Logo

राजन मुकारुङ सँग अक्षरका कुरा



वि.सं. २०३१ सालमा भोजपुरको दिल्पा, नागीमा जन्मेका राजन मुकारुङ साहित्यिक आन्दोलन ‘सृजनशील अराजकता’का तीन अभियन्तामध्ये एक हुन् । राजन सहित हाङयुग अज्ञात र उपेन्द्र सुब्बाको ‘सृजनशील अराजकता’ले मूलधार मानिएका अथवा संस्थापन ठानिएका नेपाली साहित्यलाई गजबसँग हल्लाइदिए । सुरुमा कविता मार्फत चर्चा कमाएका राजनले पछिल्लो समयमा उपन्यास मार्फत गहिरो हस्तक्षेप र प्रभाव जमाइरहेका छन् । उनको उपन्यास ‘दमिनी भिर’ ले २०६९ सालको मदन पुरस्कार जित्यो । उपन्यास ‘हेत्छाकुप्पा’ पनि उत्तिकै चर्चित भयो । यसअघि उनको सेतो आरोहण (२०५६), प्रारम्भ प्रक्षेपण (२०५८), जिकिरको गद्दी (२०५९) र मिथक माया (२०६१) कविता सङ्ग्रह प्रकाशित छन् । ‘किराँत संस्कार’ उनको अर्को पुस्तक हो ।

यति खेर आख्यानकार राजन मुकारुङ ‘हाटा जाने अघिल्लो रात’ नामक कविता सङ्ग्रह ल्याउने तयारीमा छन् । उनको यो सङ्ग्रह श्रावन १७ गते शुक्रबारका दिन विमोचन हुँदैछ । यसै सन्दर्भमा मुकारुङसँग सल्लेरी खबरको साप्ताहिक विशेषांक सल्लेरी कोलाजका लागि अन्शु खनालले गरेको कुराकानी:

खासमा सृजनशील अराजकता के हो ? दुई दशकमा यो आन्दोलन बाट के प्राप्ति भयो ?

सृजनशील अराजकता एउटा साहित्यिक अभियान हो, एउटा आन्दोलन हो । नेपाली साहित्यमा जसरी नेपाली समाजको विविधताहरू आउन सकेन, त्यही विविधताहरूलाई लेखौँ भन्ने एउटा अभियान हो । सीमान्तकृत वर्ग, उत्पीडनमा पारिएका मानिसहरूको आवाज नेपाली साहित्यमा लेखिएन, आएन, त्यसैलाई लेखन गरौँ भन्ने कुरा हो ।

सृजनशील अराजकताको अभियानले नेपाली साहित्यमा एउटा धारा तयार भयो ।

एउटा मार्क्सवादी विचार धारा छ, एउटा डेमोक्र्याटहरुको धारा छ,

र नेपाली साहित्यमा पछिल्लो समय पहिचानको एउटा बिचार धारा पनि छ ।

सृजनशील अराजकताको अभियानले नेपाली साहित्यमा एउटा धारा तयार भयो । एउटा मार्क्सवादी विचार धारा छ, एउटा डेमोक्र्याटहरुको धारा छ, र नेपाली साहित्यमा पछिल्लो समय पहिचानको एउटा बिचार धारा पनि छ । त्यो आन्दोलनलाई नेपाली साहित्यमा सृजनशील अराजकताको आन्दोलनले स्थापित गर्‍यो भन्ने बुझाई हो । र, एउटा तेस्रो धारा तयार गर्‍यो भन्ने हो । उपलब्धिको हिसाबले यसैलाई मान्न पर्छ किनकि अहिले पहिचानको पक्षमा लेखेर आउनेहरू प्रशस्त छन्, आइरहेकै छन् । कृतिहरू पनि आए, आउँदैछन् ।

के आवाज विहीनहरूको आवाज बन्न सजिलो छ ?

