Logo

अन्जना इछमफूलका तीन कविता



Spread the love

अन्जना इछमफूल

 

पिता नौ बहादुर राइ र माता पविमाया राइको सुपुत्रीको रुपमा वि.स. २०४० साल असोज २८ गते माप्य दुधकोशी गापा, सोलुखुम्बुमा जन्मिएकी अन्जना इछमफूल हाल कोटेश्वर काठमाडौं बसोबास गर्दछिन् । बि.ए.सम्मको अध्ययन सकेकी  इछमफूल कोसेली ढाका एन्ड अर्गानिक सेन्टरकी प्रोप्राइटर हुन् । कला साहित्यमा विशेष रुची राख्ने इछमफूल किराँत राइ लेखक सङ्घ (केन्द्रिय सदस्य) र अखिल नेपाल क्रान्तिकारी महिला सङ्घ (केन्द्रिय सदस्य) हुन् ।

प्रस्तुत छ, सल्लेरी कोलाजका लागि कवि अन्जना इछमफूलसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- कविता के हो ? – कविको दृष्टिकोण ?  

इछमफूल- कविता एउटा शुन्दर आर्ट तथा ब्रम्हाण्डको हरेक विषयवस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गरिने ब्यानर हो । कवितालाई समग्रमा जिवन र जगतलाइ अटाउने सानो तर अकल्पनीय ग्रह मान्छु म ।

कवितामार्फत कविले मानविय सम्वेदना जिवनदर्शन र समाजका सम्पुर्ण पाटोहरुको उजागर गर्दछ । कविता पटक्कै विचारदेखि टाढा छैन र धेरै टाढा पनि छ। कविले आफ्नो विचार र अभिव्यक्तिलाइ कसरी प्रस्तुत गर्दछ भन्ने हो । दिल र दिमागको समिश्रीत घुलन बनाएर शुन्दर तरिकाले प्रस्तुत गरिएमा कविता कविता बन्छ । नत्र विचार मात्रै ठाडठाडो राख्न त भाषण कलातिरै लागे हुन्छ, अरु नै लेख लेखे हुन्छ ।

सबैभन्दा पहिला त कविताले मानविय सम्वेदना नै बोल्नुपर्छ र बोल्दछ । यो कसरी भन्नुहोला – यदि कसैले तपाइको मन दुखायो, हानि गर्यो  भने तपाइको सम्वेदनामाथि चोट पुग्दछ । यस्ता चोट सहन नसक्दा आम मान्छेले तुरुन्त प्रतिक्रिया जनाइहाल्छ । पिडालाइ भित्रभित्रै दबाएर राखे पनि यो एकदिन विष्फोट भएर नै छाड्छ । यसरी विष्फोट भएको अवस्थाले समाजमा कतिपय अपराधिक घटनाहरु निम्त्याइरहेको हुन्छ । तर कविहरु आफुलाइ शब्दको माध्यमबाट पोख्दछन । पिडा, वेदना, रिस, इर्ष्या र जलन नै किन नहोस उनिहरु शब्दकै साहारामा प्रस्तुत गर्दछन । दुखलाइ पनि उज्यालो पाटोबाट हेर्न सक्ने  प्राणी कवि हो ।

मलाइ लाग्छ कविको जस्तै मन र दृष्टिकोण सबैमा भइदिए आजको समय यति क्रुर हुने थिएन कि? उदाहरण को लागि – कवि मनु मन्जिलको “दुश्मन” कवितालाइ लिउँ न । कति शालिन र भद्र शैलिमा हामी कसैलाइ गाली गर्न सक्छौ । एउटा कविले कति मिहिनेत गरेर उच्चतम शब्द चयन गरेर सबैभन्दा कोमल शब्दमार्फत शक्तीशाली प्रहार गर्न सक्ने क्षमता राख्दोरहेछ त !

कविहरु उच्चतम शिल्पशैलि बोकेका अति नै संवेदनशील प्राणी हुन् ।

राजु- कविता विचार देखि कति टाढा छ ?

