Logo

कथाः बसको यात्रा



Spread the love

अशोक शुक्ल
आहा ! क्या जिउँडाल थियो । क्या चाल थियो । चार कदम हिँडेपछि कस्तो गजबको झट्काका साथ अडिन्थ्यो भने ! ठाउँ ठाउँमा उभिएर कुर्नेहरुको मुटुमा बाण चल्थे । सयौं दिवानाहरु घेर्न आइपुग्थे । उसको अघिपछि– दौडिदै । ठूलो हल्ला खल्ला हुन्थ्यो– ऊ आयो ! आइपुग्यो । ऊ हेर्नु–हेर्नु ! ऊ आइसक्यो ! अनि कति सोझो छ ऊ ! बीच सडकमा हात समातेर रोके पनि केही भन्दैन । वाह ! वाह ! क्या माल थियो ।

त्यो ‘यूपी रोडवेज’को बस थियो ।

आय हाय ! क्या जिउँडाल थियो । क्या चाल थियो । क्या शान थियो । मानौं सिङ्गो सरकार थियो ।

ठ्याक्कै सरकारको जस्तो स्वभाव । पहिला ‘लेट’ भयो । त्यसमाथि ‘ओभरलोड’ भयो । कन्डक्टरले हिँड्नका लागि सिटी बजाएपछि ड्राइभर बसमा यसरी उक्लियो मानौं सगरमाथा उक्लिएको होस् । त्यसपछि उसले पछाडि फर्केर यात्रुहरुको– खासगरि महिला यात्रुहरुको विशेष निरीक्षण गर्यो र बस स्टार्ट गर्ने मनोकामनाकासाथ धेरै पार्टपूर्जा हिलायो-चलायो । तर बस भने सरकारझैं टसमस भएन, थोरै पनि हल्लिएन ।

यसपछि बल्ल कन्डक्टर एक्शनमा आयो । वाह ! क्या कन्डक्टर थियो भने ! के कुरा गर्नु  ? जबजब म उसलाई सम्झिन्छु उसको प्रशंसामा मेरो मन गद्गद् हुन्छ । परम आनन्दको अनुभूति गर्छु म । उसले एकै पटकमा थुप्रै काम गरेको थियो ।

सबैभन्दा पहिला उसले सबै यात्रुहरुलाई आफ्नो कठोर नियन्त्रणमा लियो र उनीहरुलाई बस धकेल्न लगायो । कति अलौकिक दृश्य थियो त्यो ! सहकारिताको कस्तो अनौठो नमूना थियो त्यो । साना ठूला, धनी गरिब, नर नारी सबैले थला परेको बसलाई धकेलिरहेका थिए एकसाथ । एकता छछल्कँदो थियो । गोरागोरा मेहन्दी लागेका सुकोमल हातले कति प्रेमपूर्वक बस धकेलिरहेका थिए भने । मानौं कुनै प्रियतमाले आफ्नो प्रेमीको कुनै ठट्टाबाट अतिशय खुशी भएर प्रेमपूर्वक, ‘छ्या ! तपाइँ त कस्तो लाज नभएको !’ भन्दै प्रेमीलाई पर धकेलिरहेकी होस् । त्यो बेला सबैको मनमा एउटै विचार जन्मेको थियो– म बस भइदिएको भए ! (ती गोरा हल्केलाबाट प्रेमपूर्वक धकेली माग्थें ।)

श्रृङ्गार रसको यो काल्पनिक चर्चालाई यही छोडेर म तपाइँहरुको ध्यान पुनः बस धकेल्दा जन्मिएको सहकारितातिर लैजान चाहन्छु । त्यस दिन मलाई पूर्ण विश्वास भयो कि जबसम्म यसरी नै रेलगाडी पनि धकेलेर स्टार्ट गरिदैनन्, यस देशमा सहकारिता आन्दोलनले उँचाई लिन सक्दैन !

