Logo

बैँसको सबैभन्दा मीठो सुवास चल्ने उमेर– ‘गुलाबी उमेर’ सार्वजनिक !



Spread the love

काठमाडौं । मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ सार्वजनिक गरिएको छ। राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार(हिजो) आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले पुस्तक लोकार्पण गरेका हुन्।

उक्त कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, कलाकार जितु नेपाल, अभिनेत्री रिमा विश्वकर्मा साथै साहित्य अनुरागी एवम् पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पुस्तक विमोचनपछि अर्का मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले यो पुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताए। यो समयमा किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षाैपिच्छे उनीहरुको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो देखाउने प्रयास पुस्तकले गरेको उनले बताए।

यो समयमा किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षैपिच्छे उनीहरुको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो देखाउने प्रयास पुस्तकले गरेको उनको भनाइ छ। यसमा फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको उनको टिप्पणी छ।

नेपाली साहित्यमा किशोर साहित्यको अभाव रहेको र त्यसलाई पूर्ति गर्न यो उपन्यासले सघाउने धारावासीको भनाइ रहेको थियो ।

नायिका केकी अधिकारीले पुस्तक एकदमै फरक लागेको प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो। मलाई लाग्छ, यो पुस्तकमा  प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटना-परिघटनालाई सम्झन्छन्।’

उमेर’ लोकार्पणको लागि तस्बिर परिणाम

कार्यक्रममा लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए। उनले भने, ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए। यो उपन्यास विद्यार्थीहरुले दिएको त्यही गृहकार्य हो।’

पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा पस्किएका छन्। जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ। यही उमेरको कथा नै गुलाबी उमेर हो।

लेखकले पुस्तकमा उमेरलाई पाँच भागमा विभाजन गरेका छन्।

पहिलो- जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, जो सबैभन्दा अबोध र निश्छल हुन्छ।

दोस्रो- १३ देखि १९ वर्षसम्म गुलाबी उमेर, जुन सबैभन्दा तरल र कल्पनाशील उमेर हो।

तेस्रो- २० देखि ४० वर्षसम्म मखमली उमेर, जसलाई ऊर्जावान् र शक्तिशाली उमेरका रुपमा बुझ्न सकिन्छ।

चौथो- ४१ देखि ६० वर्षसम्म बैजनी उमेर, जुन सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर हो।

पाँचौं- ६१ देखि मृत्युपर्यन्तको समयलाई लेखकले अस्मानी उमेरका रुपमा चित्रण गरेका छन्, जो सबैभन्दा आध्यात्मिक अवस्था हो।

पुस्तक : ‘गुलाबी उमेर’

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको ३७८ पृष्ठको यस पुस्तकको मूल्य ४९८ रुपैयाँ राखिएको छ।

 

सम्बन्धित:

बैँसको सबैभन्दा मीठो सुवास चल्ने उमेर हो – ‘गुलाबी उमेर’

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्