इछमफूल- कविता यसकारण विचारभन्दा टाढा छ – हामीले बाचेको कुनै क्षण यस्तो आउछ । हामीले विचारलाइ जर्बजस्ती मस्तिष्कभित्र  कैदि बनाएर पुरै दिल र समवेदनाले मात्र चल्नुपर्ने हुन्छ  । विचारभन्दा नजिक यसकारण – दिल र दिमागको सँगसँगै प्रयोजन गरेर अघि बढ्नु पर्ने हुन्छ ।  जसले गर्दा स्वयम आफूलाई र अरुलाइ पनि फाइदा गरोस ।

राजु – भाषा, शैली र अभिव्यक्ति देखि कति टाढा/नजिक रहन्छ -कविता ?

इछमफूल- क्रमशः भाषा शैली र अभिव्यक्ति कवितासँगै आउने कुरा हुन । त्यहि भएर विगत लामो समयदेखि नेपाली कवितामा भाषा आन्चलिकताको राम्रो प्रयोग हुदै आएको छ । यस्तो कविताले कवितालाइ मात्र नभएर साहित्य जगतलाइ निकै माथि उचाल्न मद्दत गर्नेछ । साहित्य एक विशेष स्थान, वर्ग र जातिमा केन्द्रित हुने छैन । सबैको पहुचमा पुग्नेछ साहित्य ।

अभिव्यक्तिबिना कविता बन्दैन । तर कविले व्यक्त गर्न खोजेको कुरा कसरी व्यक्त गर्ने ? कतिको शृङ्गार गर्ने ? शब्दचयनमा कतिको ध्यान पुर्याउने भन्ने हो । हरेक कविता अभिव्यक्ति कै उपज हुन तर नारा र भाषण भने पक्कै हैन ।

राजु- भन्ने गरिन्छ, “परिस्थिती र परिवेशलाई मानवीय समवेदनासँग जोड्नु कविता हो ।” उसो भए कविता मानवीय व्यापार हो ? – ‘मानवीय भावनाको व्यापार ?’ 

इछमफूल- परिस्थिति र समवेदनालाई मानविय समवेदनासँग जोडिएन भने मानव मानव रहदैन । कुनै पनि चरम परिस्थिति र परिवेशलाइ मानविय समवेदनासँग जोडेर तत्काल कविता बनाइहाल्नु ( अहिलेको भाषामा भाइरल हुन खोज्नु ) चाहि कविताको व्यापार नै हो । त्यस्तो कविले कवितालाइ सस्तो मूल्यमा बजारमा बेचिरहेको हुन्छ ।

परिस्थिति र परिवेशलाइ मानवीय समवेदनासँग जोडदै सिर्जना गर्नु एउटा सुन्दर पक्ष हो । यो विषयमा दुई पक्षीय धारणा आइरहेको हुन्छ । एक पक्ष भन्छ- “यसो गरिनु हुदैन । यसरी लेखिएको कविता केवल आँसुको व्यापार हो ।” अर्को पक्ष भन्छ -“कविताले पाठकलाई मात्र आनन्द दिलाउनुपर्छ । समवेदना मात्रै पनि कविता हो ” म यि दुवैको पक्षमा छुइन ।

कविता हरेक परिस्थिति, परिवेश र मानविय समवेदनासँग जोडिएकै हुन्छ । चाहे त्यो राजनैतिक विचारधारा बोकेको कविता होस, युद्द कविता होस, सामाजिक विचलन र प्रचलन कै कविता किन नहोस ? मानिसले बाचुन्जेल कुन चाहि कार्य समवेदनासँग अलग रहेर गर्न सक्छ ? हरेक परिस्थिति र परिवेशलाइ मानविय समवेदनासँग जोड्दै आफ्नो विचार, अभिव्यक्तिको समिश्रण गरेर उच्चतम समवेदनासहित सटिक रुपमा बोल्नुलाइ म कविता मान्दछु । कविता राजनीतिभित्र हुन्छ । धर्मभित्र हुन्छ । संस्कारभित्र हुन्छ । भाषाभित्र हुन्छ । हरेक भुगोल र परिस्थितिमा कविता हुन्छ र यसले जन्म लिन पाउनुपर्छ पनि । त्यसैले कविताको नितान्त निजि जात, धर्म , गोत्र, वंश, पाछा केहि हुदैन ।

कविता कविता हो, बस् यसलाइ कवितामै बाच्न दिउँ । हुन त तपाइले मजस्तो अमान्छेलाइ कविताको बारेमा प्रश्न राखेर कवितामाथि अन्याय पो भयो कि !

