Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३८२,४८४
संक्रमित
६,४५२,७०३
निको भएका
३,०६७,६८१
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
२३००
निको भएका
२७८

सम्झनामा छुटेकाे गाउँ



–आदर्श सिग्देल

सधैँ कोलाहल हुने यो सहर आज त्यो गाउँजस्तै सुनसान छ तर आज त्यही गाउँ भरिभराउ छ, यो सहर खाली छ । मोटरगाडी कुद्ने बाटोमा आज कुकुर पल्टेको देख्न पाइन्छ । न त यहाँका पसल नै खुलेका छन् न मान्छेको अनुहार देख्न नै पाईन्छ । आज त्यो गाउँ छाडेर सहर पसेका जति सबै धमाधम गाउँमा शरण लिन पुगेका छन् । तिनै बुढा बाआमाको शरणमा छन् जसलाई गाउँमा एक्लै छाडेर कुनै भविष्य छैन भनी बुढी र छोराछोरी च्यापेर सहर पसेका थिए ।

जहाँ मान्छेभन्दा धेरै बाँदर देखिन्थे । आज त्यो गाउँमा सहरिया बाँदर पसेका छन् । सहरिया बाँदरले भरिएका छन् गाउँहरु । बर्षमा एक पटक बडादशैंमा मुख देखाउने छोराबुहारी चैते दशैंमा पनि मुख देखाउन पुगे । ती बुढाबुढीलाई लाग्छ होला घरमा छोराबुहारी आएका छन् तर के थाहा घरमा छोराबुहारी हैनन आफ्नो ज्यान बचाउँन सहर छाडी गाउँ छिरेका भगुवा हुन् भनेर ।
बाको आँखा र आमाको ममता अगाडि ती छोराबुहारी नै हुन् त्यसैले हर्षित छन् तर दुखको कुरा यो महामारीको अन्त्य मात्र हुनुपर्छ तिनै बुढा बाआमालाई एक्लै छाडेर फेरी सहर पस्नेछन् ।

दैवको लीला भनौँ कि के भनाैँ यसलाई ? जसले गाउँमा केही देखेका थिएनन् आज आफ्नो भविष्य त्यहीं देखिरहेका छन् । आफ्नो बाँच्ने आधार गाउँ नै देखिरहेका छन् । जुन गाउँमा केही थिएन आज त्यो गाउँमा सबथोक छ । जीवन छ, बाआमा छन् सँगै हुर्केका साथीभाई छन् । जुन छोरो हिजोसम्म घुमाउने कुर्सीमा बसी एसीको हावा र मिनरल वाटर खाने गथ्र्यो सोही छोरो आज घरको पिँडीको गुन्द्रीमा बसी घर छेउको जंगलको हावा र पँधेराको चिसो पानी खाँदैछ । अनि छोरोलाई सुनाउँदैछ, ‘म उ त्यो जंगलबाट काठ बोक्ने गर्थेँ, त्यो अग्लो रुखको टुप्पोमा पुगेर हाँगा झार्ने गर्थेँ, त्यो तलको स्कुमा पढ्थेँ, खोलामा माछा मार्न जान्थेँ ।’
आज न त उसले त्यो जंगलबाट घास दाउरा नै बोक्नुपर्छ, न त उ रुखका टुप्पोमा नै पुग्न सक्छ । कुनै बेला बाँदर झैँ रुखका हाँगा चाल्ने उ आज फेँदबाट डालो काट्न पनि धौ धौ पर्छ ।

छेउमा बसेका हजुरबा भने नातीनातिना देख्न पाएकोमा यसै दंग छन् । अझै त्यहीं माथि थप्छन्, ‘तेरो बा यति सम्म चकचके थियो की भनेको केही मान्दैनथ्यो । सबै कुरा बिगार्ने गर्थ्याे । जति गाली खाएपनि मान्दैनथ्यो, स्कुलबाट त कति पटक निकालियो निकालियो ।’

छोरीको रुपमा घरमा आएकी बुहारी भन्छे, ‘मामु ग्याँस सिलिन्डर किन नराखेको के, यो दाउरा त बल्दा नि बल्दैन । जति फुके नि धुवाँ मात्र आउँछ । यसरी त कसरी पकाउने हो र ?’

उसले आज भुलिसकी की कुनै बेला यहीं आगोको चुलोमा बर्खामा भिजेका दाउराबाट आफै खाना पकाउने गर्थी । दमले च्यापेकी बुढी बुहारीले पकाए खान देली र खाम्ला भन्ने आस गरी पिँढीमा बसेकी हात टेक्दै उठ्छिन् र भन्छिन्, ‘ल भयो त नि तिमी बस म पकाउँछु ।’ अनि बुढी आमा दाउरा चुलोमा ठेल्दै फूफू गर्न थाल्छिन् । खरबारीबाट डोकामाथि अझै दुई मुठा घाँस खापेर ल्याउने बुहारी आज दुई पाईला हिँड्दा चार ठाउँमा बस्नुपर्छ । एका बिहानै पँधेरा गएर गाग्री भरी पानी लिएर आउने बुहारी आज घामले पिँढी नछुदासम्म सुत्नुपर्छ ।

बिहान उठेर दैलो पोत्ने बुहारी उठ्ने बितिकै फेसबुक खोल्नुपर्छ, मेरो बारेमा गाउमा कसैले नराम्रो नभनोस्, कसैले यसको बुहारी यस्ती भन्ने सुन्न नपरोस भनेर सबै काम आफै गर्ने बुहारी आज फेसबुक स्टाटसमा कसले के भन्यो भनेर उठ्ने बितिकै हेर्नुपर्छ । अझै गाउँको फोटो हाल्दै ‘आई लभ माई भिलेज, आई मिस्ड दिस लाइफ’ लेखी फेसबुकका भिता भर्नु छ । हुन् त यो दोष उसको हैन जसले यो फेसबुक भन्ने जिनिस बनायो । दोष त सम्बन्धितकै हो ।