बस हिँड्यो । ओभरलोड थियो, त्यसैले बस चालमा आउनबित्तिकै थुप्रै समस्याहरु पनि उम्रिए । ठ्याक्कै काङ्ग्रेस विभाजनको बेलाजस्तो । जो मान्छे पहिला उभिएका थिए उनीहरु अहिले सीटमा विराजमान भएका थिए । साह्रै अव्यवस्था थियो, हल्लाखोर, बबाल मच्चिएको थियो बसभित्र । झगडा बढ्दै गएका थिए । मारपिटका सम्भावनाहरु धेरै ‘उज्जवल’ थिए । स्थिति यतिसम्म भयावह भयो कि सरकार हुन्थ्यो भने त अश्रु ग्याँस र गोली नै चल्ने थियो तर यत्तिकैमा हाम्रो कन्डक्टरले माननीय गृहमन्त्रीको भूमिका सम्हाल्यो ।

सबैभन्दा पहिला उसले अपराधी र निरपराधी– दुवैलाई बेसरी झपार्यो । यस्तो लाग्यो मानौं गृहमन्त्री रेडियोमा गर्जिदै थिए । त्यसपछि उसले कसैलाई उठायो, कसैलाई बसायो । एक जनालाई बसबाट ओरालिदिन्छु भनी धम्की पनि दियो । मानौं कुनै मन्त्रीलाई मन्त्रीपरिषदबाट बर्खास्त गर्ने धम्की दिइएको होस् । अन्ततः बसभित्रको व्यवस्था कुनै अपमानित महिलाझैं चुपचाप फर्कियो । स्थिति गुजरातको जस्तो ‘नर्मल’ भइदियो ।

त्यसपछि हो म कन्डक्टरबाट प्रभावित हुन थालेको । आफूलाई सहकारिता आन्दोलनको कर्मठ कार्यकर्ताको रुपमा प्रमाणित गरिसकेपछि जुन कठोरताका साथ उसले गृहमन्त्रालयको काम सम्हालेको थियो, त्यो कुरा सराहनीय मात्र थिएन, दर्शनीय पनि थियो । अनि के थियो…अचम्भ नै भयो । गृह मन्त्रालयको काम पूरा भएलगत्तै बिचरो कन्डक्टरलाई अर्को एउटा विभाग हेर्नु पर्ने जिम्मा आइलाग्यो । त्यो थियो– ‘कानून मन्त्रालय’ ।

एक जना मेडमजी कुनै सज्जनको खाली सिटमा ठाँटका साथ विराजमान हुनुभएको थियो । उहाँ यति स्वस्थ हुनुहुन्थ्यो कि बाँकी दुईसिटमा सँगै बसेका लोग्ने मान्छेहरु बेसरी कुल्चिएका थिए । मरता क्या न करता ! सबैले मिलेर प्राणघातक अपराधको विरुद्ध याचिका दायर गरे ।

कन्डक्टरले घटनास्थलमा पुगेर चेकजाँच गर्यो । आरोप सही प्रमाणित भयो । अनि पो कन्डक्टर ठूलो धर्मसंकटमा पर्यो । एकातिर महिला विरुद्धको प्रबल जनमत, अर्कोतिर नारीमात्रका लागि पक्षपात गर्ने उसको पुरानो बानी ! गरोस् त अब के गरोस् ?

त्यही भयो, जुन युगौं युगदेखि हुँदै आएको छ । कन्डक्टरले कर्तव्यको बलीवेदीमा आफ्ना सुकोमल भावनाहरुको बली दिनुपर्यो । उसले मुटुमाथि ढुङ्गा राखेर नै निर्णय दियो कि ती महिलाले सिट खाली गरिदिनुपर्छ । तर उहाँ परम्परागत महिला हुनुहुन्थेन, उहाँ शीतयुद्ध गर्न तम्सिनुभयो र आक्रोशित हुँदै भन्नुभयो,“कसैको बाऊले मलाई यस सिटबाट उठाउँन सक्दैन ।”

उहाँको दाबी सत्प्रतिशत सत्य थियो । कसैको बाऊले उठाउन सक्दैन्थ्यो उहाँलाई । बस्, भारउत्तोलनको ‘हेबीवेट च्याम्पियन’ले मात्रै उहाँलाई उठाउन सक्थ्यो । कन्डक्टर तत्काल कर्मठ गान्धीवादी बनिदियो । उसले बस सडकको छेऊमा रोकायो र घोषणा गर्यो– “जब सम्म उहाँले (महिलाले) सिट खाली गर्नुहुन्न, बस अगाडि बढ्ने छैन ।”

त्यसपछि थुप्रै मध्यस्थकर्ताहरु सम्झौता गराउन अगाडि बढे । यी शान्ति प्रस्तावकहरुमध्ये अधिकांश ती महानुभावहरु थिए, जो सुन्दरी युवती वा महिलाहरूका छेऊछाऊ बसेका थिए । अन्तमा कन्डक्टरको नैतिक जित भयो र महिलाले सिट खाली गरिदिनुपर्यो । यद्यपि कन्डक्टरले जब उहाँलाई ससम्मान आफ्नो सिट अफर गर्यो अनि मात्रै उहाँले सिट खाली गर्नुभएको थियो, जसलाई उहाँले निःसंकोच स्वीकार गर्नुभएको थियो ।

