Logo

चन्द्रकोट आगलागी: शोकसँगै पीडा



Spread the love

८ वैशाख, गुल्मी – गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ स्थित शान्तिपुरको एक पसलमा आगलागी हुँदा लाखौंको क्षती भएको छ । बाग्लुङको बरेङ गाउँपालिका वडा नम्बर तीनका वडा अध्यक्ष पूर्ण खनालको पसलमा सोमबार आगलागी हुँदा उनका कान्छा छोरा १६ वर्षिय समीर खनालले ज्यान गुमाएका छन् भने परिवारका अन्य तीन सदस्य घाइते भएका छन् ।

बाग्लुङ बरेङका जनप्रतिनिधि पूर्ण खनालको परिवारले गुल्मीको शान्तिपुरमा झन्डै ७ वर्ष पहिलेदेखि व्यापार व्यवसाय गर्दै आएको थियो ।

सोमबार भएको आगलागीबाट उनको परिवार शोकसँगै पिडामा डुबेको छ । शान्तिपुरस्थित प्रहरी चौकीका सइ राम प्रसाद धावलका अनुसार सोमबार बिहान करिब ११:३० बजे तिर आगलागी हुँदा उनका कान्छा छोरा समीर खनालको ज्यान गएको छ भने जेठा छोरा २१ वर्षिय सञ्जय खनाल , उनकी श्रीमति र स्वयम खनाल पनि घाईते भएका छन् । घाइते सबैलाई उपचारको लागि पाल्पा स्थित मेशिन अस्पतालमा पठाईएको सहि धावलले जानकारी दिएका छन् ।


परिवारका सबै सदस्य शोकसँगै पिडामा भएका कारण क्षतीको यथेष्ट विवरण सङ्कलन गर्न प्रहरीलाई समेत समस्या पैदा भएको छ । किराना पसलसँगै डिजेल, पेट्रोल, मट्टीतेलको समेत खनालले व्यापार गर्दै आएका थिए । उनको सबै गोदामसँगै पसलको सबै समान नष्ट भएका कारण कम्तीमा पनि २० लाख भन्दा बढिको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

बिहान ११:३० मा लागेको आगो प्रहरीले २ बजे मात्र नियन्त्रणमा लिन सफल भएको थियो भने आगो नियन्त्रणको लागि सइ राम प्रसाद धावलको नेतृत्वमा शान्तिपुर प्रहरी चौकीबाट १० जना प्रहरी, मजुवा प्रहरी चौकीबाट ५ जना, छिमेकी जिल्ला बाग्लुङको नयाँ बजार प्रहरी चौकीबाट समेत दुई जना प्रहरी परिचान गरिएको थियो । त्यस्तै, शान्तिपुरका स्थानीयबासी तथा जनप्रतिनिधिको समेत थप सहयोग रहेको थियो ।

पसलमा आगोजन्य सामग्री हुँदा परिवारका सदस्यलाई बचाउन र आगो नियन्त्रणमा लिन कठिनाई भएको प्रहरीले बताएको छ । खनालको पसलले लकडाउनको समयमा एउटा सटर मात्र खोलेर समान बिक्री वितरण गर्दै आएको बताईएको छ ।

कान्छा छोरा समीर खनाल तल्लो सटरमा रहेको र ग्यासको मुस्लोले उनलाई लाग्दा भाग्न नसकी ज्यान गएको बताईएको छ । त्यस्तै परिवारका अन्य सदस्य माथिल्लो तलामा रहेको र छिमेकीको घरबाट हाम फालेर उनिहरुलाई प्रहरीले बचाउन सफल भएको थियो ।

सिमित जनशक्तिका बाबजुद पनि प्रहरीले खनालको घरसँगै जोडिएका घर र अन्य पसललाई थप क्षती हुनबाट जोगाउन सफल भएको छ ।

घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्