Logo

छोरा छोरीलाई डाक्टर नै बनाउन पर्छ भनेर नसोच्नुस् !



कर्म सत्य रहे जहाँ पनि सुन्दर प्रकाशन हुन सक्छ । कर्महरूद्वारा नै मानव प्रेरणा जागृत गराउन सकिन्छ । कर्म मार्फत मानिसले वस्तुगत रचनाको अध्ययनद्वारा दिव्य चैतन्य, दिव्य सौन्दर्य र दिव्य ज्ञानद्वारा समाजमा स्पष्ट संकेतहरु व्यक्त गर्न सक्नु पर्छ। चाहे त्यो ठुलो होस् वा सानो, कर्ममा मन पूर्ण रूपमा समर्पित हुनु पर्छ । आत्मप्रकाशन स्वरूप हामीले गर्ने कर्महरू इन्द्रियग्राह्य भएर धर्तीमा ओर्लिनुपर्छ र व्यवहारिक अन्वेषण प्राप्त गर्न सक्नुपर्छ

आज भोलि समाजमा ठूलाबडा र धनी वर्गका हुनेखानेले गरिने कामलाई मात्र कथित कर्मका रूपमा व्याख्या गरिन्छ । यो सरासर गलत व्याख्या हो । एसईई नतिजा आए सँगै छोराछोरीलाई जबरजस्ती साईन्स पढाएर डाक्टर पढाउने तरखरमा हुनुहुन्छ भने एक चोटि सोच्नुहोस् । छोराछोरीलाई आफ्नो मन पर्ने क्यारीयर आफै छान्न दिनुस् ।

छोराछोरी सानो हुँदा देखि नै डाक्टर नै बन्नु पर्छ भन्ने मान्यतामा आम समाज विकसित छ । उसको चाहेको विषय भन्दा पनि करलाग्दी वा देखावटी रूपमा नै अभिभावकको चाहेको विषय दिमागमा थोपर्ने नियतिलाई दुर्भाग्य मान्नु पर्छ । यो भन्दैमा डाक्टर बन्नै हुँदैन भन्न खोजेको चाहिं  हैन । र, हाल डाक्टर माथि बढ्दै गइरहेका आक्रमणका घटना र मौन सरकारलाई देखेर पनि डाक्टरी पेशाको अब भविष्य छैन भन्न खोज्या पनि होइन । मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रमा पाइला टेक्नु भन्दा अगाडी नै संवेदनशील भएर सोच्नु चैँ जरुरी छ ।

के हामीले गर्ने पढाई र त्यस पश्चातको कर्ममा प्रेमपूर्ण रहेर आनन्द लिन सक्छौँ ? । वा यो क्रिया निकै नै सकसपूर्ण हुँदै जान्छ ? । यो प्रश्न मननयोग्य छ ।

” उचाल्या कुकुरले मृग मार्दैन ।” त्यसैले अभिभावकले आफ्नो प्रतिष्ठित भविष्यलाई मात्र मध्यनजर गरेर नसक्ने र नचाहने सन्तानलाई यो भुमरीमा धकेल्नु हुँदैन । तर, अर्को कुरा यस विषय छनोट पछि सन्तानले खर्चिन सक्ने त्याग, तपस्या र मेहनतको कदर भने गर्नै पर्छ र यसकै प्रतिफल स्वरूप उसले समाजमा एउटा नाम स्थापित गराउन सक्नुले पनि यो पेसा आकर्षणको केन्द्रमा रहेको बुझ्न सकिन्छ ।

म आफै पनि चिकित्सा पेसामा छु । मेरो आफ्नै दिदी पनि यही पेसामा हुनुहुन्छ । हामी दुवैले देशकै प्रतिष्ठित चिकित्सा शास्त्र अध्ययन संस्थानबाट अध्ययन गरेका हौँ । र, परिवार कै आंकलन गर्दा पनि लगभग धेरै नै यही पेसामा आबद्ध हुनुहुन्छ । के हाम्रा अभिभावकले पनि हामीमा जबरजस्ती थोपरिदिएको रूपमा हामीले यस पेशालाई लिएका हौँ त ? कदापि हैनौँ ।

सायद पारिवारिक देखासिकी र स्व-चाहानाले पनि यसमा केही हदसम्म महत्त्व राखेको हुनु पर्छ । त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले लिने महत्वाकांक्षा र गन्तव्यमा निर्धारण हुन जान्छ। के हामीले गर्ने पढाई र त्यस पश्चातको कर्ममा प्रेमपूर्ण रहेर आनन्द लिन सक्छौँ ? । वा यो क्रिया निकै नै सकसपूर्ण हुँदै जान्छ ? । यो प्रश्न मननयोग्य छ । अचेल मानसिक तनाव, डिप्रेसन हुँदै आत्महत्या सम्मका घटनाहरू मेडिकल विद्यार्थीमा बढ्दै गइरहेका छन् । महँगो शुल्क, छात्रवृत्तिबाट वञ्चित, पढाईको प्रेसर र भविष्यको अन्योलता नै यसका कारणहरू हुन् । एउटा अपरिपक्व निर्णयले हामी पनि यसकै सिकार हुन के बेर ?