घरमा छोराबुहारी आए केही दिन भए पनि सुख पाईएला भनेर आसा गरेका बुढाबुढी नातीनातिनीको चकचक सहंदै बस्नुपर्ने स्थिति छ । कहिले हजुरबाको शिरको टोपी तान्न पुग्छन् त कहिले हजुरआमाकोे मजेत्रो । झनै नातिनातिनीलाई मिठो–मिठो खान दिएर खुशी पाराैँला भनेकी हजुरआमा उनीहरू भने, ‘मामु मलाई नुडल्स खुवाउनुहोस् यस्तो खान्न के’ भन्दै रुन्छन् । हजुरबा गोठबाट बाल्टीभरी दुध लिइ तताउन बस्दा नाती अचम्म परी सोध्छन्, ‘डयाडी, दुध कताबाट आयो ? यहाँ डेरी त छैन ।’ नातीनातिनीलाई खुट्टामा राखेर झ्यानकुटी खेलाउँछु भन्दा नातीनातिनी तर्केर ड्याडी म मोटू पत्लु हेर्ने भन्दै आफ्नै बाको काखमा बसी मोबाइल निकाल्छन् ।

यो बेमौसमी बारिस जस्तै घरमा छोरा बुहारी त आए तर न त त्यो छोरा घर छाड्नु अगाडिको छोरा थियो, न त त्यो बुहारी उही पुरानी बुहारी थिई जसलाई तिनै सासुले घरमा लक्ष्मी मानी भित्राएकी थिईन् ।

अब ती साना नातीनातिनीलाई के भन्नु ? उनीहरूको लागि त त्यो घर आफ्नो हैन ड्याडीको ड्याडीको घर थियो । हुन त त्यत्रो बर्ष त्यो घरमा हुर्केर यत्रो भएको छोरोलाई त आफ्नो घर लाग्न छाडिसकेको छ, उनीहरूलाई किन नलागोस् ? बाआमाको घर नठानी आफ्नो घर लाग्थ्यो भने ती बुढाबुढीले छोराबुहारी, नातीनातिनी देख्न दशैं कुर्न पर्दैनथ्यो ।

यो लेख्दै गर्दा आफ्नै घरको याद आयो, ती असी काट्या हजुरबाको याद आयो, हजुरआमाको याद आयो । अघिल्लो पटक जाँदा, ‘मलाई माथिसम्म लग्दे त, एक्लै जान सक्दिंन, माथि पुगेर तलको खेत हेर्नुपर्यो कस्तो भएछ कुन्नि’ भनेको कुरा याद आयो । हुन त उहीं हजुरबा उहीं खेत हुन् जसलाई न त कुनै प्रचण्ड गर्मीले छेक्न सक्या थियो न त बर्खाको पानीले रोक्न सक्या थियो । आज उमेर बिचमा आयो । मेरा हात समातेर खेत पुर्याउने ती हात आज मैले समातेर खेत देखाउन मात्र भएपनि लग्नु पर्या थियाे । मलाई राम्रोसँग याद छ, आजसम्म कति गाउँ, काठमाडौँ गरेँ । कुनै बेला हजुरबाका ती आँखा टलपल देख्या थिईन यो पटक निस्किंदा ती भित्र गढ्या आँखा आँसुले टिलपिल टिलपिल थिए ।
‘आँखा जुधाएर बा गएँ है’ भन्न नसकी निस्किएको थिएँ म । थाहा थियो म एकछिन बढी बसेँ भने मेरा आँखाबाट आँसु बर्बर्ती झर्ने थिए भनेर । त्यसैले हतार गरी निस्केको थिएँ । वृद्धा भत्ता बुझेकी मेरी हजुरआमै मजेत्रोको गाँठो फुकाली गोडा सय निकाली बाटोमा केही किनी खानु है भनी बिदा गरेकी थिईन् । त्यो पैसा अझै पनि मेरो पर्समा जस्ताको त्यस्तै छ, आमा ।

आज म उहाँहरुसँग त छैन तर यी मनका वहावहरु बन्द कोठाभित्र बसी पोख्दै छु तर जो जो गाउँ फर्किनु भएको छ, तंपाईहरु आफ्नो परिवारसँग हुनुहुन्छ, साथी भाईसंग हुनुहुन्छ । तिनै बाआमासँग हुनुहुन्छ जसको हात समातेर हुर्किनु भएको थियो, तिनै साथीसँगै हुनुहुन्छ जोसँग भेडाबाख्रा चराउन जाँदा चुंगी, गट्टा, डोरी, खोप्पी, डण्डीबियो खेल्नु भएको थियो । फेरि खेल्नुस् ती खेलहरु । एकपटक ती पुराना यादहरु ताजा गर्नुस् । कसलाई के थाहा छ र भोलि के हुने हो ? बस्दासम्म जतिसक्दो समय उनीहरुसँगै बिताउनुहोस्, फालिदिनुस् अहिले यो पढ्दै गरेको मोबाइल एउटा कुनामा । फेरि सहर पसी सकेपछि उहीं चार भित्ता हुन्, त्यहीं मोबाइल हो, ल्यापटप हो । कमसेकम यो समयमा केही सम्झन लायक पलहरु बटुल्नु भयो भने भोलि सहर फर्केपछि फेसबुकमा मलाइ मेरो गाउँघरको निकै याद आउँछ भनी लेख्न पाउनु हुन्छ ।

@IamSigdel

प्रतिक्रिया दिनुहोस्