त्यो सडक यारी यताको अर्को गाउँ तुमकोटसम्म आइपुगेको थिएन । यो सडक पछि सडक विभागको कार्यक्षेत्रभित्र र्पयो । हिल्सा र सिमिकोट दुवै पट्टिबाट सडक निर्माण गर्ने कामले तीब्रता पाउन थाल्यो । यद्यपि अहिले २०७७ सालसम्म आइपुग्दा पनि सडकमार्ग सम्पूर्ण रुपमा खोलिसकिएको अवस्था भने अझै छैन ।

अन्य सबै जिल्लाहरु राष्ट्रिय सडकसञ्जालले जोडिसकेको अवस्थामा हुम्ला नै यसमा जोडिने अन्तिम जिल्ला हुनेछ । हिल्सा हुम्ला जिल्लाको प्रमुख व्यापारिक नाका हो र यो कर्णाली प्रदेशकै एक प्रमुख व्यापारिक नाका पनि बन्न सक्छ । हामि पुग्दाको समयमा मानिसहरुले आफैले बोकेर वा खच्चडबाट सामान ढुवानी गराएर व्यापारिक गतिविधि भईराखेको थियो । नेपालगञ्ज नाकाबाट सुर्खेत, कालिकोट, बाजुरा हुँदै कर्णालीको किनारैकिनार उत्तरतिर हिल्सामा गई टुंगिने सडकलाई कर्णाली प्रदेश सरकारले प्रदेश गौरव आयोजनाको रुपमा प्राथमिकतामा राखेको छ । अहिले गाडी गुड्न सक्ने सडकखण्डमा ट्रयाक्टर, मिनी ट्रक मार्फत् पनि हिल्साबाट सामानहरु ढुवानी गर्ने गरिएको सुनेको छु । तुम्कोटनिर हुम्ला कर्णाली नदीमाथि बेलिब्रिज राखि सकिएको छ ।

यस मार्गमा यात्रा गर्दै गर्दा पाँच सात दिन लगाएर तिब्बतको ताक्लाकोट पुगी विभिन्न दैनिक उपभोग्यका सामानहरु खरीद गरि फर्केका थुप्रै मानिसहरु बाटामा भेटें । यता नेपालबाट जडिबुटी तथा काठबाट बनेका स(साना कचौराहरु (फोरु) लगायत नगण्य सामानहरु मात्र निकासी हुँदो रहेछ । यताका मानिसहरुले अधिकांश दैनिक उपभोग्य वस्तुका लागि ताक्लाकोट नै धाउनुपर्ने बाध्यता रहेछ । हुम्ला जिल्लाको माथिल्लो भेगतिर लामा भोटे जातिका मानिस बसोबास गर्छन् भने तल्लो भेगतिर, क्षेत्री, ठकुरी, ब्राम्हण, दलित लगायत जातजातिको बाहुल्यता छ । हुम्लाको तल्लो भेगबाट पनि प्रशस्त मानिसहरु ताक्लाकोटतिर जाँदा रहेछन् । अचम्मको कुरो, ती मानिसहरुले सस्तो चिनियाँ रक्सी ठूलो परिमाणमा नेपालतिर भित्र्याउँदा रहेछन् । तीस(पैतीस वर्षमै बुढयौलीले छोएका, घाम र चिसो बतासले अनुहार डढेर कालो भएका थुप्रै हुम्लीहरुले लस्करका लस्कर रक्सीको गह्रौं भारी बोकेर फर्किराखेको भेट्दा मन कुँडियो पनि । यात्रामा साथै भएका हुम्ली सहयोगीले बताउँदै थिए – “हुम्लामा वर्षेनी करोडौं रुपैंयाको चिनियाँ रक्सी भित्रिने गर्छ । चिनियाँ बजारबाट संभवत सबभन्दा धेरै किनेर ल्याइने ल्याइने वस्तु पनि रक्सी नै होला ।” रक्सीले टिल्ल भएर बाटामै पल्टिराखेका मानिसहरु पनि भेटिन्थे ।

