Logo

अपांग मैत्री बन्दै मालिका गाउँपालिका



Spread the love

असार २, गुल्मी । गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिका अपांग मैत्री गाउँपालिका बन्दै गइरहेको छ ।

आफ्नो जीवनको पुरै समय कष्टकर बिताउन बाध्य बनेका अपांगप्रति मालिका गाउँपालिकाले चासो देखाएको हो ।

उनीहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले आशा अपांग केन्द्र तम्घाससँग साझेदारी गर्दै गाउँपालिकाका सबै वडामा अपांग मैत्री घर, पिँढी, शौचालय तथा अपांग मैत्री संरचना निर्माण कार्य थालिएको मालिका गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरीले बताए ।

यो वर्ष मालिका गाउँपालिकाका सबै वडामा अपांगसहित विपन्न परिवारमध्ये एक-एक जनाको घर तथा शौचालय अपांग मैत्री बनाइँदै छ । जसमध्ये वडा नम्बर ८ मर्भुङ र वडा नम्बर छ अर्जैमा सम्पन्न भइसकेको छ भने बाँकी वडामा असार मसान्तसम्म सक्ने उद्देश्य राखिएको छ ।

अपांग मैत्री संरचना निर्माणका लागि मालिका गाउँपालिकाले पाँच लाख रकम छुटाएको छ । यसै गरी आशा अपाङ्ग केन्द्र तम्घासले मात्र मालिका गाउँपालिकामा दस लाख भन्दा बढी खर्च गरिसकेको आशा अपाङ्ग केन्द्रकी प्रमुख गङ्गा रायमाझी बताइन् ।

धनिश्ररका फेरिए दिनचर्या ।

मालिका गाउँपालिका ६ अर्जेका धनिश्रर अर्याल अहिले २९ वर्षका भए । जन्मजात अपाङ्ग उनी अति विपन्न परिवारका हुन् । बुढा बाबुआमाले उनको रेखदेख गर्दछन् । उनका छोरा हिमाल अर्याल पनि जन्मजात नै अपाङ्ग हुन् । अपाङ्ग मैत्री संरचना अर्थात् आफ्नो घर, आँगन, पिँढी तथा शौचालय मालिका गाउँपालिका र आशा अपाङ्ग केन्द्रले अपांग मैत्री संरचना बनाइ दिएपछि हिजो आज उनका दिनचर्या नै फेरिएका छन् ।

शौचालय जानदेखि लिएर हरेक कुरामा समस्या झेल्दै आएका अर्यालले हिजो आज प्लास्टर गरेको घर आँगनमा सरर ह्विलचियर गुडाउन सक्छन् ।

धनिश्रर भन्दा अझ बढी खुसी देखिन्छन् मालिका गाउँपालिका ૪ अर्खवाङकी सुन्तली नेपाली । उनका ६ सन्तानमध्ये तीन सन्तान अपाङ्ग छन् । अझ श्रीमानले अर्की बिहे गरेपछि कष्टकर भएको सुन्तलीको जीवनमा आजभोलि भने केही आशाको दियो पलाएको छ । हुन त उनको घर अझै पूर्णरुपमा अपाङ्ग मैत्री संरचना बनी सकेको छैन । आँगन र पिँढी सम्पन्न भैसकेको छ भने शौचालय र उनीहरू बस्ने कोठा निर्माणाधीन अवस्थामा रहेको छ ।

आँगन र पिँढी निर्माण सम्पन्न हुनासाथ उनले ठुलो राहतको महसुस गरेकी छिन् । ६ सन्तानमध्ये उनका दुई छोरा र एक छोरी अपाङ्ग छन् । उनले भनिन्,’ पहिला-पहिला भित्र बाहिर गराउन मेरो अथवा घरका अरू सदस्यको सहारा चाहिन्थ्यो तर उनीहरू हिजो आज आफै ह्विलचियर गुडाएर भित्र बाहिर गर्छन् ।’

‘समयमै शौचालय र उनीहरू बस्ने कोठा पनि यस्तै बनाइदिए धन्य हुने थियो । मैले सुखका सास फेर्थेँ ।’ उनले थपिन् ।

सरकारले दिंदै आएको भत्ताबाट उनीहरूका आधारभूत आवश्यकता पुरा गरिदिंदै आएको उनले बताइन् । पक्कै पनि निर्माणाधीन अवस्थामा रहेका अन्य संरचना पनि समयमै सक्ने हो भने सुन्तलीले स्थानीय सरकार भएको महसुस गर्ने छिन् ।

आशाको काम आस लाग्दो र जिम्मेवार गाउँपालिका ।

वि सं २०६३ साउन ४ गते स्थापना भएको आशा अपांग केन्द्र पछिल्लो समय अपाङ्गप्रति भगवान साबित भएको छ । अपाङ्ग भएपछि घर, परिवार तथा समाजबाट उचित संरक्षण नपाएका लागि केन्द्र वैकल्पिक माध्यम बनेको छ । विभिन्न व्यक्ति, विदेशी संघ-सस्था तथा स्थानीय सरकारको राम्रो सहयोग साथ रहेको संस्थाकी प्रमुख गङ्गा रायमाझी बताउँछिन् ।

अहिलेसम्म यस संस्थाबाट ८ हजार भन्दा बढीले सेवा लिएका छन् भने तीन सय भन्दा बढी यसै संस्थाबाट स्वरोजगार बनेका छन् । अति विपन्न परिवारका अपाङ्ग व्यक्तिहरूलाई आफूहरूले सहयोग गर्दै आएको संस्थाको दाबी छ । स्थानीय सरकारसँग समन्वय गर्दै अपाङ्गहरुप्रति गरेको यो कार्य सराहनीय छ ।

यता मालिका गाउँपालिकाले पनि अपाङ्गता भएका प्रति देखाएको यो चासो उदाहरणीय छ । एक त विपन्न परिवार त्यसै माथि घरका दुई, तीन जना भन्दा बढी सदस्य अपाङ्ग हुँदाको पीडा शब्दमा लेख्न र भन्न सकिँदैन, स्वयं भोग्नेलाई मात्रै थाहा हुन्छ । राज्यबाट दिँदै आएको सेवा सुविधा प्रत्याभूत नहुँदा उनीहरू थप समस्यामा परेका छन् । मालिका गाउँपालिकाले प्रत्येक वडाका एक-एक जना विपन्नसहित अपांग भएका परिवारको घर अपाङ्ग मैत्री संरचना बनाउने यो नीति आगामी वर्ष बढाउन आवश्यक छ । साथै उनीहरूको क्षमता अनुसारको सीप तथा तालिमको व्यवस्था गरी उनीहरूलाई स्वरोजगार बनाउन तर्फ पनि गाउँपालिकाले ध्यान दिन आवश्यक छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्