राजु- नेपाली कविता क्षेत्रको विकृति विसंगति के-के देख्नुहुन्छ ? कवितामाथि न्याय भएको छ ?

इछमफूल- मैले नढाटि भन्नुपर्दा नेपाली कविहरुकै कविता पनि थोरै मात्र पढेकि छु । विदेशी कविताको त कुरै नगरौ ।
वर्तमानमा कविताहरु बढी होडबाजी, नक्कल, सस्तो लोकप्रियताको पछि दौडिरहेको छ । प्रविधिको अधिकतम प्रयोग या दुरुपयोग नै भनौं, भाइरल हुने चलन चल्ति चलेको छ । यसैको प्रलोभनले पनि धेरै कविहरुले कविता लेखिरहेका छन ।

शुरुमा सबै कविहरु रहर र सौखले नै आउने हुन । कवितामा दिर्घकालीन भविष्य बोकेर आउने कविहरु एउटा स्टेज पार गरेपछि विस्तारै जिम्मेवरी बोध गर्दै जान्छन, आफै परिमार्जित हुँदै जान्छन । कुनै पनि कुरा स्थायी हुदैन । त्यस्तै कवितामा चलेको यो लहड पनि एक समयमा पुगेर विश्राम लिने नै छ । अहिलेका धेरै कविताहरु कविको कुण्ठा पोखाउने माध्यममात्र भइरहेका छन । कविको नितान्त व्यक्तिगत शैली नहुनु, उस्तै उस्तै कविताहरु लेखिनु, सस्तो लोकप्रियताको पछाडि दौडिनु, कविमा धैर्य नहुनु जस्ता पक्षहरुले नेपालि कवितालाई न्याय गरिरहेको जस्तो मलाइ लाग्दैन ।

राजु- कविता कसरी लेख्दै हुनुहुन्छ ?

इछ्मफूल- पहिला पहिला जब मलाइ कुनै कुराले छुन्थ्यो, दुखाउथ्यो, त्यो पिडालाइ बोलेर शब्दमा कसैसँग  सक्दिनथे । धेरै खुशी भएर त्यो खुशीको क्षण कसैसँग बाड्न चाहदिन’थे । र चरम आनन्दको क्षणलाइ धेरै दिनसम्म हृदयको गोजीमा कोचिराख्थे र विस्तारै मष्तिस्कले एक एक खेलाउथे । केहि खेस्रा बन्थ्यो । खेस्राबाट केहि लाइनहरु बन्थे । पछि लाइनहरु हरफमा परिणत हुन्थे र कविता बन्थे सायद ।

अहिले त कविता नै लेख्दिन । हामीले दैनिक बाच्नु नै कविता रहेछ लाग्न थालेको छ । प्राक्टिकल रुपमा काम गर्दै चुनौतिको सामना गर्दै जानु जस्तो महान कविता अरु छैन कि ? मेरो दैनिकी, दैनिक निभाउनुपर्ने जिम्मेवारी, खेल्नुपर्ने भूमिका सबैसबैले बाधिएर कविताबाट मलाइ विस्तारै अलग्याइरहेको होकि जस्तो लाग्छ । र, यो सब मलाइ कविताभन्दा माथिको कविता महसुस हुन्छ । जे गरिरहेकि छु, त्यसमा अनि मलाइ बहुत सुखानुभूति मिलिरहेको छ । आशा छ- कुनैदिन फेरि कविता लेख्न फर्किनेछु ।

