Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

प्रदेश २ मा कृत्रिम तालको प्रस्ताव



जगदीशपुर ताल ।

यो कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १० कि.मी. उत्तर पश्चिममा सन् १९७० मा कृषिभूमिमा सिंचाई गर्न बनाइएको कृत्रिम जलाशय हो, जसको गहिराई ५-७ मी. देखि २-३ मि. सम्म हुने गर्छ । यो जलाशयमा  चुरे श्रृंखलाबाट बग्दै आएको, नजिकैको बाणगंगा नदीबाट पानी आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ ।

यो जलाशयको पानी अहिले सिंचाईको लागि मात्र प्रयोग भएको छैन, विभिन्न रैथाने पंक्षी र बसाईं सरेर आउने पंक्षीहरुका लागि समेत स्वर्ग मानिएको छ । १८ प्रजातिका स्तनधारी, ८ प्रजातिका सरीसृप, ४२ प्रजातिका रैथाने र बसाईं सरेर आउने पंक्षी र २५ प्रजातिका माछाहरुको आश्रयस्थल पनि बनेको छ (बराल तथा इन्स्किप, २००५) । त्यसैगरी, जलाशय र यसका वरिपरि पाइने वानस्पतिक विविधता पनि लोभलाग्दो छ । थुप्रै संकटापन्न र दुर्लभ पंक्षी तथा स्तनधारी जीवहरुका लागि संरक्षणस्थल बनेको छ, यस जलाशय र पंक्षी अवलोकनस्थलको रुपमा समेत देशविदेशमा यसको ख्याति बढ्दै गईरहेको छ ।

अहिले यसको व्यवस्थापन स्थानीय समुदायबाट गठित जलाशय व्यवस्थापन समिति मार्फत् भईराखेको छ । समितिले जलाशयलाई व्यावसायिक माछापालनका लागि भाडामा लगाएको छ । जलाशयको दक्षिण-पश्चिमी कुनामा डुँगा चलाएर आमोदप्रमोदजन्य क्रियाकलापहरु पनि संचालन गरिएका छन् । आवश्यक मापदण्डहरु पूरा भएपछि सन् २००३ मा यस जगदीशपुर जलाशयलाई अन्तरराष्ट्रिय सीमसार क्षेत्रको सुचीमा समावेश गरियो । पंक्षी अवलोकनका लागि अहिले यो नेपालकै प्रसिद्ध गन्तव्यस्थल बनेको छ भने जलाशय वरपरको स्थानमा पर्यटकीय गतिविधिहरुको पनि वृद्धि हुँदै गईराखेको छ । अहिले जगदीशपुर जलाशयको परिचय सिंचाई प्रणालीको रुपमा भन्दा पनि जैविक विविधता संरक्षणस्थलको रुपमा स्थापित भएको छ ।

नेपालमा प्राकृतिक रुपमा बनेका थुप्रै पोखरी तलाउ, तालहरु भए पनि मानव निर्मित जलाशयहरु भने त्यति छैनन् । विशेष गरी जलविद्युत तथा सिचाई आयोजनाहरु बन्न थाले पछि नेपालमा मानव निर्मित जलाशयहरुको संख्यामा वृद्धि हुँदै गईराखेको छ । कुलेखानीको इन्द्रसरोवरलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ, जुन जलाशयको मुख्य प्रयोजन जलविद्युत उत्पादन भए पनि हालका दिनहरुमा पर्यटकीय गन्तव्यका रुपमा पनि विकसित हुँदै गईराखेको छ ।

जगदीशपुर जलाशयबाट वरपरका बासिन्दाहरुले प्रशस्त आर्थिक लाभ लिन सकेका छन् । यसबाट वरपरको लगभग ६,२०० हेक्टर जमीनमा सिंचाई भएको छ । माछापालन र कृषिमा पुर्‍याउने टेवाका अलावा जलाशय वरपरका सीमसार क्षेत्रमा पानीको सतह कायम गर्न, नुहाउने, सरसफाई लगायतका प्रयोजनका लागि पानीको आपूर्ति गर्न, सीमसारजन्य विभिन्न उत्पादनमा, पिकनिक, जलक्रिडा लगायतका पर्यटकीय गतिविधिको वृद्धिमा, प्राकृतिक सौन्दर्य बढाउनमा उल्लेख्य भूमिका खेलेको छ ।

