Logo

गोर्खा भर्ती सैनिकबारे विप्लवको आपत्ति, पैसाका लागि युवा नबेच्न सरकारलाई आग्रह



Spread the love

प्रतीकात्मक तस्वीर

असार ६, काठमाडाैं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पाटी नेकपाले गोर्खा भर्ती केन्द्रको विषयमा आपत्ति जनाएको छ । पार्टीका महासचिव नेत्र विक्रम चंद विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै गोर्खा भर्तीकेन्द्र खारेजीको माग गरेका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ,  “पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दिमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय हो ।”

गोर्खा भर्तीकेन्द्र खारेजको माग गर्दै नेपाली युवालाई चीनविरुद्ध लड्न नपठाउन पनि आग्रह गरिएको छ। साथै विज्ञप्तिमा उल्लेख गरिएको छ, सीमा विवादको विषयलाई लिएर हालै चीन र भारतबीच तनाव देखिएको अवस्थामा भारतले सीमा क्षेत्रमा गोर्खा रेजिमेन्टलाई तैनाथ गराउने तयारी गरिरहेको अवस्थामा नेकपाका महासचिव विप्लवले दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्काका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित नभएको स्पष्ट पारिएको छ ।

साथै सीमा क्षेत्रमा गोर्खा रेजिमेन्ट खटाउने कुरा याे असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध पनि भएको भन्दै महासचिव विप्लवले उक्त कदम समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको पनि उल्लेख गरेका छन् ।

महासचिव विप्लवले देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न र युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यसँग माग पनि गरेका छन् । उनले नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् । उनले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिलसमेत गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्