जस्ले चुनौती रहित जिन्दगी बाच्ने दुर्भाग्य पाइरहेको छ, उसले कविता अनुभुति गर्न सक्दैन । मैले आजसम्म जति मान्छेहरु भेटे, कविताको पराकाष्ठा नाघेर कविताभन्दा माथि र चुनौतिपूर्ण जीवन बाचिरहेकाहरु भेटेकिछु । म त दैनिक हिड्दा खुट्टामुनि टेकिने किराफट्याङ्ग्ग्राहरुबाट नि केहि न केहि सिकिरहेकि हुन्छु । आफुलाइ पूर्ण कहिल्यै भेटाएकि छुइन ।

म जस्तो अपुर्ण मान्छेले पुर्ण कविता कसरी लेख्ने?

राजु- कविता यात्रा कसरी शुरु भयो ? थोरै बताउनुस न !

इछमफूल-  म सात वर्षकि हुदा बुबा बित्नुभयो । मैले ८/९ वर्षको उमेरमा बुबाको यादमा अलिअलि अनुभुति कोर्न थाले । नौ वर्षकी हुँदा बाबाको नाउँमा लेखेकी कविता अझै सुरक्षित छ । पछि मैले ठुलो दाजुको कितबहरु चोरेर पढ्ने गर्थे । म परिवारको कान्छी छोरी ।  सबै बारीको काममा जाने । मलाइ घर, कुखुरा, सुङ्गुर कुर्ने र धन्दा गर्ने घरमा छोडिन्थ्यो ।  म दिउँसोतिर दाइको किताब पढ्दै जस्ताको तस्तै गरी राखिदिन्थे । मन परेको लाइनहरु नोट गरेर पनि राख्थे । दाजु एमालेको सकृय कार्यकर्ता भएकोले उहाँले निकै राम्रा क्रान्तिकारी कविताहरु लेख्नुहुन्थ्यो ।  भाषण पनि गर्नुहुन्थ्यो । उहाँका किताबहरु प्रायः उपन्यास हुन्थे ।

मैले पहिलोचोटि पढेको उपन्यास “खोजि उपन्यास” डिबि किराँतीको थियो । यो सामाजिक उपन्यास अझै मलाइ पढौ लाग्नेगर्छ ।  धनमाया, रतन, जस्ता केहि पात्रहरुको नाम अहिले पनि कण्ठै छ । दस वर्ष जतिको हुँदा- एक साँझ म आगन डिलमाथि झपक्कै फुलेको सेतो गोदावरीको झाङ छेउमा टहटह जूनको उज्यालोमा बसेर केहि लेख्दै थिए । दाइको साथीहरुले “के लेखेको कान्छे भनि सोध्दा ?”,  उपन्यास लेखेको भने । त्यो कुराअलि पछि सम्झिदा मलाई लाज लाग्थ्यो ।

अहिले भने त्यो बेला मैले लेखेको खेस्रा भेटाउन पाए हुन्थ्यो भन्ने लाग्छ । पछि कान्छा दाइ काठमाडौं आउनु भएपछि गाउँ  फर्किदा उहाँको अटो र डायरिहरु लिएर आउनुभयो ।  मैले त्यहाँबाट धेरै शायरीहरु सारेर राखेकि थिए। विशेषगरि गोठमा सामल पुर्याउने  काम मेरो हुन्थ्यो । मैले देलि ( चोयाको ठुलो सन्दुक ) भित्रबाट खोतलेर सबै दाइको डायरी चिठि र अटोहरु पढ्थे र त्यसरी नै राखिदिन्थे । मैले यसो गर्दा दाइ भने वस्तु चरणमा हुनुहुन्थ्यो । उहाँको सामान चलएको पक्कै थाहा पाउनुहुन्थ्यो होला तर कहिलै गाली गर्नुभएन । पछि पछि ३/४ कक्षा हुँदै म स्कुलको प्रतियोगितामा कहिले प्रथम र दोस्रो हुन थाले । एकचोटि स्कुलमा शहिद दिवसको अवसरमा कविता वाचन कार्यक्रम भयो । मैले पनि अगाडि गएर निकै आत्मविश्वासका साथ आफ्नो कविता वाचन गरे र अन्त्यमा मुठ्ठि उचालेर लालसलाम भन्दै अन्त गरे । पछि गुरु र अग्रज दाइहरुले यसरी स्कुलको कार्यक्रममा कुनै पार्टिगत अभिवादन गर्न पाइदैन भन्नुभयो ।  त्यो कहिल्यै बिर्सन्न ।

