Logo

फ्री फ्रम फ्रीडम ।



रितेश गुरुङ

म सडक किनार उभिरहेको छु, हातमा झोला लिएर ।  ताल-तालका मान्छेहरु हिंडिरहेका छन्, आ-आफ्नै तालमा । म भ्याए सम्म सब्बै मान्छेहरुलाई नियाल्दै / जोख्दै छु । ती मान्छेहरुका अनुहारमा लेखिएका अस्पष्ट कथाहरु पढ्ने असफल प्रयास गरिरहेको छु । मलाई अनायास याद आउँछ, ‘हारुकी मुराकामी’को किताब ‘द विन्ड अप बर्ड क्रोनिकल’ को पात्र ‘मे क्यासाहारा’को, जो ट्रेन स्टेसनमा उभिएर यसरी नै मान्छेहरुलाई गणना गर्ने / नियाल्ने अनौठो काम गर्ने हुन्छ ।

केही अलग लागिरहेको छ, आजको दिन मलाई । हावा कछुवा गतिमा हिंडिरहेको छ । आकाशमा बादलका टुक्राहरु नाचिरहेका छैनन् । चराहरु तैरिरहेका छैनन् । वायुमण्डल बाफिलो / राफिलो भएको छ । गर्मी प्रचण्ड छ । म पसिनाले निथ्रुकै रुझेको छु । शरीर झनझन् भारी हुँदै गईरहेको छ । उकुसमुकुस भइरहेको छ । मसँगै सडक किनारमा अरु मान्छेहरु पनि उभिएका छन्, पसिना-असिना भएर । बस आउने-जाने क्रम चलिरहेको छ । मसँगै उभिरहेका मान्छेहरु फेरबदल भइरहन्छन् । म भने फगत त्यहीँ ठाउँमा उभिरहन्छु, आफू सन्मुखको दृश्यलाई चपाउदै !

एउटा बस मेरो सन्मुख आएर रोकिन्छ । केही मान्छेहरु ओर्लिन्छन् । केही चढ्छन् । खलासी कुनै पनि ठाउँको नाम फलाकेर बोलाउदैन । लाग्छ, यो बस कतै जाँदैन / पुग्दैन । सायद मैले खोजेको / कुरेको बस यहीँ हो ।

सडक व्यस्त छ । आकार-आकारका गाडी-मोटरहरु चिच्याउदै दौडिरहेका छन् । खलासी विभिन्न ठाउँहरुको नाम फलाक्दै प्यासेन्जरहरु बोलाउदै छन् । ओराल्दैछन् । चढाउदैछन् । गन्तव्य पुग्ने बस मलाई चढ्नु छैन । म मूर्ती’झैं’ उभिरहन्छु । साँच्चै, मलाई कहाँ जानू छ ? कता पुग्नु छ ?

एउटा बस मेरो सन्मुख आएर रोकिन्छ । केही मान्छेहरु ओर्लिन्छन् । केही चढ्छन् । खलासी कुनै पनि ठाउँको नाम फलाकेर बोलाउदैन । लाग्छ, यो बस कतै जाँदैन / पुग्दैन । सायद मैले खोजेको / कुरेको बस यहीँ हो ।

म सरासर बसमा चढ्छु । बसमा लगभग सबै सिटहरु भरिभराउ छन् । म एउटा खाली सिट ओगट्छु । झोला सिटमुनी धकेल्छु । बस भित्र भएका सबै मान्छेहरु माथी एक नजर फ्याँक्छु । वयस्क, अधवैँसे, युवा, बच्चा सबै छन् । बस सुस्त गतिमा अघि बढ्छ । म घडी हेर्छु । बस अनि समयको रफ्तार उस्ता-उस्तै लाग्छ । ” बस अलि छिटो चलाउनुस् न ! मान्छेलाई इन्टरभ्युको लागि हतार भइसक्यो !” पछाडिबाट आवाज आउँछ । म पछाडी फर्किन्छु । देख्छु, हतारो अनुहार भएको युवकलाई । “त्यस्तो हतार भए एउटा गाडी’नै बुक गर्नुस् तपाईं ! यो तपाईंको मात्र होइन, अरुको पनि बस हो !” खलासी कराउँछ । हतारो युवक चुपचाप । म अगाडि फर्कन्छु ।

ममा साँच्चै खत्रा पागलपन हुन्छ । प्रेमीहरुसँगै मर्ने बाँच्ने मात्रै होइन अरुलाई मार्ने सामर्थ्य पनि राख्छन् । लाग्छ, पागल-प्रेमीहरुले आफ्ना / अरुका जीवन सस्तो / मुल्यहिन बनाईदिएका छन् ।