(नोटः भारतमा सरकारी रोडवेजका बसमा कन्डक्टरका लागि छुट्टै सिटको व्यवस्था हुन्छ– अनुवादक)

केहि समयपछि पहिलो स्टप आयो । बसको इन्जन कुनै हाकिमको दिमागझैं तात्तिएको थियो । त्यसलाई शान्त पार्नका लागि चिसो पानी हालियो । यस्तो लाग्यो, मानौं कुनै नब्बे वर्षको मन्त्रीलाई अक्सिजन दिइदैं छ ।

कन्डक्टर कुद्दै गरेको गाडीबाट हाम फालेर आत्मीयतापूर्वक कुनै नजिकको दुकानमा पसेको थियो । उसले चिया पसलेलाई पत्रिका दियो, पानवालालाई उसको काकाको चिठी दियो अनि बदम बेच्ने साहुलाई बजारमा बदमको दाम बढ्न लागेको खबर सुनायो । अब यी कुराहरु त एउटा अन्धाले पनि थाहा पाउन सक्छ कि कन्डक्टरका यी काम मूलतः सूचना मन्त्रालयका हुन् । तपाइँहरुलाई सम्झना होला नै– यसपूर्व हाम्रो प्यारो कन्डक्टरले ठप्प अडिएको गाडी धकेल्न लगाएर सहकारी मन्त्री, शान्ति र व्यवस्था कायम गरेर गृह मन्त्री अनि निष्पक्ष निर्णय दिएर कानून मन्त्रीको काम निःस्वार्थ भावले पूरा गरिसकेको छ । विस्तारै गुडिरहेको बस भएपनि आखिरकार यातायात मन्त्रालयको काम त झन् सम्भालिरहेकै छ ।

यो ठाउँमा बसमा कागती लादियो । बस झनै लच्कियो । जब उसलाई रिसाएकी श्रीमतीलाई चिमोटेर बोल्न बाध्य पारेझैं धक्का दिइयो, अनि गुर्राउँदै हिँड्यो । बस हिँडेलगतै कागतीको ढुवानीको विषयमा आत्मीय झगडाको शुरुआत पनि भइदियो । यो झगडा कागती साहू र कन्डक्टरबिच थियो । मुख्य सिद्धान्तमा दुवैको एकमत थियो कि ढुवानी भाडा सरकारले निर्धारण गरेको दररेटमा न लिइने छ न दिइने छ । दुवै पक्षसँग आ–आफ्ना सबूत प्रमाण थिए । व्यापारीको जिकिर थियो कि उसले कहिले र कुनकुन बसबाट यो भन्दा पनि बढी माल झनै कम दाममा ढुवानी गराएको थियो । उसले कन्डक्टरलाई पूर्ववर्ती कन्डक्टरबाट प्रेरणा लिनका लागि प्रेरित गरिरहेको थियो । कन्डक्टरले पनि यस्ता उदाहरण दिदै थियो जसमा उसले योभन्दा पनि कम माल धेरै बढी दाम लिएर दुवानी गरेको थियो । दुवै पक्षले बिचबिचमा विपक्षीप्रति सहज प्रेम पनि प्रकट गरिरहेकै थिए । व्यापारीले भन्थ्यो, “तपाइँ आफ्नै मान्छे, त्यसैले यति दिइरहेको छु । नत्र रेट त यो भन्दा पनि कम्ति हो ।” कन्डक्टरको पनि आफ्नै दावी थियो कि त्यो व्यापारी सँधै यात्रा गर्ने मान्छे हो, त्यही भएर कम्ती दाममा मानिरहेको छ ।

त्यसपछि उनीहरुले डा. किसिञ्जरलाई पनि मात दिने खालको गोप्य सम्झौंता गरे । हामीले थाहा पाएर पनि यो कुुरा बुझ्न सकेनौं । व्यापारीले सम्झौता अन्तर्गत कन्डक्टरलाई नगदबाहेक तीसवटा कागती पनि दियो ।