म हिल्सा नाका पुग्दा त्यहाँ कुनै सरकारी उपस्थिति थिएन । त्यस नाकाबाट कति व्यापारिक गतिविधि हुन्छ भन्ने कुराको पनि केही सरकारी अभिलेख रहने कुरा पनि भएन । स्थानीयका अनुसार माओवादी द्वन्द शुरु भए पछि हिल्सा भन्दा छ(सात घण्टा यतैको बस्ती, यारीमा रहेको भन्सार कार्यालय बन्द भएको रहेछ ।

यालवाङपछि आउने अर्को बस्ती याङगारमा पुग्दा कुनै संस्था मार्फत् आएका विकासे कार्यकर्ताहरु भेटिए । ऊनीहरु पर्यटन, जडिबुटीको दीगो संकलन र व्यवस्थापन विषयमा स्थानीयहरुलाई तालीम, प्रशिक्षण दिन आएका रहेछन् । हामी गएको दिन तीन दिने तालिमको दोस्रो दिन चल्दै रहेछ । दिउँसोको समय थियो । त्यहाँ तालीमका सहभागीहरुलाई तीन दिन उपस्थितिको हाजिरी गराएर भत्ता बाँडिने काम धमाधम हुँदै रहेछ । तीन दिनको तालिममा दुई दिन उपस्थित भएर तीन दिनको भत्ता बुझ्न पाउँदा तालीमका सहभागीहरु दंग थिए । तालिमका संचालकहरु पनि सदरमुकामतिर छिटो फर्कन पाइने हुनाले उत्तिकै फुरुङग ।

यालवाङपछि आउने बस्तीहरुमा याङगार, मुचु, तुम्कोट, यारी र हिल्सा थिए । यी सबै स(साना बस्तीहरु हुन् । मुचु पहिलेको गाविस केन्द्र पनि थियो । त्यहाँ गाउँको सिरानमा एउटा पुरानो गुम्बा पनि रहेको छ । मुचु र तुम्कोट कर्णाली किनार नजिकै छन् । तुम्कोटबाट भने बाटोले कर्णाली नदीलाई छाड्छ र यारी बस्तीतिर उकालो लाग्छ । यारी बस्ती लगभग ३,७०० मि. उचाईको केही समथर परेको भूभागमा छ । चारैतिर रंगीचंगी फूल र हरिया घाँसले ढाकेको गलैंचा जस्तो मैदान । पर परसम्म देखिने सल्ला र देवदारका जंगलहरु । ती जंगलका बिचबाट खसेका सेता झरना र खोलाहरु । पहाडका तल्तिर हिउँले जमीन गलेर झरेका पहिरोहरु । मास्तिर हिउँले ढाकेका पहाडका टुप्पाहरु । त्यसमाथिको निलो आकाशमा बादलका स(साना सेता टुक्रा र त्यसमुनि कावा खाइरहेका चिलहरु । चिसो हिमाली बतास । यारी पुग्दा मलाई साँच्चै भूस्वर्गमा पुगेको अनुभव भयो । हुम्लाको यी क्षेत्रमा चाला जस्ता कुनै बस्तीहरु त अझ मूलबाटोबाट छोडेर हिंडेपछि १(२ मा पुगिने अनकण्टार ठाउँमा छन् ।

(लेखक यारी पुग्नु अघि बाटोमा)

हाम्रो बास च्याछडा र यालवाङ पछि मुचु, यारी र हिल्सामा भएको थियो । यारी पछि बाटो उकालो लाग्दै मास्तिर लाग्थ्यो र समुद्री सतह देखि लगभग ४,५०० मि. उचाईको नारा लेकमा पुगेर मात्र आकाशिन छाडथ्यो । बिचको बाटो छेउछाउमा भुईंचुकका पोथ्राहरु उम्रेका थिए । हिउँ पग्लिएको पानी जम्मा हुँदै तल्तिर कुल्कुलाउँदै थियो र घाँसे मैदानलाई ओसिलो बनाउँदै खोलातिर लाग्थ्यो । उचाई चढ्दै जाँदा वनस्पति पातलिएर उजाड पहाडहरु देखिन थाले । नारा लेक पुग्ने बेलामा भने निकै थकित महसुस भयो । पाइलाहरु बिस्तारै मात्र अघि बढ्न सके । वैशाखको महिना भए पनि होचा खोल्साखोल्सीमा हिउँ पग्लन पाएको थिएन । पर परका हिमालहरु आफू उभिएको स्थान भन्दा तल भएजस्तो लाग्थ्यो । नारा लेकको उच्चतम विन्दुमा पुग्दा एक अव्यक्त किसिमको विजयभावले मन हर्षित भईराखेको थियो, जहाँबाट एकातिर नेपालतिरका हिमाल र हरिया पहाडहरु देखिन्थे भने उत्तरतिर तिब्बतका सुख्खा र उजाड पहाडहरु ।

