Logo

गुल्मीमा आत्महत्या भयावह बन्दै, प्रत्येक महिना छ जना भन्दा बढी गुल्मेली आत्महत्या गर्न बाध्य



Spread the love

सल्लेरी खबरलाई जानकारी दिँदै प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्त

७ साउन, गुल्मी – प्रदेश पाँचको पहाडी जिल्ला गुल्मीमा आत्महत्या भयावह बन्दै गइरहेको छ । वर्षेनी आत्महत्याका घटनाहरु बढ्दै जान थालेपछि आत्महत्या न्यूनीकरणका लागि समस्या उत्पन्न भएको छ भने सरोकारवाले गरेका कार्यक्रमहरू पनि प्रभावकारी नभएको प्रष्ट बुझ्न सकिन्छ । विगत तीन वर्षमा एक सय ९४ जना गुल्मेलीले आत्महत्या गरेका छन् भने गत आर्थिक वर्षमा मात्रै ८१ जनाले आत्महत्या गरे ।

यसरी हेर्दा औसतमा प्रत्येक महिना छ जना भन्दा बढिले आत्महत्या गर्ने गरेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ३२ महिला ४९ पुरुष गरि ८१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आर्थिक वर्ष ७६/७७ को साउन महिनामा पाँच जनाले आत्महत्या गरेका छन् भने भदौमा दश,असोजमा पाँच ,कात्तिकमा ११ , मङ्सिरमा सात , पुसमा तीन , माघमा पाँच , फागुनमा छ , चैतमा चार , बैशाखमा नौ, जेठमा ११ र असारमा पाँच जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले उल्लेख गरेको छ ।

जसमा विष सेवन गरेर नौ जना,झुन्डिएर ६९, हाम फालेर तथा डुबेर एक र एक जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदार प्रसाद पन्तले जानकारी दिए ।
त्यस्तै अघिल्ला दुई आर्थिक वर्षमा क्रमशः ५८ र ५५ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्याका कारण के ? न्यूनीकरणको लागि के गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मी ?

२०६८ सालको जनगणना अनुसार दुई लाख ८० हजार एक सय ६० जनसंख्या गुल्मीमा रहेको छ । साक्षरता प्रतिशत हेर्ने हो भने पनि गुल्मीमा ७५ प्रतिशत रहेको छ । तर पनि गुल्मीमा आत्महत्याका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन् । आत्महत्या रोकथाम सरोकारवालाका लागि चुनौतीको विषय नै बनेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले आत्महत्याका कारणलाई विभिन्न बुँदामा राखेर अध्ययन गरेको छ । प्रहरी नायब निरीक्षक केदार प्रसाद पन्तले सल्लेरी खबरलाई भने, “आर्थिक विपन्नता, पारिवारिक बेमेल, दीर्घ रोग, प्रेम सम्बन्ध , मानसिक तनाव जस्ता कारण नै आत्महत्याका प्रमुख कारण रहेको प्रहरीले औंलाएको छ । आत्महत्या रोकथामको लागि प्रहरीले मात्रै काम गरेर हुँदैन । स्थानीय सरकारले पनि नयाँ कदम चाल्नु पर्ने उल्लेख गरेको छ ।”

प्रहरी नायब उपरीक्षक पन्तका अनुसार प्रहरीले गर्ने सचेतना कार्यक्रममा स्थानीयको संख्या कम हुने हुँदा स्थानीय सरकार ,वडा सरकार आँफै सक्रिय भएर काम गर्दा आत्महत्याका घटना केहि हदसम्म भए पनि न्यूनीकरण हुने जिल्ला प्रहरी कार्यालय गुल्मीले अपेक्षा लिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्