Logo

साहित्य यस्तो विधा हो- जहाँ शत्रु पनि विद्वान फेला पर्छन्



सिन्धुपाल्चोक मेलम्ची- ४ निवासी बुवा बालप्रसाद र आमा शान्तादेवीका जेठो सन्तान हुन्, अक्षर काका उर्फ रामनाथ खनाल

अक्षर काका मूलत: पत्रकार हुन् । सिमान्त पत्रकार । ओझेलमा परेका पात्र टपक्क टिपेर, आफ्ना शब्दमा उनेर मूलधारमा ल्याउने मार्काका । आर्यघाटमा लास पोलिरहेका पात्र हुन या दोबाटोमा मकै पोलिरहेका बूढी आमै । साग बेच्ने ‘विचरा’ हुन् या शरीर बेचेर गुजारा गर्नेहरू । सबै उनका कलमका निबमा अटाउँछन् । माफ गर्नुहोला, अहिले किबोर्डका कीहरूमा अटाउँछन् ।

डिजिटल पत्रकारितामा भविष्य खोजिरहेका काका साहित्य कम पत्रकारिता बढी गर्छन् । २०७० सालमा कविता ‘बुढी, आमा र देश’ जन्माएका उनले २०७३ मा ‘देउती’ पैदा गरे । तेस्रो सन्तानको गर्भाधान भएको एकवर्ष बढी भयो । केही व्यवधान नभए यो साल अर्को सन्तान पाठकका हातमा पुग्ने देखिन्छ । उनै अक्षर काकासँग सल्लेरी खबरको शुक्रबारीय विशेषांक ‘सल्लेरी कोलाज’का लागि अन्शु खनालद्वारा गरिएको अक्षरको कुरा यसरी शुरु भयो ।

अन्शु- यहाँको लेखन कार्य कसरी शुरु भयो ? यहाँलाई साहित्य सिर्जना गर्दा के-कस्ता पात्र वा विषयवस्तुले प्रभाव पार्दछन् ?

अक्षर काका- मेरो साहित्य लेखन धुलेटो, सिलेटोमा कखरा कोर्न सिकेसँगै भयो । फरक यत्ति हो, त्यतिबेला अक्षर कसरी बान्कीपूर्ण बनाउने भनेर मिहिनेत गर्थें । अहिले शब्द कसरी सजाउने भनेर सकस पर्छ ।

साहित्य सिर्जनासँग विशेषत: घटना र प्रभाव जोडिएको हुन्छ । आफ्नो आँखा वरिपरि आइरहने दृश्य र परिघटना नै मेरो लेखनको स्रोत हो ।

म कहिलेकाहीँ लेख्नु पर्ने विषय, नलेखिएका विषय र बारबार लेखिएका विषयमै कलम चलाउने गर्छु ।

अर्को, म कहिलेकाहीँ लेख्नु पर्ने विषय, नलेखिएका विषय र बारबार लेखिएका विषयमै कलम चलाउने गर्छु ।

लेख्नु पर्ने विषय लेखिएन भने मेरो अक्षरले दृष्टि गुमाउँछ । समाजप्रतिको दायित्व, लेखकीय जिम्मेवारीबाट च्युत हुन्छ ।

साहित्य यस्तो विधा हो- आलोचना गर्न पनि, प्रशंसा गर्न पनि पढ्नै पर्छ ।

शत्रु पनि विद्वान फेला पर्छ ।

नलेखिएका विषय लेखकका सम्पत्ति अझ भनौँ न गाडधन भइहाले । बारबार लेखिएका विषयमाथिको लेखन लेखक-लेखकबीचको एक किसिमको प्रतिस्पर्धा हो । यसले मलाई खारिन, तिखारिन, निखारिन मद्दत पुर्‍याउँछ ।

अन्शु- भनिन्छ, ‘एउटा राम्रो किताबलाई अझ राम्रो किताब बनाउने काम समालोचकको हो । ‘यहाँले नेपाली समालोचनाको अवस्था के कस्तो पाउनु भएको छ ?

अक्षर काका- लेखक आफैँ समालोचक, समीक्षक हो । जसरी आफ्नो बालबच्चाको कमजोरी आमाबाबुलाई थाहा हुन्छ, त्यसरी आफ्नो सिर्जनाको गुणदोष, कमजोरी आफूलाई थाहा हुन्छ ।

कतिपय स्वीकार्नु पर्छ, कतिपय मेरै शैली भन्दै टार्नुपर्छ ।

म आफ्ना कृतिको आत्मसमीक्षक बन्ने गरेको छु ।

यिनताका आएर नेपाली साहित्य बजारको रूपमा विकास भएको छ । स्वान्त सुखाय: बाट माथि उठेर, चुल्हो बाल्ने आयआर्जनको माध्यम यो पनि हो जस्तो देखिएको छ । व्यावसायिकता बढ्दैछ । लेखन जस्तै समीक्षा-समालोचनाको बजारमा पनि प्रतिस्पर्धा बढ्दैछ । यसरी हेर्दा लेखन र समीक्षा एकै दामलका देखिन्छन् ।

यद्यपि स्वस्थ लेखनफाँटमा समीक्षाले सिर्जनालाई उछिन्नै पर्छ ।

नेपाली साहित्यको रोग निको पार्ने वैद्य कविराज समीक्षक हुन् ।

तर, कहिलेकाहीँ समालोचक आफैँ सरुवा रोगले ग्रस्त देखिन्छन् ।

नेपाली साहित्यको रोग निको पार्ने वैद्य कविराज समीक्षक हुन् । तर, कहिलेकाहीँ समालोचक आफैँ सरुवा रोगले ग्रस्त देखिन्छन् ।

अन्शु- तपाई आफ्नो लेखनको केन्द्र केलाई मान्नु हुन्छ ? के पत्रकार अक्षर काका, साहित्यकार अक्षर काका माथि हाबी हुने गर्छ ?