जब जब अरूका सूक्ष्म अनुभवका आधारमा मानिस आत्मविश्वासले प्रेरणा जित्दै जान्छ र अनन्त मन मस्तिष्कका चेत र आह्वानहरू पहिल्याउँछ, तब मात्र ऊ त्यही कर्मद्वारा आफू सहित परिवार समाज र देश सुधार्न सक्छ । तर, अपरिपक्व निर्णयहरू बाट जब ऊ अँध्यारोमा छटपटाउछ, त्यही बोझले थकित भएर गूढ रहस्य भएर बिलाईजान्छ । त्यसैले अभिभावक महोदयहरू, बहकाउमा होइन आफ्नो मनको चित्रण जुन काम गर्दा सन्तानले भेट्न सक्छन्, त्यतै तिर दत्तचित्त भएर लाग्न हौसला प्रदान गर्नुहोस् ।

अचेल मानसिक तनाव, डिप्रेसन हुँदै आत्महत्या सम्मका घटनाहरू मेडिकल विद्यार्थीमा बढ्दै गइरहेका छन् । महँगो शुल्क, छात्रवृत्तिबाट वञ्चित, पढाईको प्रेसर र भविष्यको अन्योलता नै यसका कारणहरू हुन् । एउटा अपरिपक्व निर्णयले हामी पनि यसकै सिकार हुन के बेर ?

अहिले एसईई वा प्लस टु अध्ययन पश्चात् रंगिन विज्ञापनका भरमा स-साना भाइबहिनीका ध्यान आफूतिर खिचेर मनग्य पैसा कमाउने साइन्स कलेज देखि लिएर कोचिंग इन्स्टिच्युहरु च्याउसरी उम्रिएका छन् । डाक्टर बन्ने ठुला सपनाहरू देखाएर, अप्राकृतिक रूपमा अभिभावकका सोचहरू बंग्याएर यस्ता प्राइभेट संस्थाहरूले पनि विद्यार्थीको आफू अनुकूल विषय सोच्ने र छनोट गर्ने काममा प्रतिकूल असर पुर्‍याइराखेका हुन्छन् । सही मार्गनिर्देशन गर्न सकेे त विद्यार्थीमा आउन सक्ने फ्रस्टेसन र अभिभावकमा पर्ने अनावश्यक बोझ समेत अवश्य हल्का हुने थियो । अचेल प्यारामेडिक्स, सिए, कानुन, कृषि एवं वन विज्ञानमा समेत मानिसको आकर्षण बढ्दै छ । यो मात्र नभएर शिक्षण पेसा, पत्रकारिता, राजनीति शास्त्र, प्रशासन तर्फ समेत ध्यान दिनु पर्ने आवश्यकता छ । सूचनात्मकताले भरिपूर्ण आजको युगमा तार्किक बहस र तीव्र निश्चयका साथ गरिने कर्महरूले नै हाम्रो भविष्य कति खाँदिलो र भरिलो हुन सक्छ भनेर हामी भन्न सक्छौँ ।

देशमा नै केही गरेर स्वावलम्बी बनाउने कार्यहरूमा अभिभावकको उचित सुझावहरू सन्तानका लागि हृदयस्पर्शि हुन सक्छन् । कसैको आलोचना वा कसैको वाहवाही आउला भनेर होइन, यथार्थवादी धरातलमा ओर्लिएर सन्तानहरू स्वयंम कसरी आफ्नो ऐनामा प्रतिबिम्बित हुन सक्छन् उसैगरि कर्मको छनोट गर्न दिनु पर्छ । डाक्टर एउटा साधारण पेसा हो, जहाँ उसले गर्ने कर्मले व्यक्तित्व निर्धारण गर्छ । यो पेसा अँगाल्नेहरू सबै महान् हुन्छन् भन्ने छैन । त्यसैले कर्म, कर्म गर्नकै निमित्त हुनुपर्छ । त्यसले जीवन मुटुमा आनन्द दिनुपर्छ । सौन्दर्य चेत छर्दै समाजमा कर्तव्य प्रति सजग गराउन सक्नुपर्छ । यस्तै सन्तानका रोजाई उन्मुख कर्मलाई समर्थन गर्नु आजका अभिभावकको जिम्मेवारी हो ।

(पंक्तिकार घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) महाराजगञ्जका इन्टर्न डक्टर समेत हुन् ।)

प्रतिक्रिया दिनुहोस्