उत्तरी पाखोमा हिउँहरु पग्लिएका थिएनन् । केही समय हिउँ भएरै हिंड्नुर्पयो । हिउँबाट चिप्लिएमा तल एक डेढ कि.मि. तल पुगिन्थ्यो होला । अलिक तल पुगेपछि एक सानो पोखरी भेटियो । तल्तिर पुगेपछि भने हिउँ थिएन । हिउँले गालेर झारेको खुकुलो गेग्रयानहरु बाटोभरि थिए । बाटो भने निकै ठाडो ओरालो थियो । ओरालो झर्दा पाइला रोकिन निकै गाह्रो हुन्थ्यो । लगभग डेढ घण्टाको ओरालो झरेपछि कर्णाली किनारको हिल्सामा पुगियो ।

(हिल्सा, हालसालैको इन्टरनेट फोटो)

हिल्साबाट तिब्बतको व्यापारिक केन्द्र ताक्लाकोटतिर जान कर्णाली नदीमाथि झोलुंगे पुल बनाइएको थियो र हिंडेर अलिक पर पुगे पछि त्यो बाटो सडकमार्गमा परिणत हुन्थ्यो । कर्णाली नदीकै किनारमा सीमास्तम्भ थियो र नदीको कटानले त्यो जुनसुकै बखत बगाएर लग्न सक्ने अवस्थामा थियो । पुल तरेपछि कर्णाली पारिपट्टिबाट उत्तर पूर्वतिर लाग्ने बाटो चाहिं हुम्लाकै लिमी उपत्यकातिर लाग्दो रहेछ । सीमा वरपरका नेपालीहरु चिनियाँ भूमितिर भेंडा चराउन सजिलै आवतजावत गर्न सक्ने भए पनि पछि कडाइ गरिएछ । हिल्सा पुग्नु अघि मेरो कल्पनामा हिल्सा एक ठुलै व्यापारिक बस्ती थियो, तर त्यहाँ पुग्दा मात्र थाहा भयो, त्यहाँ त केवल २०(२२ वटा टहरा घरहरु थिए । कुनै सरकारी कार्यालयहरु थिएनन् । हिल्साका मानिसहरु तिब्बतबाट सामानहरु किनेर ल्याउने र नेपालबाट तिब्बततिर सामान बेच्न लग्ने गर्दा रहेछन् । ती मध्ये कतिपयको ताक्लाकोटमा घर भाडामा लिएर पसल संचालन पनि गर्दा रहेछन् । ती व्यापारीले हाम्रो देशको कमजोर आर्थिक अवस्थाले गर्दा विदेशभूमिमा ऊनीहरुका प्रति गरिने व्यवहारमा पनि त्यसको झल्को पाइने कुरा मलाई बताउँदै थिए । त्यतिखेर हिल्सा पुग्दा चीनमा सार्सको महामारी फैलिइरहेको थियो र सीमा पूर्ण रुपमा बन्द गरिएको थियो । हिल्सा पुगेपछि मानसरोवरसम्म पुग्न सक्ने संभावना त्यत्तिकै थाती रह्यो । नाका बन्द भएकोले फुर्स्दिला व्यापारीहरु तास खेलेर, लुँडो खेलेर दिन बिताइरहेका थिए । म सिमिकोटबाट हिंडेको पाँचौ दिनमा हिल्सामा पुगेको थिएँ ।