अक्षर काका- लेखनको केन्द्र समाज हो । मास हो । मासको भावनाको मीमांसा नै साहित्य हो ।

अहो ! यो गम्भीर सवाल !

पत्रकारिता र साहित्यकारिता मेरा दुई सन्तान । आमाको नजरमा कुनै सन्तान घटीबढी हुँदैन । जेठो कान्छो भन्न सकुँला, को राम्रो को नराम्रो भन्न सक्दिन ।

पत्रकार काकाले अक्षर काका हुर्काएको हो । दाजु हुनुको नाताले कहिलेकाहीँ भाइमाथि हावी हुन्छ । स्वभाविक छ, दाजुभन्दा भाइ पछिल्लो र आधुनिक पुस्ता भएकाले सिर्जनामा त्यसको प्रभाव पर्छ ।

अन्शु- आख्यान विधाको अनुभव कस्तो रह्यो ? अर्को पुस्तकको तयारीमा हुनुहुन्छ, आउँदै गरेको किताबमा अक्षर काकाको कुन आवाज सुन्न पाइन्छ ?

अक्षर काका- आख्यान लेखन मेरो रोजीरोटी हो । रोजेको, चुनौती स्वीकारेको पेसा हो । अर्को मान्छे आफैँमा अनौठो आख्यान हो । मिस्ट्रेसी । अनेक भ्रम र रहस्यमा बाँचेको हुन्छ ।

अहिले गर्भिणी छु । आख्यानको भ्रूण पेटमा छ । आमाको कामना सधैं स्वस्थ शिशुको हुन्छ ।

स्वभाविक छ- अक्षर काका सबाल्टर्न, किनाराकृतकै आवाज बोल्छ । र, आफ्नो भागका परेको जिम्मेवार बुताले भ्याएसम्म निर्वाह गर्छ ।

अन्शु- नेपालको सन्दर्भमा साहित्य र राजनीतिको सम्बन्ध के कस्तो छ र कस्तो हुनुपर्छ ?

अक्षर काका- साहित्य समाज हो । समाज साहित्य । यसकारण कि साहित्य पनि सिर्जित हो र समाज पनि ।

साहित्य समाज हो । समाज साहित्य ।

यसकारण कि साहित्य पनि सिर्जित हो र समाज पनि ।

त्यस्तै सम्बन्ध राजनीतिसँग पनि छ । दुवै अभिव्यक्तिका माध्यम हुन् ।

तर, समय अघि सर्दै जाँदा समाज र राजनीतिका सम्बन्धमा अलि फाटो आउन थाल्यो । साहित्यलाई इन्द्रेणी मान्न थालियो । राजनीति सिद्धान्तलाई खैरो ।

यसो किन पनि भयो होला भने, राजनीतिले भन्दा साहित्यले चाँडो मानिसलाई चेतनशील, जागरुक र जागृत तुल्याउँछ । राजनीतिक दलले प्रयोग गर्ने भाषा, सिद्धान्तका आयामहरूमा साहित्य मिसियो भने त्यसले जनताको मनसँग सीधा सम्पर्क राख्न सक्छ ।

अतः राजनीति र साहित्य एकै सिक्काका दुई पाटा हुन् । यी एकअर्काका विकल्प होइनन् । दुईबीच अन्योन्याश्रित सम्बन्ध छ ।

अन्शु- नेपाली साहित्यको बजार कस्तो छ ? यहाँ जे बिक्छ त्यो टिक्छ ?

अक्षर काका- अघि भनेँ, बजार बढ्दो छ । हुन त हिजो एउटा पुस्तक पसलेकहाँ छिरेथेँ । उनी भन्दैथे- “साहित्यक पुस्तक बिक्री स्थिर छ ।” किनभने लेखक अधिर हुन थाले । जे पनि लेख्न थाले । अहिले साहित्य बजार तरकारी बजारसँग मिल्दोजुल्दो छ । विष हालेको फसलको बिगबिगी ।

उनको भनाइसँग म सहमतै त भइनँ । तर यसबाट सचेत छु । म बिक्ने होइन । आफ्नो सिद्धान्त र शैलीमा टिक्ने कित्तातिर उभिन्छु ।

साहित्य यस्तो विधा हो- आलोचना गर्न पनि, प्रशंसा गर्न पनि पढ्नै पर्छ । शत्रु पनि विद्वान फेला पर्छ ।

०००

०००

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्