Logo

बिक्ने कुरासँग सिर्जनालाई तौलिने काम व्यापारीको हो ।



नेपाली साहित्यमा बलशाली नाम हो – भूपिन। वि.स. २०३० चैत्र ३० गते बागलुङको  बलेवामा जन्मिएका उनको खास नाम भुपेन्द्र खड्का हो। पेसाले उप-प्राध्यापक उनी कविता, निबन्ध र आख्यानमा कलम चलाउँछन्। उनका ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक(कविता सङ्ग्रह- २०५३), हजार वर्षको निद्रा (कविता सङ्ग्रह- २०६६), चौबिस रिल (निबन्ध सङ्ग्रह- २०६९),  सुप्लाको हवाइजहाज (कवितासँग्रह- २०७२), मैदारो (उपन्यास- २०७५) जस्ता कृतिहरू प्रकाशित छन्।

No photo description available.भुपिनका प्रकाशित कृतिहरू

स्वर्ण पदक- राष्ट्रिय साहित्य सम्मेलन, दमौली, तनहुँ -२०५३, कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार-२०६७, (चितवन साहित्य परिषद्) ,अभिव्यंजना साहित्य सम्मान- २०६७ , समता काव्य सम्मान, पोखरेली युवा सांस्कृतिक परिवार- २०६७ , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार, अमेरिका- २०११ , उत्तम शान्ति पुरस्कार- २०७० , मदनमोहन जोसी स्मृति पुरस्कार, साहित्य सङ्गम चितवन- २०७१ , रत्न श्रेष्ठ पुरस्कार- २०७२ , वाल्मीकि साहित्य पुरस्कार- २०७३ , नीलकण्ठ राष्ट्रिय साहित्य पुरस्कार- २०७३ , पर्वत साहित्य सङ्गम पुरस्कार- २०७४ आदि   पुरस्कार  प्राप्त गरेका उनी, सार्क कवि सम्मेलन, दिल्ली- २००९ , नेपाल भारत काव्य सम्मेलन, सिलगढी, २०१०,अनेसास पुरस्कार वितरण समारोह, वासिङ्टन डिसी, अमेरिका- २०११ ,सार्क कवि सम्मेलन, आग्रा- २०१४ समेत सहभागी भएका थिए।

प्रस्तुत छ उनै भूपिनसँग सल्लेरी कोलाजको लागि अन्शु खनालले गर्नु भएको कुराकानीको संक्षिप्त अंश :

आख्यानको अनुभव ?

अप्ठ्यारो पदमार्ग छिचोलेपछि देखिएको कुनै अप्रतिम सुन्दर स्थलमा पुगेजस्तो आनन्द अनुभव गरिरहेको छु । पाठकका प्रतिक्रिया पढेर मजा लिइरहेछु । आख्यानमा मेरो स्वैर कल्पना र यथार्थको सम्मेलनलाई पुस्तक प्रेमीहरूले मन पराइदिनु भएकोमा खुसी छु ।

केही अपवादलाई छोडेर हेर्दा नेपाली समालोचना अल्छी छ । यही अल्छी समालोचनाको बोलवाला छ ।


लेखनमा के को मुद्दा उठाउन रुचाउनु हुन्छ ?

एउटै मुद्दामा केन्द्रित हुन रुचाउँदिन म । मैदारो दलित मुद्दामा केन्द्रित उपन्यास थियो । एक चित्रकारले समाजलाई किन उल्टो देखिरहेको छ ? यसको कथा थियो । पात्र नदीनको माध्यमबाट ‘उल्टोलाई उल्ट्यायो भने सुल्टो हुन्छ’ भन्ने चित्रशैलीको विचारबाट प्रभावित थियो । तर मेरो अर्को सिर्जना यही मुद्दामा हुँदैन । त्यो कुनै नयाँ मुद्दामा आउनेछ । लेख्नका लागि अनेक मुद्दाहरू छन् ।

भनिन्छ नि, एउटा राम्रो कवितामाथि एउटा राम्रो समालोचनाको आवश्यकता पर्दछ । नेपाली समालोचनाको अवस्था के कस्तो पाउनुभएको छ ?

