Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

बिहेकाे बाजा



–इन्दिरा प्रसाई

आज अञ्जलीको बिहे । यस शहरकी धनाढ्य गौरीशंकरकी छोरी अञ्जलीको बिहे धुमधामसँग हुनु कुनै आश्चर्य थिएन । शहरका अधिकांश मर्यादित व्यक्तित्वहरु र गौरीशंकरका नातेदारहरु विवाहस्थलमा खचाखच भरिएका थिए । आज विवाहको लगन बेलुकी साढे आठ बजे नै भएकाले जन्ती पनि छिटै आउने कार्यक्रम थियो । काठमाडौंको मंसिर महिनाको मिठो जाडोमा केटीपट्टिका अधिकांश पाहुनाहरुले भोज खाइसकेका थिए । क्रमशः साँझ छिप्पिदैँ थियो र अब जन्ती आइपुग्ने बेला पनि भइ सकेको थियो किनभने भर्खरै भत्खरु आएर जन्तीको सूचनासमेत दिइ सकेको थियो ।


साहु धनञ्जय पनि यस सहरका अर्का विख्यात व्यापारी नै हुन् । उनले पनि जन्ती सिँगार्न कुनै कसर बाँकी राखेका थिएनन् । उतापट्टिका मानिसले जानकारी दिए अनुसार पाँच प्रकारका त बाजामात्रै राखिएका छन् । किसिम किसिमका बाजा अघि लगाएर आधुनिकभन्दा आधुनिक मोडेलका कारहरुमा जन्ती आइ रहेका थिए । त्यसैले केटीपट्टिका के बुढा, के बुढी, के तन्नेरी, के तरुनी अथवा बालबच्चा नै पनि व्यग्रताका साथ जन्तीको प्रतीक्षा गरिरहेका थिए । त्यक्तिकैमा केही आवाजहरु सुनियो–‘लौ जन्ती आइपुग्यो ।’ सबैले ध्यान दिएर सुन्न खोजे, हो बिहेको बाजा कानमा घन्किन थालेको थियो ।

नभन्दै केहीबेरमै जन्ती गौरीशंकरको आँगनमा आइपुग्यो । नौमती बाजा, पञ्चेबाजा, सैनिक ब्याण्ड, पुलिस ब्याण्ड ओहो ! बाजा पनि कति थरीका । गौरीशंकरको घरै उचाल्ने गरी, टोलै थर्काउने गरी बाजा घन्किरहेको थियो । मानिसहरु घरका बार्दली, पटाङ्गिनी, झ्याल अनि बरन्डा र आँगनका किनारासम्म उभिएर बिहेको बाजामा डुबिरहेका थिए । भव्य सजाइएको बैठककोठामा गहनाका भारीले थिचिएकी बेहुली अञ्जलीले पनि भर्खरै मात्र चलन अनुसार एक लर्को जन्ती हेरेकी थिइ । यस बिघ्न श्रृङ्गार, गहना र मनोरम वातावरणमा पनि अञ्जलीको मन भने रमाउन सकेको थिएन । उसले मनमनै पिताले उसका लागि छनोट गरेको अपार सम्पत्तिको एकलौटी मालिक आजको उसको बेहुलो अतुललाई र उसले आफै छानेको आर्थिक रुपले विपन्न अनुनयलाई दाँजेर हेरी ।

टिकाटालो गर्दा एकै पटक मात्र देखेको अतुल र लामै समयदेखि प्रेम सम्बन्धमा भएको अनुनयका बीच अञ्जलीलाई निकै ठुलो भिन्नता लाग्नु स्वाभाविक पनि थियो । बिहेको बाजा कानको बाटोबाट पसेर अञ्जलीको मुटु नै छिचोली रहेको थियो । ‘पिताले मेरो रुचि मात्र बुझिदिएको भए आज यहीं बाजामा म कति रमाउने थिएँ होला । अतुलको सम्पत्ति र मेरा पिताको सम्पत्तिले मेल खाए पनि आगामी मेरो जीवनले मैले चाहेको अनुनयको पर्यायको रुपमा अतुललाई कतिसम्म स्वीकार गर्ने हो !’