हामी काठमाडौंमा हुम्लालाई भारतीय तीर्थयात्रीहरु नेपालगञ्ज हुँदै सिमिकोट भएर मानसरोवर जाने मार्गमा पर्ने स्थानका रुपमा पनि चिन्छौं । यी गतिविधिबाट हुम्लाका सर्वसाधारण नागरीकहरु खासै लाभान्वित भएको देखिएन । भारतीय तीर्थयात्री बढेसँगै सिमिकोटमा होटलहरुको संख्यामा केही वृद्धि त अवश्य भएको छ, तर सिमिकोटबाट प्रायस् ऊनीहरु हेलिकप्टर चढेर सिधै हिल्सामा ओर्लने गर्छन् । यसले गर्दा सिमिकोट–हिल्सा मार्गमा पर्ने बस्ती र बासिन्दाले केही लाभ पाउन सक्ने भएनन्, यद्यपि यो मार्गभरि भेटिने अग्ला पहाड, पहरा, झर्ना, निर्जन जंगल, खोलाको अद्भुत प्राकृतिक सौन्दर्य, वानस्पतिक विविधता, फापर, ऊवा र चिनोका स(साना फाँटका बिच रहेका हिमाली बस्तीहरु, ती बस्तीमा बसोबास गर्ने स्थानीयका रहनसहन, परम्परा र संस्कृति पर्यटक तान्ने आधार बन्न सक्छन् । ती पर्यटकलाई हामी जौको सातु र चौंरीको नौनीको चिया चखाउन सक्छौं । खुर्पानेको जुस पिलाउन सक्छौं । त्यहीं फलेको फापरको रोटीमा मह मिसाएर दिन सक्छौं । सिमीको दाल खुवाउन सक्छौं । घोडा चढाएर गाउँ वरपर घुमाएर शदियौं पुराना ती गुम्बाका कथाहरु सुनाउन सक्छौं । अनि ओखर र स्याउको कोसेली दिन सक्छौं । स्थानीय नाच र समृद्ध संस्कृतिमा भुलाउन सक्छौं । प्रकृतिसँगको निकटतामा असीमित सौन्दर्य र स्वर्गीय शान्ति भेटाउन सकिने यी बस्तीहरुमा स्थानीय शैली र सामाग्रीकै प्रयोग गरेर कम लागतमा पर्यटक अड्याउन सकिने घर, होटल, रिसोर्टहरु बनाउन सक्छौं, बस्तीलाई सफासुग्घर र चिटिक्क बनाउन सक्छौं । बस्तीका बाटाघाटा, नालीहरु व्यवस्थित गर्न सक्छौं । बस्तीका घरहरुलाई सुन्दर र साँच्चै हिमाली बस्तीको परिचय दिने गरी नमूना बस्ती बनाउन सक्छौं । । बस्ती वरपर फूल र रुखबिरुवाले हराभरा बनाएर । बाँकी छ त केवल त्यहाँका ती अबोध मस्तिष्कहरुमा चेतना छर्न, बाहिरी संसारसँग जोड्न, कस्तुरी मृग झैं आफैंभित्र सुगन्ध बोकेर पनि बाहिरतिर भौंतारिने होइन कि, आफ्नै विशिष्ट संस्कृति र परम्परामा गर्वित तुल्याउन, तर थाहा छैन, यस्ता सपनाहरु पूरा गर्न कति समय कुर्नु पर्ने हो?

(खुर्पानेको बोट, मुचु)

२०६० सालतिर जाँदा लगभग २० कि.मि. खोलिएको सिमिकोट(हिल्सा सडकको निर्माण यस २०७७ सालभित्र पूरा भएर सवारी साधनहरु हिल्साबाट सिमिकोटसम्म आइपुग्न सक्ने अपेक्षा गरिएको छ, ताकि निकट भविष्यमा हुम्ला जाँदा आफूले दुई चोटि हिंडेको बाटोको पदचापहरुलाई सम्झँदै त्यो सडकमा गाडीबाट यात्रा गर्न सक्नेछु ।

तथापि २०५९–६० सालतिर चीनमा सार्स महामारी चम्कँदा चिनियाँ सीमा नजिकैको हिल्सासम्म पुगेको यात्रा डायरी लेख्न मलाई २०७६–७७ सालको कोरोना महामारीको संयोग जुर्नु र्पयो । आशा गर्छु, गाडीबाट गरिने मेरो सिमिकोट(हिल्सा यात्राको अर्को डायरी लेख्न पुनस् अर्को महामारी भने अवश्य कुर्नुपर्ने छैन ।

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्