Logo

कोरोनाको जोखिम बढ्दै गएपछि गुल्मीमा पहिलो पटक स्वास्थ्यकर्मीलाई प्रशिक्षण



Spread the love

१७ भदौ, गुल्मी – कोरोनाको जोखिम बढ्दै गएपछि गुल्मीमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना प्रशिक्षण दिन थालिएको छ । प्रदेश पाँचको पहाडी जिल्ला गुल्मीमा कोरोना संक्रमितका बिरामीहरु बढ्दै जान थालेपछि जिल्लाका स्वास्थ्यकर्मीलाई पहिलो पटक प्रशिक्षण दिइएको छ ।

प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीको आयोजना एवं राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नाड्रेक) गुल्मीको समन्वयमा केश अनुसन्धान तथा खोज पड्ताल जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई कोरोना रोकथाम तथा स्वाब सङ्कलनको विषयमा प्रशिक्षण दिइएको छ ।

बुधबार आयोजित प्रशिक्षण कार्यक्रमले पुराना त्रुटि सच्याउन र स्वाब परीक्षणमा सहजता ल्याउने स्वास्थ्य निर्देशनालयका डाक्टर प्रमिता शर्माले बताइन् । त्यस्तै स्वास्थ्यकर्मी पनि प्रशिक्षणपछि उत्साहित बनेका छन् । स्वास्थ्यकर्मी नारायण अर्यालले सल्लेरी खबरलाई भने “प्रशिक्षणले कोरोना संक्रमितको पहिचान र रोकथाममा टेवा पुग्ने छ ।”

त्यस्तै प्रशिक्षणले पिसिआर कति सम्मको लिने, नलिने, स्वाब पठाउदा फारम भरेर पठाउने र लक्षण नदेखिएका कोरोना संक्रमित भन्दा लक्षण देखिएका कोरोना संक्रमित खतरा हुने कुरा प्रशिक्षणबाट सिकेको सत्यवती गाउँपालिकाका स्वस्थ्य शाखाका सह संयोजक हेमलाल भण्डारीले बताए ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले प्रशिक्षण ढिलो भएता पनि स्वागतयोग्य र उदाहरणीय रहेको प्रतिक्रिया दिएका छन् । यो समाचार तयार पार्दासम्म गुल्मी जिल्लामा चार सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन सय ६६ जना निको भएर घर फर्किएका छन्।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्