पिताका अघि बाध्य भएर त्याग्नु परेको अनुनयको स्मृतिमा अञ्जलीका आँखाबाट आँसुको भल बगिरह्यो ।


१. तेस्रो तलाको पटाङ्गिनीमा उभिएकी नैनप्रियाले बाजाको आवाजसँगै बीस वर्षअघिको आफ्नो विवाहको दिन सम्झन पुगिन् । साँच्चै त्यस दिन कति रमाइलो, कस्तो उमङ्ग, मिठा सपना र मनभरि काउकुतीहरु मात्रै थिए । तर भोलिपल्टैदेखि नैनप्रियाले लोग्नेको राक्षसी व्यवहारसँग सम्झौता गर्नु परेको थियो । त्यसपछि जीवन उनले सजाएको कल्पनाको महलको ठिक विपरीत भएर गएको थियो । नैनप्रियालाई यस्तो रमाइलो वातावरणमा पनि आफ्नो बिहाको सम्झनाले दुखित तुल्यायो । लगभग आठ वर्षअघि मात्र उनको लोग्नेले आत्महत्या गर्यो । घरव्यवहार र पाँच जना छोराछोरीको जन्जालमा भासिएकी नैनप्रियालाई यस्तो बाजाको आवाजले सधैँजसो मर्मान्त पार्ने गर्दछ ।

२.तल आँगनमा बेतको आराम कुर्सीमा बसेका पैँसट्ठी वर्षीय सेमन्तप्रसादले आँखा चिम्लिएको देखेर उनकै अघिल्तिरबाट जन्तीका अघि पुग्न तर्सिएका एक हुल नखरमाउलीहरु उरालिएर हाँसे । उनीहरुको हाँसो छचल्किएको सुनेर सेमन्तप्रसादले एक पटक आँखा खोलेर हेरे । त्यो दृष्टिमा अपार वैराग्य मात्र थियो । उनकी पत्नी सुरभिको देहान्त भएको दुई वर्ष पनि पुगेको थिएन । बिहेको बाजा सुन्नासाथ उनले सुरभिलाई बिहा गरेर ल्याएको रात सम्झेपछि सुरभिसँग चरम आनन्दका क्षणहरु पनि उनका स्मृतिभरि ताजा हुन खोजे तर सुरभिलाई अप्रत्याशित क्यान्सरले आक्रमण गरेपछि यो प्रौढावस्थामा सेमन्त अपांगसरह भएका थिए । बाजाको आवाजसँगसँगै उनी पत्नी वियोगमा छट्पटाइ रहेका थिए ।

३.‘एइ मोरी! अर्को बुधबार त यसै गरी तेरो सुलभ पनि बेउलो भएर आउँछ, अनि भोलिपल्ट…….. संरचना ! हामीलाई पनि सम्झन्छेस् के !’ तरुनीको हुलमा एक चञ्चलेले भनी । संरचना लाजले केही बोलेकी थिइन । ‘लौ अब त्यस्तो अपूर्व क्षणमा तँलाइ नै सम्झेर बस्ली संरचना !’ अर्की चञ्चलेले इतरिँदै जवाफ दिएकी थिइ । तर संरचना हाँसिरहेकी थिइ । उसले लाजले घुम्टो पनि उघार्न सकेकी थिइन । विगत दुई वर्षदेखिको प्रेम प्रसंगमा सुलभले संरचनालाई असाध्यै माया गरेको छ । मायाका पराकाष्ठाहरुमा पुगेर पनि उनीहरु साँच्चै रमाउन चाहिँ सकेका थिएनन् । निर्धक्क मायाको स्वरुप भोग्नका लागि सामाजिक मान्यताको अनिवार्यता बुझेर नै उनीहरु विवाह गर्न गइरहेका थिए । बिहेको बाजा सुन्नासाथ संरचना सुलभबाट विवाहपछि प्राप्त गर्न सकिने सम्पूर्ण आनन्दको कल्पनामा डुबेर रमाइरहेकी थिइ ।

४.‘मैले व्यर्थै हतारिएर उसलाई भगाएछु । त्यस बेला अरुन्धतीको रुप र वैंसको अघिल्तिर मैले सारा संसार व्यर्थ देखेँ । साँच्चै यसरी बाजा बजाएर एउटी अपरिचित युवतीसँग बिहा गरेपछिको समय कति रोमाञ्चक हुँदो हो !’ जन्तीमा आएको आकारले सोंचिरहेको थियो । ‘कुखुरे वैंसमा गरेको निर्णय जीवनपर्यन्त भोग्न कठिन हुने रहेछ । अहिले विचार गर्छु, मैले के भनेर अरुन्धतीलाई रुचाएँ, उ भनेपछि हुरुक्क भएछु । मेरो र अरुन्धतीको मेल खाने कुनै एउटा बिन्दुसम्म पनि फेला पार्न सकिरहेको छैन म । तर कसरी हो जीवन बितेछ । अहिले यौवनको सिँढी उक्ली रहेका आफैले जन्माएका छोराछोरी हेर्दा अचम्म लाग्छ ।’ कहिलेकाहीँ जीवन घाटाको अग्रिम सम्झौता जस्तो लाग्ने गर्छ उसलाई । बिहेको बाजा सुन्नासाथ एक किसिमको पश्चाताप हुने गर्छ आकारलाई । बिहेको बाजा सुनिरहुँ जस्तो लागे पनि यस बेला उसको मन भने कसो कसो नरमाइलो नरमाइलो गरी छटपटाइरहेको थियो ।