केही अपवादलाई छोडेर हेर्दा नेपाली समालोचना अल्छी छ । यही अल्छी समालोचनाको बोलवाला छ । आग्रह त ठिक, तर यहाँ समालोचना पूर्वाग्रह र दुराग्रहले पनि आक्रान्त छ । पूर्वाग्रह र दुराग्रहका लागि कुनै मेहनत जरुरी पर्दैन । अल्छ्याईँ यसका लागि पर्याप्त हुन्छ ।

सामान्यतः: अहिलेको समालोचना प्रयोगशील लेखन र गहनाप्रति अनुदार छ । बनारसी समालोचना अझै हाबी छ । केही समालोचक ह्रस्व, दीर्घ र भाषाको कट्टरतामा नै रुमल्लिइरहेका छन् । तपाईँले लेखनको अवस्था कस्तो छ भनी नसोधेकाले यसबारे केही भन्नु जरुरी लागेन । तर समालोचनाको सम्बन्ध लेखनसँग हुने भएकाले यसबारे छुट्टै विमर्श जरुरी हुन्छ । तर केही समालोचकहरू छन्, जो नवीनता र प्रयोगशिलतालाई उत्खनन गर्न उद्धत देखिन्छन् । तिनीहरूलाई देखेर समालोचनाप्रति आसा जाग्छ।

Image may contain: 2 people

मोफसलमा बसेर साहित्य सृजनामा लागिरहन कस्ता चुनौतीहरू छन् ?

चुनौतीहरू थिए, अब लगभग सकिए । प्रविधिले केन्द्र र मोफसलबिचको ‘लाइन अफ कन्ट्रोल’ लगभग मेटिदियो । अब ‘एलओसी’मा बसेर केन्द्र र मोफसलका पटाका पड्काउनु जरुरी देखिन्न ।

प्रविधिले केन्द्र र मोफसलबिचको ‘लाइन अफ कन्ट्रोल’ लगभग मेटिदियो । अब ‘एलओसी’मा बसेर केन्द्र र मोफसलका पटाका पड्काउनु जरुरी देखिन्न ।


साहित्य र चित्रकला बिचको सम्बन्ध कस्तो छ र हुनुपर्छ ?

दा भिन्चीले एक उक्ति छ, ‘कविता शब्दले लेखेको पेन्टिङ हो । पेन्टिङ रङले लेखेको कविता हो ।’ माध्यम फरक हुन्, तर कविता र पेन्टिङको धर्म एउटै हो । सबैभन्दा प्रभावकारी ढङ्गले भाव, अनुभूति, विषय वा विचारलाई अभिव्यक्त गर्नु।

साहित्यकार आफैमा एक सामाजिक अभियन्ता हो ? समाजको मानसिकता र अवस्था आज जहाँ छ त्यसमा लेखकहरूको योगदान/ दोष के छ जस्तो लाग्छ ?

मेरो विचारमा हरेक लेखक आफ्नो विचार र शैलीको अभियन्ता हो र उसका सिर्जना अभियानका प्रस्तावना हुन् । कुनै राजनीति निर्देशित हुँदैमा लेखक अभियन्ता भइहाल्ने नत्र नहुने भन्ने हुँदैन । म पनि एक अभियन्ता नै हुँ ।

संरक्षण कविता आन्दोलनको एक संस्थापकका हैसियतमा पनि मैले आफूलाई अभियन्ता मान्नु अन्यथा हुँदैन । काव्य आन्दोलनको सदस्य नमान्दा पनि म अभियन्ता नै हुँ । म लेखनलाई समाज परिवर्तनका लागि भनेर लेख्दिन । यो सत्य होइन । सत्य के हो भने लेखन वा सिर्जनाले परिवर्तनको पर्यावरण निर्माण गर्न केही मद्दत गर्न सक्छन् । वा परिवर्तनका लागि क्याटलिस्टको भूमिका निर्वाह गर्न सक्छन् । मेरो जोड यसैमा रहन्छ ।

मैदारो लेखनको मेरो उद्देश्य पनि यही थियो । मैदारो मेरो एक्टिभिजम् नै हो । मलाई विश्वास छ, मैदारोले दलित मुक्ति आन्दोलनलाई कतै न कतै कुनै न कुनै सहयोग गर्ने छ । सम्झिनु पर्छ भनेर लेखेको त होइन, तर दलित मुद्दालाई आफ्नो टेरिटोरी सम्झिनेहरूले पनि कुनै दिन यो कुरा बुझ्नेछन् ।

अहिलेसम्म कुनै मनस्थिति नै बदल्ने किताब पढ्नुभएको छ ?

