Logo

के हो ‘पाइ नेटवर्क’ ? हल्ला कि वास्तविकता !



Spread the love

पछिल्ला केही दिन यता मोबाइलमा क्रिप्टोकरेन्सी माइनिङ गर्ने दाबी गरिएको ‘पाई नेटवर्क’ नामक एप्लिकेसन नेपालमा भाइरल भइरहेको छ । यो लेख तयार पार्दासम्म, गुगल प्ले स्टोरबाट विश्वभर ५० लाख पटक डाउनलोड भइसकेको यो एपको चर्चा, फेसबुक, म्यासेञ्जर देखि अन्य सामाजिक सञ्जालसम्म यसलाई प्रयोग गर्न लोभ्याउने किसिमका अनेक म्यासेज, इन्भिटेसन कोड तंपाईले पनि देख्नु अथवा पठाउनु भएको हुनसक्छ ।

बुझेर अथवा नबुझेर, हल्लै हल्लाको पछि लागेर यदि त्यस्तो गर्नु भएको छ र नगरेको भए अब गर्ने सोंच्दै हुनुहुन्छ भने सबैभन्दा पहिले क्रिप्टोकरेन्सीको बारेमा बुझ्न जरुरी छ ।

क्रिप्टोकरेन्सी के हो ? र यसले कसरी काम गर्छ ?

क्रिप्टोकरेन्सी (Crypto currency) शब्द दुई वटा अङ्ग्रेजी शब्द जोडिएर बनेको छ। क्रिप्टो अर्थात् गुप्त र करेन्सी अर्थात् मुद्रा । यानेकि क्रिप्टोकरेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो जुन सिक्का र नोटहरूको जस्तो यसको भौतिक अस्तित्व रहँदैन । अथवा भनौँ, यसलाई सिक्का र नोटजस्तो छुन, पट्याउन र खल्तीमा राख्न सकिंदैन ।

यसलाई कारोबार गर्दा प्रत्येक कारोबारमा एउटा फाइललाई पठाउने व्यक्ति र पाउने व्यक्तिका सार्वजनिक चाबी (पब्लिक की) मार्फत् तोकिएको मूल्यका क्रिप्टोकरेन्सी आदानप्रदान गरिन्छ । पठाउने व्यक्तिले आफ्नो व्यक्तिगत चाबी (प्राइभेट की) द्वारा यो कारोबारलाई भेरिफाइ गरेपछि त्यो कारोबार नेटवर्कभरी प्रसारण हुन्छ र नेटवर्कमा भएका माइनरले क्रिप्टोग्राफिक पजल हल गरेर कारोबारलाई भेरिफाइ गर्न सक्छन् । अनि कारोबार स्वीकार गरेर नेटवर्कभरी पठाउँछन् । त्यसपछि, नेटवर्कको प्रत्येक नोडमा बसेकाले यसलाई आफ्नो डाटाबेसमा थप गर्दै जान्छन् ।

के हो पाई नेटवर्क ?

प्रत्येक दिन प्रयोग गर्ने व्यक्तिहरूद्वारा चल्ने र सुरक्षित मुद्रा प्रदान गर्ने मिसन र विश्वमा सहकर्मीबाट सहकर्मीमूलक समावेशी बजार बनाउने र सबैभन्दा बढी प्रयोग गरिने क्रिप्टोकरन्सी निर्माण गर्ने  भिजन लिएर अमेरिकाको क्यालिफोर्नियामा रहेको स्ट्यानफोर्ड विश्वविद्यालयका तीन जना ग्र्याजुएट, डा. निकोलस कोक्कलिस, डा. चेंग्डिआओ फ्यान  भिन्सेन्ट म्याकफिलिपले स्मार्टफोनमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) माइनिङ गर्ने दाबी गर्दै एउटा प्रोजेक्टका रूपमा मार्च २०१९ मा ‘पाई नेटवर्क’ एप सार्वजनिक गरेका थिए ।

उनीहरूका अनुसार पाई नेटवर्क एक नयाँ सोसल क्रिप्टोकरेन्सी हो जसले स्मार्टफोनको सहायताले सजिलै माइनिङ गर्न वा पैसा कमाउन सकिने बताएका छन् । उसो त क्रिप्टोकरेन्सीमा लोकप्रिय रहेको बिटक्वाइनमा भने माइनिङ गर्न शक्तिशाली कम्प्युटर उपकरणसँगै धेरै ऊर्जासमेत खपत गर्नुपर्ने हुन्छ । तर पाई माइनिङ गर्दा भने आफूले प्रयोग गरिरहेको स्मार्टफोनबाटै दैनिक एक पटक माइनिङ गरे पुग्ने र त्यसबाट ब्याट्री, परफरमेन्स र मोबाइल डाटामा केही असर नगर्ने दाबी गरेका छन् ।

पाई नेटवर्क एपले कसरी काम गर्छ ?

