Logo

कोरोनाभाइरसको सङ्क्रमण भन्दा समाजको त्रास बढी



Spread the love

चितवन । कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ । तर पनि मानिसको व्यवहारमा सुधार आउन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमण समुदायसम्म नै पुगेको छ तर सङ्क्रमित र उनीहरुको परिवारलाई माया र आवश्यक सहयोग गरौँ भन्ने सकारात्मक सन्देशले भने समुदायमा प्रवेश पाउन सकेको छैन ।

शिक्षित र सम्भ्रान्त समुदाय बसोबास गर्ने समाजमा नै सङ्क्रमितका परिवार पीडित बन्नुपर्ने अवस्था झन् बढ्दै गएको छ । चितवन जिल्ला शिक्षा र स्वास्थ्यका दृष्टिकोणले तराई तथा मधेशका अरु जिल्लाहरुका तुलनामा अगाडि रहेको मानिन्छ । यही जिल्लाका मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित भनिएको बर्गबाट नै कोरोना भाइरस सङ्क्रमितका परिवारहरु पीडित बन्नुपरेको तीतो यथार्थ यहाँ अहिले पनि कायमै छ ।

पत्रकार वसन्त ढुङ्गानाका दाजुलाई सङ्क्रण देखिएपछि उहाँ २४ दिनसम्म दाजुसँगै घरमै बस्नुभयो । उहाँहरुको घर भरतपुर महानगरपालिका वडा नं.८ लालिगुराँस चोकमा छ । उहाँहरुको यो २४ दिनको समय पूरै तनावमा बित्यो । दाजुलाई सङ्क्रमण भयो, भाउजू छोराछोरी र उहाँलाई सङ्क्रमण भएन ।

दाजुको सङ्क्रमणको अवधिभर परिवार पूरै मानसिक तनावमा रहनु प¥यो । उहाँले दुखेसो गर्नुभयो, “दाजुलाई लक्षण नदेखिएकाले रोगका कारणले नभएर समाजका कारणले हामीलाई तनाव सिर्जना भयो ।” उहाँका अनुसार घरमा बाहिरबाट तयारी खाना कसैले ल्याइदिँदै गर्दा स्थानीयले प्रहरीलाई खबर गथ्र्यो । केही छिनमा प्रहरी आइपुग्थे । उहाँले भन्नुभयो, “मानौँ कि हाम्रो घर कुनै अपराधीको घरजस्तो भयो ।” उहाँले अगाडि थप्नुभयो, “कहिलेकाहीँ त यस्तो ठाउँमा किन घर बनाइएछ भने जस्तो पनि भयो, निकै पछुतो लाग्यो ।”

स्थानीयले जानेर नभएर नबुझेर त्यसो गरेको भन्ने सोचेर आफूहरुले चित्त बुझाउने गरेको उहाँले बताउनुभयो । गएको साउन २६ गते सङ्क्रमण देखिएपछि दाजुलाई सङ्क्रमणमुक्त हुन लामो समय लागेको ढुङ्गानाले जानकारी दिनुभयो । जिल्ला अदालत चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठककी १०९ वर्षीया मावली हजुरआमाको कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । उहाँको स्याहारमा जुटेका पाँच जना सानीआमा, एक नातिनी र एक नातिनी ज्वाइँमा पनि सङ्क्रमण देखियो । पाठकको एकजना सानीआमा अहिले पनि भरतपुर अस्पतालका सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।

खैरहनी नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा पाठकको भनाइअनुसार त्यसपछि त्यहाँ जोडिएका ६१ सदस्य १८ दिनसम्म क्वारेन्टिनमा बस्नुप¥यो । परिवारले भोगेको पीडा यहाँ भनेर व्याख्या गर्न नसकिने उहाँको अनुभव छ । पाठकले भन्नुभयो, “क्वारेन्टिनको अवधि पार गरेर पिसिआर नेटेटिभ आउँदा पनि अहिले पनि समाजमा घुलमिल हुन नदिएको उहाँको गुनासो छ । उहाँले गुनासो गर्नुभयो, “म नजिक गएँ भने कतिपय बसिरहेका मानिस उठेर हिँड्छन् ।”