गार्‍हो छ ।

गार्‍हो के छ भने जसको मुक्तिको लागि भनेर, जसको अधिकारको लागि भनेर हामी लेखन गर्छौ । उनीहरूसम्म हामीले लेखेको कुरा पुग्न गार्‍हो हुन्छ, पुगे पनि उनीहरूले हामीले भनेको कुरालाई सहजै बुझ्न सक्दैनन् । हाम्रो आन्दोलन अहिले उनीहरूको कुरा लेखेर सेन्टरलाई सुनाउने मात्रै भइरहेको छ । उनीहरूमा पनि त्यो पुग्ने हो भने चाहिँ त्यसले निकै ठुलो शक्ति आर्जन गर्छ ।

अहिले सेन्टरमा मात्रै सुनाइराछौं । अनि सेन्टर चाहिँ परम्परागत मान्यतामा छ । उसले चाहिँ स्वीकार गर्दैन । नाटक गर्छ, केही व्यक्तिहरूलाई स्विकारे जस्तो गर्छ तर सम्पूर्ण समग्र खास आवाजहरूलाई सुन्न चाहँदैन ।

भन्नु भो, जो सम्म पुग्नुपर्ने हो उहाँ सम्म पुग्न गाह्रो भो, अब जसको मुद्दा उठाइरहनु भएको छ, उहाँहरूसम्म पुग्न चाहिँ कुन तरिका अपनाउनु पर्ला ?

‘दमिनी भिर’ रेडियोमा बज्यो । जसले पढ्न सक्दैन थियो, उनीहरूले सुने, उनीहरूले सुनिरहँदा आफूलाई भेटे ।

अहिले सबैभन्दा पावर फुल शक्ति भिजुयलमा छ । हामी पनि भिजुयल मार्फत भनिनुपर्ने देखिन्छ किनभने अब अहिले प्रविधिको कारणले मान्छेहरू किताबमा भन्दा मोबाइलमा व्यस्त भेटिन्छन् ।

सृजनशील अराजकता कवितामा मात्रै छ कि अरू विधामा पनि छ ? जस्तो नाटक, चित्रकला, फिल्म..?

म आफैँले चार वटा नाटक लेखिसकें, रिलिज भइसके । सिनेमामा चैँ बलियो गरी आएको छ पहिचान, जस्तो दयाहाङ राई, रामुबाबु गुरुङ उनीहरूले त्यही कन्टेन्टमा काम गरिराछन् । उपेन्द्र सुब्बा जीले स्क्रिप्ट लेख्नुहुन्छ ।

चित्रकलामा पनि पहिल्यै देखि भएको कुरा हो यो । जहाँ हामीले भन्नु भन्दा पहिले कल्चरका कुरा खोज्ने कुरा भएको हो । तर त्यसलाई सैद्धान्तिकरण कसरी गर्ने भन्ने कुरामा चैँ बाधा थियो ।

नेपालमा सबैभन्दा बढी सर्जक पाठक केन्द्रित भएर, बजार सँग जोडिन खोजेर पनि

पछिल्लो समय साहित्य प्रति मानिसहरूको अरुचि बढेर गएको छ ।

लेख्दा पाठकलाई दिमागमा राखेर लेख्नु हुन्छ ?

नेपाली साहित्यको सबैभन्दा ठुलो कमजोरी पहिले साहित्य सोच्नु रहेछ । साहित्य सोचेपछि यो मेरो साहित्यले मान्छेलाई छुन्छ कि छुँदैन, मान्छेहरूले मलाई गाली गर्दिन्छन् कि, पाठकहरू भाँडिन्छन् कि भन्ने सोचिन्छ । वास्तवमा समाज सोच्ने हो पहिले । समाजलाई के के न्याय गर्न सकिन्छ, अथवा कहाँ अन्यायमा को पर्‍यो भनेर समाज बुझ्न थाल्यौँ भने, बल्ल त्यो साहित्यमा आउँछ । नेपालमा सबैभन्दा बढी सर्जक पाठक केन्द्रित भएर, बजार सँग जोडिन खोजेर पनि पछिल्लो समय साहित्य प्रति मानिसहरूको अरुचि बढेर गएको छ । हामीले सामाजिक न्यायको लागि मात्रै सोच्ने हो भने लेखमा समाज आइहाल्छ । हामीले ल्याउनु पर्ने समाजको अनुहार हो ।

फिक्सन र ननफिक्सन कुन चाहिँ पावर फुल ?

