Logo

कायरहरु !!



Spread the love

विगत केहि दिनदेखि चर्चाको विषय- फलानोलाई लक्षित गरी बम बिस्फोट! यतिजना घाइते। बिस्फोट गराउनेको खोजी जारी !

परिवर्तन, देशले नचाहेको हैन। तर धेरै खापिसक्यो देशले तिमिजस्ता कायरहरुले परिवर्तनका नाममा  गरेका आन्दोलन अनि  प्रदशनले।  घरमा बाबु बाजेले जोतेको हलो जोत्न लाज मान्नेले के गर्छौ क्रान्ती।  कति दिन टिकाउछौ तिम्रो क्रान्ति चन्दा आतंकको भरमा।  खाडीमा गएका ती श्रमजीवीका परिवारबाट कति दिनसम्म लुटेर गर्छौ, तिम्रो क्रान्ति? दिनभरी ज्याला मजदुरी गर्ने  मजदुरहरुलाई क्रान्तिमा लागएर कति दिनसम्म तिनका सन्तानलाई भोकै राखेर गर्छौ, तिम्रो क्रान्ति! शिक्षाका मन्दिर, विद्ध्यालय बन्द गरेर त पक्कै तिम्रो क्रान्ति पुरा हुँदैन होला।  बरु यसको साटो ती विकट गाउँहरुमा पढाएर पुरा गर, तिम्रो क्रान्ति।

वेश्यालयमा काम गर्नेहरु बाट क्रान्ति पुरा गर्ने सपना देख्न छोड।  छोरी, बहिनी नभन्ने ती पापीहरुका ती अंगहरु काट अनि हुन्छ, क्रान्ति।  गाउँका काक्रा चोर्ने चोरहरुलाई साथमा लिएर हुदैन तिम्रो क्रान्ति।  बरु आफ्नै बारीमा आफ्नै पौरखले काक्रा फलाउने किसानलाई संगै लेउ अनि हुन्छ, तिम्रो क्रान्ति!

घरमा गएर जोत ती बाझा खेत अनि बारीहरु अनि सम्भव छ, हाम्रै पालामा क्रान्ति। विदेशीका बन्दुक किनेर देशमा क्रान्ति गर्ने सपना देख्न छोड।  बरु देशमै कलम उत्पादन गरेर सिकाउ कलिला बालबालिकालाई कलम चलाउन अनि हुन्छ, देशमा क्रान्ति। साचै जनताकै लागि तिम्रो क्रान्तिको अभियान हो भने बाहिर निस्केउ ती तिम्रा ठुला अनि सुबिधासम्पन्न महलबाट, निकाल ती सोझा कार्यकार्तालाई जङ्गलबाट! कति दिन सम्म गर्छौ विदेशी गोलि र छर्राहरुको भरमा! घरमा परिवार मिलाउन नसक्नेबाट देश हाकेको हेर्ने , दिवा सपना हुन सक्छ। केही गर्न नसकेर जंगल पसेकाबाट क्रान्ति सम्भव छैन! सौताका रिसले ओछ्यानमा मुत्ने तिम्रा एजेण्डाले सम्भव छैन, क्रान्ति! छिमेकिको व्यापार बढाइदिन आफ्नै बाबुआमा र छोराछोरी मारेर क्रान्ति हुदैन, कायरहरु।

कति हान्छौ ती विदेशीले भाडामा दिएका बम र गोला अनि  तर्साउछौ  सोझासाझा जनतालाई! कति मार्छौ आफ्नै दाजुभाई! आऊ हानौं ती बमहरु कर्णालीका चट्टान अनि भिरहरुमा, बनाउ बाटो गोरेटा, अनि सडकहरु, निर्माण गर सिचाई गर्ने नहरहरू! पड्काउ ती बन्दुकहरु र छेड बिच्छेद पारौ भ्रष्टाचारी र अपराधिहरुका छाती। अनि पुरा हुन्छन, तिम्रो क्रान्तिका अभिभारा! अनि बन्छ देश!

परीक्षा देखि नै डराएर भाग्नेले के गर्छौ क्रान्ति, परीक्षा दिन गएका आफ्ना साथीलाई थर्काएर। साँचै चाहन्छौ भने देशमा क्रान्ति आउँ सामेल होऊ परीक्षामा र उतिर्ण भएर देखाउ। होलान कति कमीकमजोरी हाम्रो परीक्षा प्रणालीमा तर त्यसका विरोधमा परीक्षामा नै सहभागी नभई भाग्नु कायरता हो। पास गर ती खुड्किला अनि बनाउ समयसान्दर्भिक नीति नियम। बनाउ, धनिका लागि पनि नियमा। बनाउ सबैलाई समान हक अधिकार अनि  पो पुरा हुन्छ तिमीले देखेको र जनताले चाहेको, क्रान्ति !

प्रतिक्रिया दिनुहोस्