काठमाडौं आएर पनि धेरै पछि थाहा भयो-नेपालमा यति धेरै कविहरु रहेछ्न । र, कविताहरु धेरै लेखिएका रहेछन । मैले त्यहिबेला लेखेको कविताको भावहरु कतिपय सिनियर कविहरुसँग मिल्ने रहेछ ।  यसरी थाहा पाएपछि म पनि कविता लेख्न सक्छु कि के हो लाग्थ्यो । कविहरुको नाम सुन्नेबितिकै र कविता पढ्ने बितिकै त मैले फेसबुकमा खोजीखोजी एड गरिहाल्थे । कवि सन्जिव राइ, रावत, हेमन यात्री, स्वप्निल स्मृति, भुपाल राइ, राजन मुकारुङ, रमेश सायन, विप्लव ढकाल, अविनाश श्रेष्ठ, मनु मन्जिल, खुक्सङ खम्बु, रामगोपाल आशुतोष,असिम सागर, चन्द्र रानहछा जस्ता धेरै अग्रज कविहरुसँग नजिक हुने मौका पाए । श्रवण मुकारुङ दाजुसँग त तीन महिना अगाडि मात्रै जोडिएको छु। म फेसबुकको संसारमा आउनु अघि नै मलाइ मन पर्ने धेरै कविहरुको फ्रेन्ड्लिस्ट फुल भइसकेको रहेछ ।

प्रस्तुत: छ कवि अन्जना इछमफूलका तीन कविता:


पहिलो कविता

म गुराँस 

अक्सर
गुराँस
चट्टान र पहराहरुमा मात्र फुल्छ
म पनि चट्टान र पहराकै कोक्रोभित्र
आमाको सङ्घर्षको
लोरी सुन्दै हुर्किएकि हुँ !

तसर्थ

मलाइ गुलाफहरुको रातो मलमलओछ्याइएको
कोमल बगैंचा स्विकार्य छैन !
म त निक्खर रातो आफ्नै रङगमा
फुल्न चाहन्छु -अप्ठेरो र भिरहरुमा नै !
मलाई कौसीको गमलाको
आयतनले पुग्दैन झाङ्गिन
न त पुग्छ बार लाएर बनाइएको
हरियो गलैँचाजस्तो
कृतिम बगैंचाको फराकिलोले…!

मलाई त चाहिन्छ उभिनलाइ
बारिको पुच्छार गराको ढिस्को
जराले पक्रीएर समाउनुछ ,
जोगाउनुछ, पहिरोले तान्नबाट
मेरो पुर्ख्यौली बस्तिलाइ

गुराँसको रङ्ग रातोमात्र हुदैन !!
सेतो परेवाजस्तो उडिहिड्छ -हिमालमुन्तिर
जसरी फुल्छन परेवाहरु – घरको कौसिमा
मन्दिरका प्राङ्गणहरुमा
गुलाफी भएर हासिरहन्छ्न गुराँसहरु गुलाफ कै बिरुद्दमा
मलाइ गुराँसको अनेक रङ्ग देखाउनुछ
म हिङ्स्रक रङ्गमा मात्र फुल्दिन भनेर
शान्तिको रङमा पनि ,
आकाशको रङ्गमा पनि
समुन्द्रको रङ्गमा पनि फुल्छु म
हो इन्द्रेणीको सप्पै रङ्गमा खुल्छु म !!
त्यसैले त तिमिहरुको
बगैंचा र गमलामा मात्र अटाइन म
आफ्नै धर्ती आफ्नै आकाश निर्माण गर्न खोजे !