पाई नेटवर्कको अनुसार यो एपबाट पाई समुदायमा योगदान दिए बापत पैसा कमाउन सकिने बताएको छ । जति सक्यो त्यति आफ्ना साथीहरूलाई यो नेटवर्कको लिंक पठाउँदै जाने र आफूले पाएको प्वाइन्ट सङ्कलन गर्दै जाने गर्नुपर्छ । आफ्नो नेटवर्कमा भएका साथीहरूले माइनिङ गरेको प्वाइन्टबाट आफूलाई पनि केही प्रतिशत आउने गर्छ । यसरी पैसा कमाउन हरेक २४ घण्टामा एक पटक अनिवार्य रूपमा यो एप खोल्नुपर्छ । यदि २४ घण्टामा यो एप खोलिएन भने आफूले कमाएको सबै रकम जान्छ ।

पाई माइनरहरुलाई मुख्यतः चार भागमा विभाजन गरिएको छ ।

पायोनियर: पहिलो चरणमा पाई प्रयोगकर्ताहरुले म रोबोट हैन भनेर पुष्टि गर्नुपर्दछ । दैनिक रूपमा उपस्थित छन् कि छैनन्, माइनिङ गरिरहेका छन् कि छैनन् भनेर मान्यता दिने आदि पायोनियर अथवा मार्गदर्शकबाट हुने गर्दछ ।

कन्ट्रीब्यूटर: यसमा पाई नेटवर्क एप प्रयोगकर्ता जसले अरू पायोनियर्सको लिस्ट पठाउन मद्दत गर्दछ । जसबाट पाईमाथि विश्वास र नेटवर्क बढाउन सहयोग गर्दछ ।

एम्बासडर: एम्बासडर भनेको पाई प्रयोगकर्ता मध्यकै एक हो, जसले अरूलाई इन्भाइट गर्छन् अथवा पाई नेटवर्कको बारेमा अरूलाई जानकारी दिने गर्छन् ।

नोड: नोड भनेको पायोनियर व्यक्ति हो, जसले मोबाइलको प्रयोग गरेर अथवा पाई नोड सफ्टवेयरबाट एल्गोरिथ्म चलाएर योगदानकर्ताहरूले पठाएको विवरण राख्न मद्दत गर्दछन् ।

पाई नेटवर्कले तंपाईको स्मार्टफोनको के के कुरामा एक्सेस गर्न सक्छ ?

स्मार्टफोनमा पाई नेटवर्क इन्स्टल गर्दा तंपाईलाई विभिन्न कुराको अनुमति माग्ने गर्दछ जुन कुरा तंपाईले स्वीकृति दिइसकेपछि मात्र अगाडी बढ्न सक्नुहुन्छ ।

प्ले स्टोरमा राखिएको अनुमति अनुसार पाई नेटवर्कले तंपाईको निम्न कुराहरू एक्सेस गर्न सक्छ:

•           फोन/कल स्ट्याटस पढ्न र जानकारी राख्नसक्छ

•           फोनमा रहेको कनट्याक्ट डिटेल पढ्न सक्छ

•           कल इन्फरमेसन पढ्न सक्छ

•           स्टोरेज हेर्न, मोडिफाई गर्न र डाटाहरू डिलिट गर्न सक्छ

•           तंपाईले इन्टरनेटमा सर्च गर्नुभएको सूचनाहरू लिन सक्छ

•           तंपाईको नेटवर्कको फुल एक्सेस लिन सक्छ, आदि ।

पाई नेटवर्कको प्राइभेसी पोलिसी अनुसार यी सूचना तथा डाटाहरू एप र सर्भिस सुधारमा प्रयोग गरिने बताइएता पनि गोपनीयताको हिसाबले जोखिमपूर्ण भने पक्कै छ ।

पाई नेटवर्क र अन्य करेन्सीबीच भिन्नता

पाई नेटवर्क एक किसिमको क्रिप्टोकरेन्सी हो । यसको पनि अरू क्रिप्टोकरेन्सीजस्तै भौतिक अस्तित्व भने रहँदैन ।

मुख्यतः अरू क्रिप्टोकरेन्सीहरु, जस्तै: बिटक्वाइन माइनिङ गर्दा कम्प्युटरको माध्यमबाट जटिल क्रिप्टोग्राफिक पजलहरू हल गरेर माइनरहरूले कारोबारलाई प्रमाणित मात्र गर्दैनन्, ब्लक चेन नामक सार्वजनिक खातामा त्यसको अभिलेख पनि राख्छन् । कुनै क्रिप्टोकरेन्सी जति लोकप्रिय बन्छ, त्यति नै धेरै मानिसहरूले त्यसलाई माइनिङ गर्न खोज्छन् र त्यो प्रक्रिया अझ कठिन बन्दै जान्छ ।तर पाईनेटवर्कमा भने आफूले प्रयोग गरिरहेको स्मार्टफोनको सहायताले दिनमा एकपटक माइनिङ गरे पुग्ने र माइनिङ गरिसकेपछि त्यसबाट पाउने इनामहरू दैनिक भुक्तानी गर्न सकिने र त्यसको लागि अरूजस्तो झन्झटिलो, गाह्रो नहुने र जसले पनि माइनिङ गर्न सक्ने दाबी गरेका छन् ।

यो कानुनसम्मत कि गैर कानूनी ?

