Logo

नारी दिवस र नेपालमा नारीको अवस्था



Spread the love

आज मार्च ८ अर्थात् अन्तरराष्ट्रिय नारी दिवस । यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । आजको दिनमा संसारभरि नै विभिन्न कार्यक्रम गरेर महिला दिवस मनाइन्छ ।
राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तरराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो दिवस सर्वप्रथम् सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तरराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

नारी दिवसको इतिहास
संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोसलिस्ट पार्टीले सन् १९०८ को अन्तरराष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तरराष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताधिकार दिनु थियो । त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन । १९१७ मा रसियाका महिलाहरूले महिला दिवसमा गाँस वास र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छाडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो । त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । यी दुई दिनमा केही फरक छ । जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा पथ्र्यो । जब की ग्रेगेरियन क्यालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूपमा मनाइन थालियो ।

नेपालमा नारीको अवस्था

“नारी पुरुष सरोबरी, सँधै भरी बरोबरी”

संसारमा लैगिंक समानताको अभियान नारामा मात्र सीमित भएको देख्न सकिन्छ । संसारमा निकै विकसित भनिएका देशहरूमा पनि महिलाहरू दमित अवस्थामा रहेको पाइन्छ । त्यसैले नेपालमा पनि नारीहरूको अवस्था दयनीय नै छ भन्न सकिन्छ । देशको सर्वाेच्च पद राष्ट्रपति अनि प्रधानन्यायाधीश पदमा महिला नै भएका थिए तर अहिले प्रधानन्यायाधीशमा नारी हुनुहुन्न ।

राष्ट्रपतिदेखी प्रधानन्यायाधीश सम्म महिला भएको देशमा महिलाले नेतृत्व त पायो तर कति निणर्यात्मक भूमिका खेलेका छन् भन्ने कुराले बढी महत्व राख्दछ ।
महिला नै राष्ट्रपति भएको देशले आज बर्ष दिन बितिसक्दा पनि निर्मलाले न्याय पाएकी छैनिन् भने महिलाहरु छाउगोठमा चिसोले मरेका छन् ।

अब समाजको कुरा गर्नुपर्दा समाजमा महिलाको अवस्था राम्रो छैन । अझै पनि महिलालाई घरको सँघार पार गर्न सय पटक सोंच्नु पर्छ । जस्को कारण एउटा पितृसत्तात्मक समाज दोस्रो आर्थिक कारण । अरुको अधीनमा रहेसम्म महिला माथि उठ्न सक्ने छैनन् ।

एउटा पुरानो उखान छ,
“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’’… अर्थात् “जहाँ नारी पूजिन्छन् त्यहाँ देवता रम्दछन्” तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ ।

एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौँ, समानतालाई सहकार्यमा रुपान्तरण गरौँ, देवी, कुमारी, पञ्चकन्या आदि विभिन्न स्वरुपमा नेपाली समाजले नारीको अर्चना गर्दै आएकै हो, यो क्रम चाडबाडमा एउटा अनि व्यवहारमा एउटा बनेर चलिरहोस् । नारीहरु आमा रूपका जीवित देवी हुन् यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्वपूर्ण कारण हो, सुन्दरता अनि समानता दुबैको समानान्तर लहरहरु बढ्दै जाउन् । तमाम आमा, हजूरआमा, दिदि बहिनी समग्रमा नारीस्वरूपलाई धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्