Logo

हे ईश्वर !!!



Spread the love

हे इश्वर सुन्यौ के तिमीले ?

कोही रोए जस्तो

कोही कराए जस्तो !

एउटा कहाली लाग्दो रातमा

कोही डराए जस्तो ?

 

मलाइ जामैजाम सडकको बीचमा

कराइरहेको एम्बुलेन्स

त्यहाँ भित्र बसेर मृत्यु सँग लड्दै गरेको

बिरामीको चित्कार जस्तै लाग्छ !

ईश्वर, के सुन्यौ तिमीले त्यो ?

०००

आफु एक र आफुमा एक बोकेर

नेपाल यातायातभित्र डन्डी समातेर उभिएकी

नारीको पाउले आफु मात्र उभिनु छैन

बोक्नु छ एक बच्चा र दुइ परिवार !

देखेको छौ इश्वर उनको पाउ लरबराएका ?

०००

के दुर-सुदुरका जिल्लाहरु

आफ्नै हैनन् र ?

आमाले कहिले छुट्याउदी होलिन् र

जेठो र कान्छो ?

ठुली र सानी ?

तर फरक, किन यति धेरै ?

सिटामोल र मेट्रोन खान नपाएर

दिवंगत भएकाहरुले सुनाएनन् कि कसो ?

मेरो देशको स्थिति तिमीलाई ?

०००

मेरो देशमा यथास्थितीबादीहरु लड्दै छन् रे

परिवर्तनका लागि

कुनै दिन पश्चिमबाट घाम उदाउँने छे

बिरालोले घाँस चपाउने छ !

अनि पत्ता लाग्नेछ सायद

निर्मलाहरुका हत्यारा

मानवताका बलात्कारीहरु !

०००

के सुनेनौ यी सब तिमीले ?

के देखेनौ यी सब तिमीले ?

तिमीले धेरै पर रहेर पनि सुन्यौ सायद

तिमीले धेरै पर रहेर पनि देख्यौ सायद

यही नजिकैका हजारौ इश्वरहरुले सुन्न सकेनन्

यही नजिकैका हजारौ इश्वरहरुले हेर्न सकेनन्

चाहेनन् कि सायद !

०००

०००

ट्रान्स्पोर्टेसन इन्जिनियरिङ्गमा स्नातकोत्तर गरिरहेका आचार्य सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्