५.‘त्यसबेला उनी पनि बालखै थिए ।’ चाउरी परेको अनुहार र सेताम्मे कपाल भएकी काइँली आमाले आफ्ना दिवंगत पतिलाई सम्झन पुगिन् । ‘साँच्चै त्यस्तो पनि बिहा हुन्थ्यो, पञ्चेबाजा आँगनमा आइपुग्दा पनि कसको बिहे होला भनेर बाजा हेर्न आँगनमा म पुगेकी थिएँ । त्यति नै बेला ठुल्दाजुले बोकेर माथ्लो कोठामा पुर्याउनु भएको थियो । मेरै बिहे पो रहेछ । सपनाजस्तै, हो कि होइन । मैतालु पठाएर घर पुग्दा त राक्षसनीजस्तै सासू, चण्डाल्नीजस्ता आमाजूहरु ! ओहो ! कस्तो सासना भोगियो । लोग्नेको मुख त राम्ररी चिनेको पनि काइँलो छोराको पालामा मात्रै । त्यहीं पनि घर खान सकिन भनेर सौता पनि हाल्दिए । खोइ, हाम्रो पालामा बिहा पनि कस्तो कस्तो ! आजकलका बेहुलाबेहुली देख्दा अचम्म लाग्छ । लाजसरम पटक्कै छैन ।’ बरन्डाको एक छेउमा उभिएकी काइँली आमाले ओठ लेब्य्राउँदै सरसरती चारैतिरको वातावरण हेरिन् । ‘एउटा बाजा त मेरै बिहेको जस्तो रैछ ।’ उनले बाल्यावस्थामा आफ्नो बिहेका दिन पहिरेका रंगीन कपडा र गहना सम्झिन् । त्यसबेला झरिझुट्ट गहना र कपडा हेरे आफू रमाएको कुरा पनि उनको सम्झनामा आइरह्यो ।

६.‘केटो आमाले नै मन पराउनु भएको थियो’ सन्तुलनले सम्झन खोज्यो । दाजुले आफैले छानेकी केटी बिहा गरेपछि घरमा भएको दिनरातको रडाको देखी वाक्क भएर सन्तुलनले चाहिँ आफूले केटी खोजेर बिहे नगर्ने निर्णय गरेको थियो । तर बिहेपछि एक महिना पनि राम्ररी बितेको थिएन, आमा र सुप्रभाबीच क्रमशः वाकयुद्ध सुरु भएको थियो । सन्तुलनले विधवा आमा वा पत्नी रोज्नुपर्ने समेत परिस्थिति आइपुग्यो । आमाकै निर्देशनमा उ आमाबाट पनि अलग भएको थियो । तर सुप्रभाले सन्तुलनकै सहकर्मीसँग दोस्रो बिहे गरेर सुप्रभाले सन्तुलनलाई असन्तुलन तुल्याएकी थिइ । त्यसपछि उसले पनि रश्मीलाई दियोकलश पुजेर भित्राएको थियो । तर अहिले पनि रश्मीका आँखामा बेलाबखत देखा पर्ने उप्रतिको प्रश्नात्मक भावपरिवेशका कारण सन्तुलन पीडाले रन्थनिने गर्छ । ‘साँच्चै मैले सुप्रभालाई के कुरामा कमी गरेको थिएँ र ! अहिले उसले बिहे गरेको मान्छे कुनै कुरामा पनि मभन्दा योग्य भएजस्तो मलाइ लाग्दैन ।’ यो बिहाको बाजा सुनिरहँदा सन्तुलनलाई सुप्रभासँग बिताएका मधुर दिनहरु र सुप्रभाले दिएको धोका एकैचोटि सम्झना भएर आयो । अब उसको मन अमिलो भएको थियो ।

७. त्यसपछि बिहेको बाजा अचानक बन्द भएको थियो । यस बेला बाजावालहरुको खानपानको समय भएको रहेछ ।

प्रतिक्रिया दिनुहोस्