हामीले पूर्व-पश्चिम राजमार्ग हुँदै पूर्वी तराईतिर यात्रा गर्ने हो भने मोरङ पुगेपछि राजमार्गको आसपासमा बेतना सीमसार क्षेत्र तथा झापाको जामुनखाडीमा स-साना तलाउहरु बनाएर आन्तरिक पर्यटकीय गतिविधिहरुलाई प्रवर्धन गरेको पाउँछौं । इटहरीको तालतलैया क्षेत्र पनि पूर्वी तराईको एक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गईराखेको छ । चितवनको बीसहजारी ताल तथा सुदूर पश्चिमतिर लाग्दा कैलालीमा राजमार्गकै आसपास भेटिने घोडाघोडी ताल तथा पूर्व-पश्चिम राजमार्ग देखि केही उत्तरमा पर्ने बाराको हलखोरिया दह, सिरहा, सप्तरीका कमल दहहरु पनि यस्ता संभावना बोकेको स्थानहरु हुन् ।

यस लेखमा भने मूख्य गरी प्रदेश २ मा बनाउन प्रस्ताव गरिएका जलाशय वा कृत्रिम तालहरुको बारेमा चर्चा गरिनेछ । हुनत प्रदेश २ मा पर्ने पर्सा, बारा देखि लिएर धनुषा, महोत्तरी, सप्तरी लगायतका जिल्लामा सयौंको संख्यामा साना-ठूला तलाउ, पोखरीहरु पाइन्छन् । ती पोखरीहरु स्थानीय स्तरमा माछा पाल्ने, सिंचाई, पशुपालन वा अन्य घरायसी प्रयोजनका लागि उपयोग हुँदै आएका छन् । विशेष गरी धनुषामा रहेका कतिपय पोखरीहरुले धार्मिक महत्व समेत बोकेको हुँदा तिनीहरुलाई धार्मिक पर्यटनको प्रवर्धनमा पनि उपयोग गर्न सकिन्छ भने कतिपय बस्ती, बजार छेउ रहेका पोखरीहरुको संरक्षण र सम्वर्धन गर्ने हो भने ती पोखरीहरुले ती बस्ती, बजार प्रतिको आकर्षणलाई पनि थप बढाइदिनेछन् ।

पूर्वमा नेपालकै ठूलो नदी कोशी सीमाना भएको प्रदेश २ जलस्रोतमा अन्य प्रदेश भन्दा तुलनात्मक रुपमा कमजोर छ । यस प्रदेशमा पर्ने मूख्य नदीहरु कोशी नदीका अतिरिक्त बागमती, कमला र त्रिजुगा हुन् । कोशी नदी बाहेकका अन्य कुनै पनि नदीहरु हिमालबाट उत्पत्ति भएका नदी होइनन् । यस बाहेकका अन्य खोला, नदीहरु चुरे श्रृंखलाबाट उत्पन्न भएका छन् । पर्साका सिर्सिया, ओरिया, तिलावे, सिक्टा, बाराका लालबकैया, पसाहा, अरुवा, जमुनी, दुधौरा, रौतहटका अरुवा, झाँझ, पौरही, चाँदी, हर्दिया, धन्सार, सर्लाहीका लखनदेही, फुलजोर, कालिन्जोर, मनुस्मारा, हरिवन, महोत्तरीका रातु, बाँके, मरहा, जंघा, धनुषाका रातु, चारनाथ, औरही, जलाद, सेलार, सिरहाका घुर्मी, बलान, मैनावती, खुट्टी, गागन, सर्रे, बतहा, सहजा तथा सप्तरीका खाँडो, सुन्दरी, महुली, बलान लगायतका खोलाहरु प्राय: खहरे खोला प्रकृतिका छन् । चुरे क्षेत्रमा बढेको वातावरणीय ह्रास, पानीको अवशोषण गर्ने कमजोर क्षमता लगायतका कारणले गर्दा वर्षायाममा परेको अधिकांश पानी यी खोलाहरु हुँदै बगेर दक्षिणतर्फ लाग्छ र यी खहरे प्रकृतिका चुरेक्षेत्रको भिरालोमा तीव्र गतिका साथ बगेर  ठूलो मात्रामा थिग्रानहरु ओसार्ने तथा खोला आसपासमा पर्ने तराईका भूभागहरुमा ठूलो मात्रा कटान गर्ने, डुबानमा पार्ने समस्याहरु निम्त्याउने गरेको पाइन्छ । पानी आफैंमा समस्या होइन, तर यसको सदुपयोग र व्यवस्थापन गर्न नसकिएमा यो अभिशाप पनि बन्न सक्छ । तराईका यी थुप्रै खोलाहरु त्यस वरपरका बासिन्दाका लागि अभिशाप बन्न पुगेको छ । यी खोलाहरुले आसपासका सयौं हेक्टर जमीनलाई कटान गरेर बगर बनाउने, वर्षेनी बहावमार्ग परिवर्तन गर्ने गर्दा सयौं, हजारौं हेक्टर जमीन बगरमा परिवर्तित भईराखेको छ ।