त्यसमा पनि छेकबार लगाउन
आइपुग्यौ तिमिहरु
र मैले तिमीहरुलाइ नै नाघ्ने कोसिस गरे
र पुगे एकदिन
मजस्तै सेतो फुल्ने चन्द्रमाको छेउसम्म !!


दोस्रो कविता 

जीवन गीत

आउनुस् साथी जीवनका कुरा गरौं
जीवनको कुरा नसकिदाँ नसकिदैँ
मृत्यु त एकदिन आफैं आइहाल्छ नि !

तर,
जीवन..!

जीवन गएपछी फर्केर कहिल्यै आउदैन ।
दु:ख, पिडा र उल्झनहरु पनि
जीवनकै गोरेटो पछ्याउदै आउने हुन्
बाचेर पो दुखको स्वाद लिने हो
पिडाहरुको उचाइ नाप्ने हो ।

साथी !
जीवन बाचेर हेर
पुर्ण जिवनलाइ भोगेर हैरान हैरान
बनाएर हेर
तिमीले भोग्दाभोग्दा जिन्दगी
एकदिन थाकेर जब विश्राम लिन खोज्छ
हो, त्यसैलाई म मृत्यु भन्छु ।

तिमी हिड्दाहिड्दैको आधा बाटोलाइ
छोडेर जानुलाइ मृत्यु भन्छौ
या हिड्दाहिड्दैको मूलबाटोलाइ
मोडेर जानुलाइ मृत्यु भन्छौ
फुल्दाफुल्दैको कोपिलालाइ चुटाएर
जीवनलिला समाप्तिको घोषणा गर्छौ

म पटक्कै मन्जुर छैन- तिमीसित ।

म सपाट अँध्यारो बिलाएपछि छाएको उज्यालोलाई बिहानी भन्छु ।
तर तिमी
मध्यरातमा एकैछिन बलेको
आवेशको राँकोलाइ उज्यालो ठान्छौ

यहिनेर तिमी गलत छौ – साथी ।

आकाशमा जून,तारा हुदाँहुदै
धुम्मिएको मौसमलाइ – म रात भन्दिन
ताराहरुले नाच्दानाच्दा- जूनले हास्दा हास्दा थाकेर
जब आराम गर्न गएपछि
उदाएको घामलाइ म दिन भन्छु ।

तर तिमी ……!

मृत्युको बाटो
वेदना र पश्चातापको खोँच
हुँदै मात्र बग्दैनन

जिन्दगीलाइ निरन्तर भोगेपछि
एकदिन आफैं थाकेर सुखको उल्लास मनाउन
बाइपङ्खी घोडा चढेर जान्छ जीन्दगी –
आकाशभन्दा माथि,धर्तीभन्दा मुनि
त्यहि आनन्दको क्षणलाइ
म मृत्यु भन्छु ।

आयु पुगेर हागाँ,डाँठ,जरा फतक्कै गलेर
ढलेको रुखको शौन्दर्य बेग्लै हुन्छ
जवानी गुजारेर
ओइलाएको फूल उतिकै शुन्दर हुन्छ ।

तिमी सपना देख्दादेख्दैको
निन्द्रा बिथोलेर जानुलाइ
किन मृत्यु भन्छौ?
बिनासाइत किन मृत्युको गित गाउछौ ?


तेस्रो कविता 

घर

भत्काएपछि घर

पहिलाजस्तो बन्दै बन्दैन ।

कि त पहिलाकोभन्दा सुन्दर बन्छ

कि त कुरुप बन्छ

त्यहि कारण घर भत्काउनुपूर्व

मान्छेहरु यति बिघ्न सोच्दारहेछन

सोच्दा सोच्दा स्वयम भत्किन्छन्

घरभन्दा अघि नै

अनि कहिल्यै ठडिदैनन् ।

झ्याल ढोका, कौसी र छानाको सुर आकृतिमा

एउटा पुर्ण घर भएर ।

प्रतिक्रिया दिनुहोस्