Logo

नेता र मन्त्रीकै कारण गुल्मी कोरोनाको जोखिममा



Spread the love

१२ वैशाख, गुल्मी । पछिल्लो समय गुल्मीमा भारत सहित तेस्रो मूलकबाट करिब १ हजार ७ सय ५० को हाराहारीमा नागरिकहरू भित्रिएका थिए । जिल्ला भित्रिएका सबैलाई निगरानीमा राखिएको थियो भने कतिपयलाई क्वारेन्टाइनमा ।

पछिल्लो समय गुल्मी भित्रिएका नागरिक

क्वारेन्टाइनमा बसेकाहरूको कोरोना भाइरसको आवश्यक स्वास्थ्य परीक्षण गरी र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) कार्यलाई अगाडी बढाइरहेको अवस्था छ ।

गुल्मीमा हाल सम्म ५८ जनाको कोरोना भाइरसको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सबैको स्वास्थ्य रिपोर्ट नेगेटिभ आउँदा गुल्मेलीलाई केही राहत मिलेको छ भने हर्ष पनि । तर, अब प्रदेश तथा केन्द्रका मन्त्रीहरूको दादागिरी भनौँ या उनीहरूलाई लकडाउन भन्ने कुरा थाहा छैन भनौँ । उनीहरूकै कारण गुल्मी ठुलो दुर्घटनामा फस्ने देखिन्छ ।

बिहीबार बुटवलबाट ६५ जना गुल्मेली गुल्मी भित्रिए । उनीहरूलाई कुनै पनि नाकामा रोकिएन अझ आश्रयजनक कुरा त के छ भने त्यति ठुलो सङ्ख्यामा नागरिकहरू आउँदा पनि न स्थानीय तहलाई थाहा छ, न जिल्ला प्रशासन कार्यालय नै । थाहा बल्ल भयो जब ती नागरिकहरू स्थानीय तहको आफ्नो नाकामा आइपुगे । जनप्रतिनिधिहरुले सोधपुछ गर्दा उनीहरूले प्रदेश मन्त्री लीला गिरीले पठाएर आएको बताए । लीला गिरी प्रदेश पाँचको पर्यटन मन्त्री हुन् ।

पछिल्लो समय गुल्मी भित्रिएका नागरिक

केही दिन अघि मात्रै जिल्ला विपद व्यवस्थापन समिति गुल्मीले गुल्मी भित्रिएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो । तर, यसरी रातदिन मन्त्रीहरूको पावर लगाउँदै नागरिकहरू गुल्मी भित्रिए स्थानीय तहले क्वारेन्टाइनमा राख्न सक्दैन । यसको ज्वलन्त उदाहरण हो मालिका गाउँपालिका । बिहीबार छिरेका ६५ जना मध्ये २९ जना मालिका गाउँपालिकाका थिए । जसमा दुई जना इस्मा गाउँपालिका, २ जना धुर्कोट गाउँपालिका, १ जना मुसिकोट नगरपालिका र २ प्युठान जिल्लाका नागरिक थिए भने अन्य अरू स्थानीय तहका नागरिक थिए ।

धुर्कोटका दुई नागरिक बाबु छोरा भनिएका उनीहरू भारतबाट आएको कुरा बुझिएको छ । उनीहरू वडा नम्बर पाँचका नागरिक हुन भन्ने कुरा खुलेको छ । यता वडा अध्यक्ष ढुनिराज भण्डारीसँग सल्लेरी खबरले सम्पर्क गर्दा ती नागरिक लामो समय देखि भारतमा रहेको बताए । उनीहरूलाई क्वारेन्टाइनमा राखेर सोधपुछ गर्दा कुनै कुरा सही नबताएको वडा अध्यक्ष भण्डारीले गुनासो गरे । कहिले दैलेखबाट आएको हु, कहिले काठमाडौँबाट भन्ने जबाफ दिएको वडा अध्यक्ष भण्डारीले बताए ।

निरही मालिका गाउँपालिका

क्वारेन्टाइनको सवालमा गुल्मीको मालिका गाउँपालिका निरही साबित भएको छ । भोलिको समस्या देखाउँदै मालिका गाउँपालिका आजै तर्किन खोजिरहेको प्रस्ट भएको छ । पछिल्लो समय मालिका गाउँपालिकामा बुटवल काठमाडौँबाट नागरिकहरू आउने लहर चले पछि थेक्न नसकिने भन्दै सिधै होम क्वारेन्टाइनमा पठाउन थालिएको छ ।

केन्द्र र प्रदेश सरकारको गल्तीको फाइदा उठाउँदै गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने कामबाट तर्किन खोजेको स्थानीयको आरोप छ । क्वारेन्टाइनमा राखेकाहरूलाई नै अवधि नपुग्दै छोडिन थालिएको छ ।

किन गाउँपालिका कमजोर साबित भयो भन्ने प्रश्नमा सबै जनप्रतिनिधिको जबाफ एउटै छ । प्रदेशले समन्वय नगरी मान्छे पठायो । र, काठमाडौँ-बुटवलबाट अझै नागरिकहरू आउँदै छन् भन्ने कुरा आएको छ । यसले हामीलाई थप समस्या पारेको छ ।

तर, यसरी नागरिकहरूलाई गाउँपालिकाले छोडदिदै जाने हो भने क्वारेन्टाइन कसको लागि ? राहत कोष केको लागि ? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो ।
मालिका गाउँपालिकाले छाडि दिए पनि अन्य स्थानीय तहले भने भोलिको समस्यालाई भोलि नै हेराउला भन्ने मनोबलका साथ गाउँपालिका छिरेकालाई अनिवार्य क्वारेन्टाइनमा राख्दै आएका छन् ।

जनप्रतिनिधि र कर्मचारी खिन्न

रातदिन नभनी लकडाउन कार्यान्वयन र कोरोनाको नियन्त्रणमा लागि परेका जनप्रतिनिधि र कर्मचारीको मन्न खिन्न बनेको छ ।
प्रदेश सरकारले मनपरि ढङ्गले नागरिकहरू गाउँ पठाउदा स्थानीय तहलाई समाली नसक्नु भएको छ । इस्मा गाउँपालिकाका उपाध्यक्ष विमला खत्रीले भनिन ‘प्रदेश सरकारका कारण हामीले रातदिन नभनी कोरोना नियन्त्रणमा लागेको काम व्यर्थै बनाई दियो ।’

यसरी नै आफू खुसी ढङ्गले नागरिकहरू पठाए हामीले के गर्ने ? यसरी नै नागरिकहरू गाउँ भित्रिए होम क्वारेन्टाइनमा राख्नुको विकल्प नरहेको धुर्कोट गाउँपालिका वडा नम्बर सातका वडा अध्यक्ष हिम प्रसाद पन्थीले सल्लेरी खबरलाई बताए ।

प्रदेशका नेताहरूले आफूखुसी कुनै समन्वय नगरी बिच बाटोसम्म नागरिकहरूलाई मल घोप्टाए जस्तै गरी छोड्नु दुखद कुरा हो ।

अझ पूर्व मन्त्री गोकर्ण विष्ट तथा अन्य नेताहरूको पहलमा थुप्रै गुल्मी भित्रिने सङ्केत मिलिरहेको छ । यसरी नै नागरिक आफूखुसी पठाउने हो भने गुल्मीमा महामारी नफैलिएला भन्न सकिँदैन । यसतर्फ सबै सचेत हुन आवश्यक देखिन्छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्