Logo

कोरोनाबाट अहिलेसम्म गुल्मी सुरक्षित, ५८ जनाकै रिपोर्टि नेगेटिभ



Spread the love

११ वैशाख, गुल्मी – प्रदेश पाँचको पहाडी जिल्ला गुल्मी अहिलेसम्म कोरोनाबाट सुरक्षित देखिएको छ । विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका ५८ जनाको र्यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले बताएका छन् ।

अहिलेसम्म मदाने गाउँपालिकाका १० जना, धुर्कोटका ९, गुल्मी दरबारका १०, रुरुका ४,कालीगण्डकीका २, इस्माका ८, रेसुङ्गा नगरपालिकाका ३ , मुसिकोट नगरपालिकाका ८ र प्रहरी हिरासतमा रहेका तीन जनाको र्यापिड टेस्ट परिक्षण गरिएको छ ।

प्रहरी हिरासतमा बसेका तीन जना बाहेक अरु सबैको र्यापिड टेस्ट परिक्षण स्थानीय तहमै पुगेर गरिएको थियो । पछिल्लो समय १७ सय ५० को हाराहारीमा नागरिकहरु गुल्मी भित्रिए पनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या भने न्यून छ । अधिकतम ८१ जनासम्म मात्र क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ

बाहिरबाट आएका नागरिकहरुको निगरानी बढाईएको र उनिहरुको घर परिवारको समेत विवरण खोज्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भरत शर्माले सल्लेरी खबरलाई बताए ।

त्यस्तै स्वास्थ्य कार्यालय गुल्मीले पनि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्दै बाहिरबाट आएका सबैको र्यापिड टेस्ट परिक्षण गर्ने तयारी गरिरहेको छ।

मालिका गाउँपालिका छिरेका २७ जना नै क्वारेन्टाइनमा

बिहिबार मालिका गाउँपालिका प्रवेश गरेका २७ जनालाई नै होम क्वारेन्टाइनमा राखिएको छ । मालिका गाउँपालिकाबाट अध्ययन तथा रोजगारीको लागि बुटवलमा रहेका २७ जना बिहीबार गाउँपालिका प्रवेश गरेसँगै उनिहरु सबैलाई आवश्यक व्यवस्थाका साथ होम क्वारेन्टाइनमा राखिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सल्लेरी खबरलाई बताए ।


उनिहरुलाई बुटवल उपमहानगरपालिकाले गुल्मीको छल्दि पनाहसम्म आवश्यक व्यवस्थाका साथ पठाएको र त्यहाँबाट सबैको घरसम्म पुग्ने प्रबन्ध मालिका गाउँपालिकाले मिलाएको हो ।

बिहिबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारी नै सवारी साधनको व्यवस्था गरेर उनीहरुलाई लिन छल्दी पुगेका थिए ।


नेपाल बाहिरबाट आएका नागरिकलाई गाउँपालिकाले बनाएको क्वारेन्टाइन र बुटवल तथा काठमाडौबाट आएकालाई होम क्वारेन्टाइनमा राख्ने गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
घर परिवारलाई आवश्यक प्रशिक्षण दिएर होम क्वारेन्टाइनमा राखिएको मालिका गाउँपालिकाको दावी छ । अहिले यस गाउँपालिकामा होम क्वारेन्टाइन र गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन गरि ३६ जना क्वारेन्टाइनमा रहेका छन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्