संसारमा कैयन् यस्ता मुलुक छन्, जहाँ हाम्रो देशमा भन्दा निकै कम पानी पर्ने गर्छ भने कतिपय देश हामी जस्तै छोटो समयमा हुने अत्यधिक वर्षाका कारण बाढीको प्रकोपबाट पीडित छन् । कतिपय सुख्खाग्रस्त देशहरुले वर्षाको छोटो समयमा हुने वर्षाको पानीलाई पोखरी, जलाशयको निर्माण लगायत विभिन्न उपायहरु मार्फत् संकलन गरेर उपयोग गर्ने विधिहरु अपनाएको पाइन्छ । चीनको राजधानी  बेजिङमा कम पानी पर्ने तथा वरिपरि पनि कुनै ठूला नदीहरु नभएका कारण राजधानी देखि केही परको स्थानहरुमा स-साना खोला तथा वर्षाको पानी संकलन गर्न मियुन, ह्वाईरउ जस्ता विशाल जलाशयहरु बनाएको छ र त्यहाँ संकलित पानीको आवश्यक प्रशोधन पश्चात् शहरमा खानेपानी तथा अन्य प्रयोजनका लागि वितरण गरिएको छ ।

यस हप्ता नेपालभरि अत्यधिक वर्षा भयो । अरबौं लिटर वर्षाको पानी हाम्रा खोला, नदीहरुबाट त्यत्तिकै बगेर गयो । हामीले त्यसको ०.१ प्रतिशत पनि उपयोग गर्न सकेनौं, बरु यसले तराईका थुप्रै जिल्लामा डुबानमा पार्‍यो । चीनका याङत्जे, ह्वाङहो लगायतका नदीमा यस्ता ठूला बाढीहरु आउने गर्छ, तर चीनले वर्षाको यस्तो बाढीको पानीलाई उपयोग गर्ने कैयौं शताब्दी लगाएर विभिन्न विधिहरुको विकास गरेको रहेछ । त्यस मध्येको एक विधि भनेको नदी आसपासका क्षेत्रमा विशाल विशाल तलाउहरु बनाउने र वर्षायामको बाढीको पानीले ती तलाउहरु भर्ने । अनि ती तलाउहरुमा भरिएको पानीलाई वर्षैभरि सिंचाई, माछापालन लगायतका प्रयोजनहरुमा उपयोग गर्ने गरिंदो रहेछ ।

हामीले वर्षाको पानीलाई उपयोग गर्ने बारेमा त्यति सोच्न सकेका छौं जस्तो लाग्दैन । भलै, कुलेखानी जलाशयमा भने वर्षायाममा वरपरका खोलाबाट बगेर आएको यस्तै पानीलाई संकलन गरेर जलविद्युत उत्पादन गरिएको छ । वास्तवमा, बाणगंगा नदीको पानीलाई जगदीशपुर जलाशयमा तथा जलाधार क्षेत्रका साना-ठूला खोलाको पानी कुलेखानी जलाशयमा संकलन गरिए जस्तै प्रदेश २ का माथि उल्लेखित थुप्रै खोलाहरुबाट बग्ने वर्षायामको पानीलाई पनि खोला आसपासका उपयुक्त स्थानहरुमा कृत्रिम तलाउहरु बनाएर संकलन गर्न सकिन्छ ।

राष्ट्रपति चुरे मधेश विकास तथा संरक्षण कार्यक्रमले पनि चुरे क्षेत्रको फेदीमा स-साना पोखरीहरु बनाएर संरक्षणमा टेवा पुर्‍याउने कार्यक्रमहरु संचालन गर्दै आएको छ । यी कार्यक्रमहरुले स्थानीय स्तरमा वातावरण संरक्षण गर्ने पक्कै योगदान दिएका होलान्, तर प्रदेश २ सरकारले यस प्रदेशमा भएका खोलाबाट वर्षामा बगेर जाने ठूलो मात्राको पानीको संरक्षण र उपयोग गर्न ठूल्ठूला कृत्रिम तलाउहरु बनाउने बृहत कार्यक्रमहरु अगाडि सार्न सक्छ ।