सानीआमालाई अस्पतालमा भएको गाह्रो आफैँमा पीडादायी भएको उहाँ बताउनुहुन्छ । सघन उपचार कक्ष बाहिरबाट बिरामी हेर्दै गर्दा मन भक्कानिने गरेको उहाँको गुनासो छ । अक्सिजन फाल्ने, शैयाबाट भुईंमा झर्ने जस्ता समस्या हुने गरेको भए पनि डर र त्रासका कारण त्यस्ता बिरामीले उपचार राम्रोसँग पाउन नसकेको उहाँले बताउनुभयो ।

सङ्क्रमितमध्येकै अन्य बिरामीले सक्नेले नसक्नेलाई सेवा गरिरहेको उहाँले बताउनुहुन्छ । पाठकले भन्नुभयो, “आफन्त गुमाउँदाको पीडा, बिरामीको पीडा त छँदैछ, समाजले दिने पीडा झन् ठूलो बनेको छ ।” उहाँले सुरक्षा मापदण्ड र भौतिक दूरी कायम गर्दै उहाँहरुलाई दुःखमा सहानुभूति दिन आउनेहरुलाई समेत समाजले नराम्रो नजरले हेर्ने गरेको देख्दा झनै नरमाइलो लाग्ने गरेको सुनाउनुभयो ।

भरतपुर महानगरपालिका वडा नं. २ निवासी अमिर रामदामको एकाघरमा बस्ने काकाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । सँगै बस्नु भएका ७४ वर्षीय हजुरबुबा सङ्क्रमित हुनुहुन्छ । उहाँले गुनासो गर्नुभयो, “हामीले यतिबेला एक्लो महसुस गरेका छौँ ।” कतिपय साथीभाइले टेलिफोन गर्दा समेत कोरोना सर्ला जस्तो गरेको उहाँको भनाइ छ । सीमित सम्पर्कमा आएकाहरुबाट रासन पानी मगाएर गुजारा चलाउने गरेको रामदामको दुखेसो छ । उहाँले भन्नुभयो, “दुःखका बेला समाजले सहयोग गर्ला भन्ने आशा थियो, तर निराश भइयो ।”

नेपाल पत्रकार महासङ्घ चितवनका सदस्यसमेत रहनुभएका रामदामले समाजलाई बुझाउन नसक्दाका कारण समस्या आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजले अझै पनि रोग कसरी सर्छ भन्ने राम्रोसँग बुझेको छैन ।” कोरोनालाई जितेर काम थाल्नुभएका भरतपुर अस्पतालका प्रसूति रोग विशेषज्ञ डा सुनिलमणि पोखरेल सङ्क्रमण देखिँदै गर्दा परिवारलाई निकै पीडा भएको आफूले भोगेको बताउनुहुन्छ । रोगका बारेमा बुझिनसकेकै कारण समाजमा धेरै त्रास रहेको उहाँको भनाई छ । शुरुका दिनहरुमा एचआइभी एड्स सङ्क्रमितलाई जुन रुपमा हे¥यो, अहिले त्यही ढङ्गबाट कोरोना सङ्क्रमितलाई हेर्ने गरेको उहाँको बुझाई छ । मनोबललाई उच्च राख्न सकेमा रोगलाई परास्त गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “समाजलाई बुझाउन सकेमा समाजबाट हुने पीडा कम गर्न सकिन्छ ।”

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीको सङ्क्रमणपछि उहाँसँगै काम गरेका अस्पतालका चिकित्सक तथा कर्मचारी, बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधि, उच्च पदस्थ व्यक्ति, परिवारमा समेत सङ्क्रमणको आशङ्का भयो । परिवारसँग छुट्टिएर काठमाडौँबाट चितवन आएसँगै उहाँमा सङ्क्रमण देखिएको थियो । उहाँकी श्रीमती शीला तिवारी शुरुका दिनमा निकै पीडा महसुस भएको बताउनुहुन्छ । तिवारीमा लक्षणसमेत देखिएकाले केही भइहाल्छ कि भन्ने आफूमा चिन्ता भएको उहाँको अनुभव छ ।रासस

प्रतिक्रिया दिनुहोस्