सैद्धान्तिक बहस गर्ने कुराहरूमा ननफिक्सन नै हो । म आफू धेरै भन्दा धेरै ननफिक्सन नै पढ्छु, तर फेरि आम मानिसहरूमा पुग्नको लागि चाहिँ फिक्सन एउटा बाटो हो । ननफिक्सन चाहिँ एकेडेमीक सेक्टरले बहस गर्ने विषय भयो । तर आम मानिसलाई कन्भिन्स गर्नेमा चाहिँ फिक्सनको भूमिका छ ।

तपाईँले पढ्नु भएका अग्रज लेखकहरू, तपाईं सँगैका दौतरी लेखकहरू अनि नयाँ उदाउँदा तन्नेरी लेखकहरू, समग्रमा यी तीन पुस्ताको लेखनलाई क्रमैमा हेर्दा, नेपालमा लेखनको विकास क्रम कस्तो पाउनु हुन्छ ?

नेपालमा एकदमै धेरै पोलिटिकल मुभमेन्ट भए । पटक पटक जनताले सत्तासँग लडिरहनु पर्‍यो । नयाँ नयाँ व्यवस्थाको नाम चाहिँ परिवर्तन भयो तर व्यवस्थाको मनोविज्ञान चाहिँ परिवर्तन भएन । व्यवस्था चलाउनेहरूको मनोविज्ञान उस्तै रह्यो । जसको कारण अघिल्लो पुस्ताले पनि माथिका मान्छेको भाषण नै लेखे । हाम्रो पुस्ताले पनि विद्रोह नै गर्नु पर्‍यो, फेरि अहिलेको पुस्ताले पनि अहिलेको सत्तासँग फेरि भिड्नै पर्ने भा’छ ।

जसको कारणले लेखनमा फ्लो आयो भन्न चाहिँ मिल्दैन । किनभने हामीलाई खाली लडाइ गर्नुपर्ने बनायो । हामीले कलालाई जोड दिनुपर्छ भन्ने समय नै आएन । हामी सत्तासँग लडिरहनु परेको छ, अहिले पनि ।

विश्व साहित्यलाई हेर्दा युद्धले साहित्य, कलामा धेरै परिवर्तन ल्याएको देखिन्छ, नेपालमा पनि दश बर्षे जनयुद्ध भयो, यसबाट नेपाली साहित्यले केही प्राप्ति गर्‍यो ?

जनयुद्धले तल्लो तहसम्मका मान्छेलाई आफ्नो हक अधिकार प्रति सचेत रहन सन्देश दियो । त्यसको प्रभाव लेखनमा पनि आएको छ । तर जसरी जे लेखिनु पर्थ्यो, त्यो चाहिँ भएन । जस्तो जनयुद्ध भोगेरै आएका मानिसहरूले लेख्दा एकदमै क्रूरता पूर्वक लेख्दिनु हुन्थ्यो । अर्को तिर जनयुद्ध नभोगेकाहरूले जनयुद्धलाई हेर्ने दृष्टिकोण नै अलग बनाइदिएका छन् । जसको कारण विमर्श भएको छैन । विमर्श नहुनाले हुनुपर्ने उन्नति पनि भएको छैन । विकास परिवर्तन निकै हुन खोजेको हो । परिवर्तन भनेको विकासमा मात्रै हुँदैन परिवर्तन त चेतनामा हुने कुरा हो । अनि मात्रै परिवर्तन हुन्छ । हाम्रो चेतना अझै सङ्क्रमणमा छ ।

परिवर्तन भनेको विकासमा मात्रै हुँदैन परिवर्तन त चेतनामा हुने कुरा हो ।

अनि मात्रै परिवर्तन हुन्छ । हाम्रो चेतना अझै सङ्क्रमणमा छ ।

नेपालमा प्रज्ञा प्रतिष्ठानले साहित्यको विकास या साहित्यमा गर्नुपर्ने योगदान कत्तिको गरिराछ जस्तो लाग्छ ?