मान्छेलाई सधैं समयमै पुग्नु छ । सायद समयलाई पनि हतार छ । किन हतारमा हुन्छन् मान्छेहरु ? आखिर कहाँ पुग्नु छ, यिनिहरुलाई ? के गर्नु छ ? अगाडीको सिटमा एक प्रेमिल जोडि जोडिएको देख्छु । उनिहरु यसरी प्रेममा मुग्ध छन् लाग्छ, बसमा होइनन् उनिहरु कतै एकान्तमा छन् । सायद उनिहरु हतारमा छैनन् । समय रोकिए पनि हुने, अझ उनिहरुले यस्तै कल्पिदो हुन् । प्रेममा साँच्चै खत्रा पागलपन हुन्छ । प्रेमीहरुसँगै मर्ने बाँच्ने मात्रै होइन अरुलाई मार्ने सामर्थ्य पनि राख्छन् । लाग्छ, पागल-प्रेमीहरुले आफ्ना / अरुका जीवन सस्तो / मुल्यहिन बनाईदिएका छन् ।

बस रोकिन्छ । केही ओर्लिन्छन् । केही चढ्छन् । म यथास्थानमै बस्छु । बस हिंड्न् थाल्छ । ” दाई ! आँखा अस्पताल आउन अझै कति समय लाग्छ ?” बायाँतिरको सिटमा बसेको एउटा केटो म तिर प्रश्न फ्याँक्छ । “मलाई थाहा छैन भाई ! म पनि यहाँ नयाँ हुँ !” मेरो उत्तरले उसलाई निराश बनाईदिन्छ । केटासँगै एउटा वृद्धा देख्छु । सायद केटाको हजुरआमा हुनुपर्छ, म अनुमान मार्छु । आँखामा जाली परिसकेको वृद्धालाई अझै संसार हेर्ने रहर रहेछ । जीवन प्रती कस्तो लोभलाग्दो माया ! म भित्रको म कराउन थाल्छ । हामी मान्छेहरु सबै बन्दी / कैदी हौं । स्वतन्त्रता भन्ने सबैभन्दा ठूलो पिंजडा हो । स्वतन्त्रताबाट सबैजना मुक्त हुन जरुरी छ । म झस्किन्छु । म भित्रको म फेरि चुप लाग्छ ।

अघिल्लो सिटमा एउटा विद्यार्थी किताब पढिरहेको देख्छु । सायद उसको परिक्षा चलिरहेको छ । सायद ऊ पढन्ते हो । के ऊ पढेर पिंजडाको ढोका खोल्न सक्छ ? कि उसले पनि बनाउछ फेरि अर्को पिंजडा ? कोहि मोबाईलमा घोत्लिरहेको देख्छु । कोहि कसैलाई गाली गरिरहेको देख्छु । कोहि एक्दमै खुसी देख्छु । कोहि एक्दमै निराश देख्छु । अनेक थरिका मान्छेहरुले लगाएका नकाब देख्छु । म सबैलाई रोगी देख्छु । रोग फैलाउने प्रणालीलाई रोगी देख्छु । सबैलाई रोगी देख्ने म स्वयंम आफुलाई सबैभन्दा ठूलो रोगी देख्छु / ठान्छु । यो रोगलाई नियन्त्रण गर्न जरुरी छ । कसले रोक्छ / समाप्त पार्छ यो भयानक रोगलाई ?

म घडी हेर्छु । हतारो गर्दै खलासीलाई भन्छु, “भाई ! यहाँ रोकिदेउ !” गाडी रोकिन्छ । म झर्छु । सडक पार गर्छु । गाडी हिंड्नै लाग्दा अघि बसमा मसँगै बसेको अधवैँसेले झ्यालबाट कराउँदै भन्छ, “भाई ! तिम्रो झोला बसमै छुट्यो !” म कराउँछु, ” दाई ! त्यो मेरो झोला होइन !” म आफ्नो बाटो लाग्छु । गाडी आफ्नो बाटो लाग्छ । ओठबाट मुस्कान छुट्छ । घडी हेर्छु । दश सेकेन्ड….. नौँ सेकेन्ड….. आठ सेकेन्ड….. सात… छ…..पाँच….. चार……तीन…..दुई…..एक……. ड्याम्मम………. एउटा ठूलो भयानक धमाका हुन्छ । त्यो गाडी मोडबाट ओझेल नहुँदै पड्किन्छ । गाडी भित्रका सबै रोगीहरु पक्कै मरे होलान् । मलाई यस्तै अरु रोगिहरुलाई मार्नुछ । रोगलाई मार्नुछ । सबैलाई स्वतन्त्रताको पिंजडाबाट सधैंका लागि स्वतन्त्र / मुक्त गराउनु / बनाउनु छ । मोबाईल निकाल्छु । कल गर्छु । घण्टी जान्छ । कसैले फोन उठाउछ । म भन्छु, “काम भयो ! अब अर्को टार्गेट कता ?”

प्रतिक्रिया दिनुहोस्