एक पटक सोच्नुहोस् त, पहिलादेखि नै मुद्रा प्रसार बढी छ । सबै चिच्याइरहेका छन्– ‘मुद्रा प्रसार कम गर ।’ यस्तो अवस्थामा यदि कन्डक्टरले तीस वटा कागती नलिएर नगद नै लिएको भए के हन्थ्यो । बाध्य भएर सरकारले थप नोट छाप्नु पथ्र्यो । मुद्रामा अनावश्यक दबाव पर्ने थियो । निश्चय पनि यतिबेला कन्डक्टरले अर्थ मन्त्रालयको अवैतनिक सल्लाहकारको रुपमा काम गरिरहेको थियो ।

अर्को स्टपमा पनि पहिलो स्टपमाझैं चिठी बाँडिए, हल्लाहरु चले । चियापसलको बेञ्चमा बसेर कन्डक्टरले हिसाब लगायो । ड्राइभरलाई ईमान्दारीपूर्वक उसको हिस्सा दियो । खलासीलाई थप बीस रुपैयाँ ईनामस्वरुप दियो । बस लामो समयसम्म रोकिएपछि थुप्रै यात्रुहरु ओर्लिए, प्रायः सबैले चिया खाए । चियावालाको बिक्री बढ्यो जसलाई उसले चियाको स्तर घटाएर सन्तुलित ग¥यो ।

तपाइँले विचार गर्नुभयो, यो सब के भइरहेको थियो ? हाम्रो प्रीय कन्डक्टरले प्रत्यक्षरुपमा आफ्नो, ड्राइभरको तथा खलासीको र अप्रत्यक्षरुपमा चियाचमेनावालाको आमदानी बढाएको थियो । उसले स्पष्टरुपमा गरिबी निवारण गरिरहेको थियो । उसले प्रधानमन्त्रीको काम गरिरहेको थियो । जुन काम उसले यश प्राप्ति बिना नै गरिरहेको थियो ।

बस रातभरि जागा बसेकी अभिसारिकाझैं (प्रियतमा) फेरि निदाइसकेको थियो । यात्रुहरू उसलाई जिस्काउँदै थिए, चिमोट्दै थिए । उसलाई स्टार्ट गर्नका लागि फेरि फकाइरहेको थिए । म टाढा उभिएर हेरिहेको थिएँ र कन्डक्टरको कर्मठतामा मुग्ध भइरहेको थिएँ । कस्तो अद्भुत व्यक्तित्व थियो उसको ! मैले हेर्दा हेदै उसले सहकारी, गृह, कानून, यातायात, सूचना तथा सञ्चार, अर्थ तथा प्रधानमन्त्रीको काम दक्षतापूर्वक पूरा गरेर देखाएको थियो ।

अब, सम्भावनाहरुको त कुनै अन्त्य छैन । मलाई थाहा थियो कि त्यो कन्डक्टरले अझैं कति हो कति राष्ट्रिय अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने छ । मैले देखिरहेको थिएँ उसको कन्डक्टरी थैलामा प्रायः सबै मन्त्रालय बन्द थिए । जब उसले थैला खोलेर टिकट हेर्थ्यो, त्यतिबेला मलाई शङ्का हुन्थ्यो कि उसले टिकट होइन, मौका अनुरुपको कुनै मन्त्रालय खोजिरहेको छ ।

उसका गुणहरुको कुनै पार नदखेपछि मैले आँखा चिम्लें र मनमनै उसलाई श्रद्धापूर्वक प्रणाम गरें । आँखा खोल्दा भने बस उसै गरि धकेलिदै थियौ ।

अनुवादः महेन्द्र महक

(सम्पादक– वि.सं. २०५५देखि २०६० सालसम्म तुलसीपुरदेखि बाङ्गेलाखुरीहुँदै रुकुम झुल्नेटा जाने बसमा यात्रा गर्नुहुने यात्रुहरूले यो अनुवादको मर्म अझै गहिरो गरी बुझ्न सक्नु हुनेछ । नेपालको पहाडी भेगका कच्ची बाटोमा जहाँ सामान्यतः वर्षायाममा यातायातका साधन गुड्न गाह्रो छ, त्यहाँ यो अवस्था यथावत नै छ । अर्को तिर काठमाडौं उपत्यकामा पनि सार्वजनिक यातायातको अवस्था यो भन्दा फरक छैन । आशा छ यो अनुवाद तपाइँहरूलाई रूचिकर लाग्ने छ । प्रस्तुत हास्य व्यङ्ग्य ‘हिन्दी भाषाकी श्रेष्ठ व्यङ्ग्य रचनाएँ’ पुस्तकबाट लिइएको हो ।)

प्रतिक्रिया दिनुहोस्