प्रज्ञा प्रतिष्ठान, अहिले पनि सरकारले उसका आफ्ना मान्छेलाई टिका लगाएर बनाउने प्रक्रियामै चलेको हुनाले त्यसबाट आशा गर्ने कुरा छैन । किनभने उसले त सत्ताकै पक्षमा काम गर्छ । समग्र भाषा साहित्य कलाको लागि काम भएको जस्तो लाग्दैन । खाली भत्ता पचाउने काम मात्र गरेजस्तो देखिन्छ । त्यहाँ जाने प्राज्ञिक मान्छेहरू पनि पार्टीको निर्देशनमा नै जाने हुनाले ऊ साहित्य प्रति, वाङ्मय प्रति भन्दा पनि नेता प्रति जिम्मेवार भइरहेछ । त्यहाँबाट काम हुन्छ र भइरहेछ भनेर विश्वास नै गर्न सकिँदैन ।

बरु हिजो जति बेला त्यसको सुरुवाती काल थियो, त्यो कालमा केही कामहरू भए । भलै त्यो महेन्द्रको राष्ट्रवादलाई स्थापित गर्नको लागि एकेडेमीबाट भएको काम होस्, तर अहिले त त्यो पनि भएन । हरेक नेता पिच्छे सिफारिसमा गएका मान्छेहरूको कारणले आफ्नो, नेताकै रुचि लाभको लागि मात्रै काम गर्छन् । उदाहरणको लागि प्रज्ञाले गर्ने कविता महोत्सव कति धेरै विवादास्पद हुने गरेको छ ।

मदन पुरस्कार जितिसकेका लेखकबाट पाठकको अपेक्षा पक्कै धेरै हुन्छ, ‘हाटा जाने अघिल्लो रात’ले त्यो अपेक्षा पुरा गर्न सक्छ ?

कुनै पनि कृतिको आफ्नै उद्देश्यहरू हुन्छन् । जस्तो मैले यो कविता सङ्ग्रह निकाल्नुमा पनि एउटा उद्देश्य छ ।

नेपालमा सांस्कृतिक रूपान्तरणको लागि, सामाजिक परिवर्तनको लागि कतै न कतै आन्दोलित ढङ्गले लेख्ने लेखकहरू थिए । उनीहरू कम्तिमा सत्ताको विपक्षमा उभिएर लेख्थे । सत्तालाई खबरदारी गर्थे । तर अहिले त ती सबै आफै सत्ताधारी भाछन् । तिनीबाट आन्दोलनको विषयमा केही आउला भन्ने आशा पनि गर्न सकिँदैन । प्रतिपक्षका लेखक पार्टी जस्तै थला परेका छन् ।

मैले मदन पुरस्कार मिट गर्नुपर्छ भनेर किताब लेख्दिन । जति मानिसहरू असन्तुष्ट हुनुहुन्छ अथवा यो सरकारबाट वा यो सत्ताबाट

यो-यो कुरा भएर जानुपर्छ भनेर अपेक्षा राख्नुहुन्छ, उहाँहरुको लागि ठिकै गर्या छु मैले भन्ने लाग्छ ।

स्रष्टा भनेको सचेत नागरिक हो, सचेत नागरिकको अर्थले कम्तिमा सत्तालाई खबरदारी गर्नकै लागि भए पनि मैले कविता सङ्ग्रह निकाल्नु पर्छ भन्ने बोध भयो ।

मैले मदन पुरस्कार मिट गर्नुपर्छ भनेर किताब लेख्दिन । जति मानिसहरू असन्तुष्ट हुनुहुन्छ अथवा यो सरकारबाट वा यो सत्ताबाट यो-यो कुरा भएर जानुपर्छ भनेर अपेक्षा राख्नुहुन्छ, उहाँहरुको लागि ठिकै गर्या छु मैले भन्ने लाग्छ ।

यो कविता सङ्ग्रहमा मुद्दा त एउटा विषय हो, त्यसबाहेक कला पक्ष वा अरू कुनै पक्षमा केही नयाँ प्रयोग  ?

मैले लेखनमा मुद्दा नै खोज्ने हो खासमा । म सामाजिक मुद्दाहरूमा कति न्याय भयो त्यही खोज्ने हो । जहाँ जहाँ न्याय भएको छैन, मैले त्यही लेख्ने प्रयत्न गर्ने हो । यसो हुँदा कुनै नारा जस्तो पनि लेखिएको होला । तर प्रयोग नै गर्नै पर्छ भन्ने चाहिँ मलाई छैन । प्रयोग गरेका कविता पनि छैनन् । मैले चाहेको पनि छैन त्यो । मैले सिधा मानिसहरूले बुझुन् भनेर प्रयत्न गर्न खोजेको हो । तर यो पनि कतिसम्म भयो पाठकले थाहा पाइ हाल्नु हुनेछ ।

लेखाइमा आख्यान सजिलो कि कविता ?

