Logo

कविताः चिनारी पत्र



Spread the love

राजु झल्लु प्रसाद

 

विद्यालयको झ्याल बाहिर

एउटा भोको बालक अंगारले

भित्तामा ‘भ’ माने भात लेखिरहेछ ।

क्याफेटेरीयामा अर्को बालक,

बर्गर लुछ्दै, ‘बि’ फर बम पढिरहेछ ।

हेर्नोस् न सर !

यसरी शिक्षालयको गर्भबाटै

दुइ फरक विचारहरु जन्मिरहेछन् यहाँ ।

एउटा बालकको जिब्रो नेपाली बोलेकै कारण अपाङ्ग ठहरिन्छ ।

र, जब उसलाई सुनेर खित्का छाड्छन अङ्ग्रेजी  कानहरु,

तब मातृभाषाकै कारण शौचालयको सिलिङमा मृत भेटिन्छ-

देशको भविष्य मानिएको ऊ ।

हेर्नोस् न सर !

यसरी मौलिकता मेटेर कुरुप बौद्धिकता मौलाइरहेको छ यहाँ ।

सर, मलाई

देश पढ्न पठाएका हुन बाले !

सभ्यता पढ्न पठाएकी हुन आमाले !

युग पढ्नु पर्छ बाबु भन्थे बाजे !

र, बज्यै भन्थिन् संस्कार सिकेस् नानी !

तर सर,

जब हजुर आफ्नो खल्तीमा पि.आर. राखेर,

भानुभक्त पढाउन थाल्नुहुन्छ,

बुद्ध पढाउन थाल्नुहुन्छ,

सगरमाथा पढाउन थाल्नुहुन्छ,

देश पढाउन थाल्नु हुन्छ,

विध्या.. नास मलाई विध्या…ल..य फिटिक्कै मन पर्दैन ।

 

दोबाटोमा पुगेर पनि बाटो टुङ्गिन सक्छ भनेर

किन पढाउनु हुन्न हजुर ?

गन्तव्यमै पुगेर पनि गन्तव्य नभेटिन सक्छ भनेर

किन सिकाउनुहुन्न हजुर ?

किन मेरा बा देश छाडेर परदेशीए ?

किन मेरा काकाले कलम भाचेर बन्दुक समाए ?

किन मेरा दाजु देशको लागि २ मिटर कात्रो जोगाउन लापता भए ?

किन मेरी बहिनी कुनै अपरिचित लोग्ने मान्छे देख्दा तर्सिन्छे ?

यस्ता प्रश्नका जवाफ किन लेखाउनु हुन्न तपाईं ?

सपना जिउन शहर छिरेकी फुलमाया दिदिको

चुडिएको चप्पल मात्र किन फर्कियो गाउँ ?

कसले जफत गर्यो बिरामी आमा बोकेर

अस्पताल दौडिएको छोराको थाप्लोबाट नाम्लो ?

कसरी लाटोकोसेरोहरुको रातमा,

परेवाहरु  बाजमा रुपान्तरण भए ?

कसरी देश लेखीरहेका कविहरु

एकाएक देश बिहिन भए ?

किन आफ्नै माटोको गर्भाशय

भोक रोग र अनिकालको घर बनेको छ ?

किन जागिरको खोजी गर्नु नै जागिर बनेको छ हामी युवाहरुको ?

किन फोहरको कन्टेनरमा भेटिन्छन्

प्रेमका निसानीहरु ?

किन फुल्न सुरक्षित महसुस गर्दैनन् कोपिलाहरु ?

धेरै समय देखी धेरै यस्ता प्रश्नहरु

अनुत्तरित छन् – मेरो मस्तिष्कमा ।

आदरणीय सर !

भन्छन्,

हजुर हामी युवाहरुको भविष्य बताउन सक्नुहुन्छ रे ।

मेरो पनि एउटा बिन्ती छ सर,

कृपया सुनिदिनुहोला !

हाम्रो भाग्य लेखिएको शैक्षिक प्रमाणपत्रमा,

सुरक्षित भोली र भात लेखिएको छ कि छैन ?

बताइदिनुस् न !!!

०००

हेर्नुहोस् ALOUD OFFICIAL द्वारा खिचिएको कविताको भिडियो प्रस्तुतीः

https://www.youtube.com/watch?v=xpVDyXtPcPU

(नयाँ दिल्ली, भारतमा जन्मिएका राजु झल्लु प्रसाद हाल रानीवन, काठमाडौ बसोबास गर्दछन् । विशेषत: कथा र कविता लेख्ने उनी हाल पत्रकारीता पेशामा आबद्द छन् ।)

प्रतिक्रिया दिनुहोस्