क्रिप्टोकरेन्सीका केही सबल पक्ष हुँदाहुँदै पनि यसका केही चुनौति पनि छन्। क्रिप्टोकरेन्सीको कारोबार नियन्त्रण गर्ने कुनै निकाय नहुँदा यसको प्रयोग धेरैजसो गैर कानुनी काम जस्तै: कर छली, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी तथा ह्याकिङ गतिविधि भइरहेको छ । जसले गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर देखिन जान्छ । त्यसैले संसारका धेरै देशमा क्रिप्टोकरेन्सीको कारोबार गैर कानूनी मानिन्छ ।

नेपाल लगायत भारत, बङ्गलादेश, बोलिभिया, इक्वेडर, भियतनाम, किर्गिस्तान जस्ता मुलुकमा बिटक्वाइन लगायत सबै डिजिटल मुद्राहरू अवैध छन् । जोर्डन, थाइल्यान्ड र रुसजस्ता मुलुकले आंशिक स्वीकृति दिएको छ । अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, चिली, हङकङ, जापान, दक्षिण कोरिया, इजरायल, टर्की, दक्षिण अफ्रिका, मलेसिया, सिंगापुर, फिलिपिन्स, अस्ट्रेलिया, न्यूजिल्याण्ड तथा युरोपका सबैजसो मुलुकमा बिटक्वाइनलाई अनुमति एवं मान्यता दुवै प्राप्त छ ।

२०७४ मा नेपाल राष्ट्र बैङ्कले एक सूचनामार्फत नेपालमा क्रिप्टोकरेन्सीमा आधारित बिटक्वाइन कारोबार अवैध रहेको स्पष्ट पारिसकेको छ । त्यसै गरी बिटक्वाइन कारोबारमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरी उनीहरू सहित १० जना विरुद्ध कारबाही पनि गरेको थियो । तर पनि लुकिछिपी बिटक्वाइन कारोबार गर्नेहरू प्रशस्त छन् ।

राष्ट्र बैंककाे सूचना

पाई नेटवर्क पनि एक क्रिप्टोकरेन्सी नै भएकाले नेपालमा यसको कारोबार गैर कानुनी मानिन सक्छ । तर अहिले सम्म सम्बन्धित निकायबाट केही सूचना भने आइसकेको छैन ।

अन्तमा:

‘पाई नेटवर्क’ एउटा प्रोजेक्ट भएका कारणले गर्दा अहिले परीक्षण प्रक्रियामा नै छ । यो प्रोजेक्ट सफल हुनसक्छ या सक्दैन भन्ने ग्यारेन्टी भने पाई टिमले दिनसकेको छैन । तीन चरणमा परीक्षण गर्ने भनिएको पाई अहिले दोस्रो चरणको परीक्षणमा चलिरहेको छ । परीक्षण प्रक्रियामा नै भएको कारणले गर्दा यसको भ्यालु भने अहिले शून्य छ अथवा तंपाईले माइनिङ गरेको इनामको मूल्य अहिले शून्य रुपैयाँ बराबर छ ।

विश्व बिस्तारै क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) तिर ढल्किरहेको बेला यस्ता प्रकारका क्रिप्टोकरेन्सी आउनु खुसीको कुरा हो । तर, अरू क्रिप्टोकरेन्सीहरु, जस्तै: बिटक्वाइन माइनिङ गर्दा कम्प्युटरको माध्यमबाट जटिल क्रिप्टोग्राफिक पजलहरू हल गर्नु पर्ने र त्यसको लागि कम्प्युटर उपकरणसँगै धेरै ऊर्जा समेत खपत गर्नुपर्ने हुन्छ । त्यस्तो कठिन प्रक्रियाका क्रिप्टोकरेन्सी चलिरहेको बेला पाईले कसरी सजिलै माइनिङ गर्न सक्छ भन्ने कुरामा प्रश्न चिन्ह भने पक्कै लागेको छ ।

पाई नेटवर्क एपले प्रयोगकर्ताको मोबाइलको डिभाइस आइडी तथा कलको सूचना, स्टोरेज, वाई फाई कनेक्सन, सम्पर्क नम्बर, आदिमा सजिलै एक्सेस बनाई डाटाहरू लिन सक्छ ।

त्यति मात्र नभएर, फोन अन हुने बित्तिकै आफै चल्ने, भाइब्रेसनलाई नियन्त्रण गर्न सक्ने, अन्य एपहरू तान्न सक्नेदेखि फोनलाई स्लिप हुनबाट रोक्ने क्षमता समेत यसले राख्छ ।

व्यक्तिगत गोपनीयताको हिसाबले अलि जोखिमपूर्ण देखिएको यो एप प्रयोग गर्नु अघि जाँचबुझ गरी भेरिफाइ गरेर मात्र प्रयोग गर्न अनुरोध गर्दछु ।

सन्दर्भ सामग्रीहरू

https://socialchain.app/privacy

https://minepi.com/faq

https://play.google.com/store/apps/details?id=com.blockchainvault&hl=en

https://minepi.com/white-paper

@SumanKhdka

कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत कवि/लेखक खड्का सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्