सजिलो त आख्यान नै छ । किनकि कविता थोरै कुराहरूमा भन्नु पर्ने हुन्छ । थोरै बिम्बमा भन्नुपर्ने हुन्छ । बिम्ब बुन्नलाई निकै गार्‍हो हुन्छ । आख्यान चाहिँ एउटा वर्णन हुन्छ । त्यो खेल्दै जाने हो । मलाई कविता चाहिँ गार्‍हो नै लाग्छ ।

नेपाली समालोचनाको अवस्था ?

नेपालको समालोचकहरुसँग विश्वविद्धालयले बनाइदिएको फ्रेम छ, त्यही फ्रेम भित्र बसेर उनीहरूले समालोचना गर्ने हुन् । नयाँ ढङ्गले नयाँ फ्रेम निर्माण गरेर समालोचना गर्ने गरेको चाहिँ भेटिँदैन । नेपालीको समालोचनाको समस्या भनेको समालोचकहरु शास्त्रीय भए । अहिलेको साहित्य यसरी लेखिएको छ भनेर उनीहरूले कोट्याउनै सकेको छैन । पुरानै फ्रेम मात्रै प्रयोग भइरहेको छ ।

नयाँ सर्जकहरूलाई के भन्न चाहनु हुन्छ ?

अहिलेको नयाँ पुस्ता गजबका छन्, कार्फ्ट निकै राम्रो छ अहिलेका पुस्तासँग । संसारको साहित्यलाई हत्केलामा बोकेर हिँड्छ अहिलेको पुस्ता । उनीहरूले जे चाह्यो त्यही पढ्न पाउँछ ।

तर अहिलेको पुस्ताले मुद्दाहरू चिन्न सकिरहेको छैन । समकालीन चेतसँग डराइरहेको जस्तो देखिन्छ । म भर्खर आउँदै छु यो विषय लेख्दा मलाई नरुचाउने हो कि जस्तो गरेर नलेखेर बसे जस्तो लाग्छ । कार्फ्टमा मुद्दा पनि घुल्यो भने साच्चिकै राम्रो हुन्छ ।

०००

शुक्रबारदेखि बजारमा आइरहेको कविता सङ्ग्रह ‘हाटा जाने अघिल्लो रात’ भित्रको ‘आगो’ कविताः

आगो

आगोलाई जिस्काउनु हुन्न भन्ने तिमीलाई थाहा छ…

आगो तातो हुन्छ
आगोले पोल्छ
आगोले डढेलो सल्काउँछ
आगोलाई जिस्काउनु हुन्न भन्ने तिमीलाई थाहा छ ।

पल्टाऊ त किताबहरू ।
आगोको बारे कति धेरै कविताहरू लेखिएका छन् ।

आगोको बारे मुन्दुमूमा झन् धेरै कथा लेखिएका छन्
जस्तो कि-
आगो बल्यो
आगो लाग्यो
आगो सल्क्यो
आगोले जलायो, डढायो
आगो खरानी भयो
आगो सेलायो
आगो त माटो भयो …
आगोलाई जिस्काउनु हुन्न भन्ने तिमीलाई थाहा छ…

माटो भएर त आगो पृथ्वी भयो
पृथ्वी भएर त पृथ्वी फेरि आगो भयो ।

आगोबाटै मान्छे भएको कथा त सारै लामो छ…

भोकाएको अल्छी लोग्ने झैँ
अगेनाको डिलमा बसेर तिमी अगुल्टो ठोसिरहन्छौ
जिस्काइरहन्छौ अनेक निहुँ झिक्दै
जिस्काइरहन्छौ अगेनामा
निर्विकल्प पल्टेको अगुल्टोजस्तो देखेर
जिस्काइरहन्छौ उमेर ढल्केको श्रीमतीलाई….

हो आगोलाई जिस्काउनु हुन्न भन्ने तिमीलाई थाहा छ…

यति हो,
त्यही अगुल्टोमा सल्किरहेको आगो
त्यही आगो त हो तिमीले नदेखेको ।

०००

०००

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्