केही किताब छन् त्यस्ता । यसबारे लामो अनुभव लेख्नु जरुरी हुन्छ ।

म यात्रामा नै सबैभन्दा बढी सिर्जनशिल बन्छु । सृजनात्मकता ठप्प भएको बेला म यात्रामा निस्कन्छु ।


यात्रा र साहित्यको सम्बन्ध कस्तो छ? यात्रा गरिरहँदा लेखन कार्य पनि सँगसँगै हिँड्छ ?

साहित्यको मूल श्रोत नै यात्रा हो । लेखकका विशेष मानसिक मनोदशा यात्रा नै हुन्, जसको कारण लेखकले सिर्जना गर्छ । भौगोलिक यात्रा त मानव सभ्यतालाई यहाँसम्म ल्याइपुर्‍याउने कडी नै भयो । म यात्रामा नै सबैभन्दा बढी सिर्जनशिल बन्छु । सृजनात्मकता ठप्प भएको बेला म यात्रामा निस्कन्छु ।

नेपालमा पछिल्लो समय निबन्धको बजार कस्तो छ? यहाँ जे बिक्छ त्यो टिक्छ ?

बिक्रीका हिसाबले संस्मरणात्मक निबन्धहरूको राम्रै बजार छ कि जस्तो लाग्छ । तर निबन्धले बोक्नुपर्ने बौद्धिकता, वस्तुता र तार्किकताको जुन भार हो, त्यसमा कमी आएकोमा व्यक्तिगत रूपमा मलाई त्यति आनन्द लाग्दैन ।

एक समय थियो, म आफै निबन्ध पढ्न रुचाउँदैनथेँ । निबन्धमा अभिव्यक्तिको अनौठो शक्ति देखेपछि कविता मात्र लेखिरहेको म निबन्धतिर पनि लागेँ । कृतिको रूपमा ‘चौबिस रिल’ प्रकाशित भयो । अहिले धेरै लेखकहरू निबन्धप्रति आकर्षित हुनुहुन्छ । यो सुन्दर कुरा हो । बिक्ने कुरासँग सिर्जनालाई तौलिने काम व्यापारीको हो, लेखकको होइन।

Image may contain: 1 person

पुस्तक पढ्न रुचाउनेहरूलाई तपाईँ कस्तो किताब पढ्न सुझाव दिनुहुन्छ ?

प्रारम्भमा त जे उपलब्ध हुन्छ, त्यही पढ्ने हो । पढ्ने बानी लागेपछि थाहा हुन्छ, सबै किसिमका किताब पढेर साध्य लाग्दैन, यसले फाइदा पनि गर्दैन । तपाईँ किताबप्रति चुजी बन्न थाल्नु हुन्छ । तपाईँ सस्तो भावुकताबाट गहिराइतिर लाग्नु हुन्छ ।

साहित्यकार भए पनि म पाठकहरूलाई साहित्य मात्रै पढ्ने सुझाव दिन चाहन्न । जीवन यति विराट र जटिल छ कि साहित्यले मात्रै यसलाई पक्रन सक्दैन । तपाईँ सङ्गीतमा डुब्नुस्, सिनेमालाई माया गर्नुस्, पेन्टिङ हेर्नुस्, दर्शनका ठेलीहरूमा छिर्नुस्, समाजशास्र पढ्नुस् । मनोविज्ञान नपढे धेरै कुरा छुट्छ । त्यसबाट अछुतो नरहनुस् । बहुविधाको अध्ययन जीवन र समाज बुझ्न अपरिहार्य छ ।

०००

प्रस्तोता : अन्शु खनाल

०००

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्