Logo

संकटको बेला राजनीतिकाे फोहोरी खेल : दुई संघ दुई धारमा, जनता दोधारमा



Spread the love

काठमाडाैं । कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण मुलुक विषम परिस्थितिमा गुजरिरहेकाे छ । लकडाउनसँगै देश अस्तव्यस्त बनेको छ । प्रदेश पाँचको पहाडी जिल्ला गुल्मी पनि कोरोना संक्रमित जिल्ला हो, यहाँ एक जनाको ज्यान गइ सकेको छ । सबै मिलेर सहकार्यका साथ एकजुट भइ अघि बढ्नु पर्ने अवस्थामा गुल्मी रहेकाे छ । तर, गुल्मीका व्यवसायीहरुले भने फरक मत राख्दै कोरोनाको महामारीमा राजनीतिको फोहोरी खेल देखाएका छन् ।

गुल्मी उद्योग वाणिज्य संघले कोरोनाले महामारी रूप लिएको भन्दै जेठ २० गते सम्म सबै व्यापार व्यवसाय बन्द गरौँ भनेर विज्ञप्ति जारी गरेको २४ घण्टा नबित्दै चेम्बर अफ कमर्शले सरकार तथा जिल्ला विपद व्यवस्थापन समिति गुल्मीले गरेको निर्णय कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिंदै व्यवसाय खोल्नु पर्न विज्ञप्ति जारी गरेको छ ।

दुबै संस्थाहरु व्यापारीहरु हकहितमा लडदै आएको उनीहरु दाबी गर्दछन् । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीलाई सल्लेरी खबरले सम्पर्क गर्दा भने, “ कोरोनाको जोखिम बढेका कारण हामीले यस्तो निर्णय गरेका हौँ ।” पछिल्लो समय भारतबाट धेरै नागरिक भित्रिएका कारण जोखिम बढेको उनको भनाई छ ।

साथै भलामीले थपे, “हाम्रा निर्णय विरुद्ध हाम्रा सदस्यहरुले पसल खोलेको अवस्थामा हामीले स्पष्टीकरण माग्छौँ ।” यता चेम्बर अफ कमर्शका महासचिव कृष्ण प्रसाद भण्डारीले सल्लेरी खबरसँग कुरा गर्दै भने, “गुल्मी उद्योगले वाणिज्य संघले हामीसँग कुनै पनि कार्यमा सहकार्य गर्दैन । हामीले सरकार तथा जिल्ला विपद व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्नु पर्छ भन्ने हाम्रो माग हो । सहज र सरल ढंगबाट सामाजिक दुरी कायम गरी जनताले दैनिक अति आवश्यक उपभोग्य वस्तु खरिद गर्न पाउनु जनताको अधिकार समेत हो ।”

प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले दुबै पक्षलाई लिइ समन्वय गर्ने बताएका छन् । उनी भन्छन्, “हामीले दुबै पक्षलाई बोलाएका छौँ । आवश्यक छलफल र समन्वय गरी अघि बढ्नेछाैँ ।”

गुल्मी उद्योग वाणिज्य संघमा नेपाली काङ्ग्रेस हावी छ भने चेम्बर अफ कमर्शमा नेकपा हावी रहेकाे छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्