यसका लागि प्रदेश सरकारले उपयुक्त स्थानहरुमा तलाउहरु निर्माण गर्नका लागि संभाव्यता अध्ययन गराउन सक्छ । तलाउहरु बनाउनका लागि त्यहाँको भूबनौट, माटोको किसिम र प्रकृति, वरपरको वानस्पतिक अवस्था, बस्ती, भूउपयोग, जग्गाको स्वामित्व जस्ता कैयन कुराहरुमा विचार पुर्‍याउनु पर्ने हुन्छ । तलाउहरु बनाउँदा भविष्यका लागि बहुउदेश्यीय प्रयोजनका लागि उपयोग गर्न सकिने पक्षलाई जोड दिंदा झन् राम्रो हुन्छ । तलाउको साइज र गहिराई, त्यहाँको भू-अवस्थिति, उपलब्ध जग्गा, नजिकको खोलाबाट वर्षायाम वा अन्य समय हुन सक्ने पानीको आपूर्ति जस्ता पक्षहरुमा विचार गरेर निर्धारण गर्न सकिन्छ । जगदीशपुर जलाशयमा जस्तै सिंचाई वा माछापालन प्रयोजनका लागि उपयोग गर्ने बारेमा पनि सोच्न सकियो । संसारमा विभिन्न प्रकृति र उद्देश्यका थुप्रै कृत्रिम तलाउहरु बनाइएका छन् र त्यसबाट समेत सिकेर प्रदेश २ मा बनाइने यस्ता तलाउका लागि पनि उपयुक्त डिजाइन र व्यवस्थापनका विधिहरु तय गर्न सकिन्छ ।

यसरी बनाइने कृत्रिम तालहरुले बाढीको पानीको व्यवस्थापन गर्न, सिंचाई सुविधा बढाउन, माछापालन गर्न मात्र सहयोग गर्ने छैनन्, आकर्षक पर्यटकीय गन्तव्य र जैविक विविधता संरक्षणस्थलको रुपमा समेत विकसित हुन सक्नेछन् । यी तलाउहरु तराईको माथिल्लो भेग वा चुरे फेदीको आसपास बनाइने हुनाले तराई, मधेशको भूमिगत पानीको पुनर्भरणमा समेत उल्लेख्य योगदान दिन सक्नेछ । दोस्रो चरणमा यी तलाउहरुलाई एक आपसमा जोड्ने योजना बनाउन सकिन्छ र तलाउहरुमा बागमती नहर, प्रस्तावित सुनसरी-मरिन तथा सुनसरी-कमला डाइभर्सनका सिंचाई प्रणालीहरुसँग समेत जोडेर नियमित पानी आपूर्ति र बहावको सञ्जाल बनाउन सकिन्छ ।

जलाशय वरपरका क्षेत्रमा वृहत रुपमा वृक्षारोपण गर्दै जैविक विविधता संरक्षणमा पनि टेवा पुर्‍याउन सकिन्छ । के बेर, कुनै दिन जगदीशपुर जलाशय, कोशी टप्पु तथा सुनसरीको बार्जु ताल जस्तै यी प्रस्तावित तलाउहरु पनि बसाईं सरेर आउने पंक्षीहरुका लागि समेत आकर्षक गन्तव्य पो बन्नेछन् कि?

हाम्रा धेरैजसो आयोजनाहरु क्षणिक प्रकृति र लाभबाट प्रेरित भएका छन्, तर देशलाई वा देशको कुनै भागको कायापलट गर्न, दशकौं वा शताब्दीयौंसम्म सम्झन सकिने आयोजनाहरु पनि कार्यान्वयन गर्नु पर्ने हुन्छ । यस्तै, एक महत्वाकांक्षी पूर्व-पश्चिम बहुउदेश्यीय नहर प्रस्तावनाको अवधारणा सम्बन्धी लेख केही समय अगाडि एक राष्ट्रिय दैनिक पत्रिकामा छापिएको थियो (नयाँ पत्रिका दैनिक, २०७७, असार २१) । पूर्व-पश्चिम बहुउदेश्यीय नहर प्रस्तावनाको कार्यान्वयन हाम्रो अहिलेको सीमित स्रोतसाधनको उपलब्धतामा तत्कालका लागि अलिक महत्वाकांक्षी नै ठहर्ला, तर माथि भनिए जस्ता एक-दुई वटा कृत्रिम तलाउ निर्माणको प्रस्तावना भने प्रदेश सरकारले प्रादेशिक गौरव आयोजनाको रुपमा अगाडि बढाउन सक्नेछ । यी तलाउहरुलाई दोस्रो चरणमा एक आपसमा जोड्ने सञ्जाल बनाउँदा केही जलविद्युत उत्पादन गर्न सकिने संभावना समेत रहन्छ ।

प्रदेश २ सरकारले यस सम्बन्धी दीर्घकालीन खाका तयार पारी माथिल्लो भेगतिर यसरी चुरेबाट बगेर आउने खोलाको बाढीको पानी उपयोग हुने गरी कृत्रिम ताल निर्माणको कार्यक्रमलाई कार्यान्वयन गर्ने हो भने यसले प्रदेश २ को आर्थिक विकास र पर्यावरणीय सुधारमा समेत दूरगामी प्रभाव पार्न सक्नेछ ।

के हाम्रो प्रदेश २ सरकार यसका लागि तयार होला त?

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्