Logo

मलमासमा के गर्ने ? के नगर्ने ?



Spread the love

काठमाडौँ । यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।

एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ । महिनामा दुईवटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् ।

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेमात्र हुने गरेको छ ।

यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताए । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ ।

कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ ।

क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ ।

सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ ।

मलमासको समयमा महादान, माङ्गलिक कार्यअर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन ।

नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।रासस

प्रतिक्रिया दिनुहोस्