Logo

सरकारको इज्जत जोगाउन सत्संगलाई बनाइयो होल्डिङ सेन्टर



Spread the love

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन सुरू गरेपछि दैनिक ज्यालामजदुरी गरेर खानेहरुको घरमा चुलो बल्न छाड्यो । त्यसपछि उनीहरुलाई खाना खुवाउन सहयोगीहरु हातहरु पनि अगाडि आए ।काठमाडौंमा कीर्तिपुरको सुन्दरीघाट र सामाखुसीमा रहेको आश्रममा सत्संग बन्द थियो । भक्तजनहरू आफ्नै घरमा थिए । सत्संगको मध्य नेपालको क्षेत्रका प्रमुख तथा केन्द्रीय सदस्य कृष्ण दाहाल भन्छन् ‘चाहँदा चाहँदै पनि हाम्रो विधानमा भएको व्यवस्थाका कारण अरूले जसरी बाहिर निस्किएर सहयोग गर्न सकेका थिएनौं ।’

कोरोना संक्रमण बढ्दै गयो, विदेशमा रहेका नेपालीहरुले पनि दुःख पाएको खबरहरु आए । भारतीय सीमामा क्षेत्र तथा तेस्रो मुलुकमा अलपत्र नेपालीहरुलाई उद्दार गरेर ल्याउनु पर्ने दबावमा सरकार पर्‍यो । सरकार बल्लतल्ल भित्र्याउन त तयार थियो, तर तेस्रो मुलुकहरुबाट आएकाहरुको पीसीआर टेष्ट नगर्दासम्म कहाँ राख्ने ? कसले खुवाउने भन्ने जस्ता अन्यौल कायमै रह्यो ।

स्थानीय प्रशासन होल्डिङ सेन्टरको खोजीमा जुट्यो । केही घण्टाका लागि राख्न त पार्टी प्यालेसहरु भेटिए तर पीसीआर रिपोर्ट नआउँदासम्म खाने र बास बस्ने व्यवस्था कहाँ गर्ने भन्ने समस्या भयो । यस्तो स्थानको खोजीका क्रममा जेठको दोस्रो साता काठमाडौंका प्रमुख जिल्ला अघिकारी जनकराज दाहाल, प्रहरी प्रमुख श्यामप्रसाद ज्ञवालीसहित ४ सदस्यीय टोली कीर्तिपुरस्थित शाखा कार्यालयमा पुग्यो । र, उनीहरुले सत्संगको संरचनालाई होल्डिङ सेन्टरको रूपमा प्रयोग गर्ने अनुमति मागे ।

सत्संगका केका दाहाल भन्छन् ‘उहाँहरूले ‘चौतारी’को रूपमा आश्रमलाई प्रयोग गर्न दिनुपर्‍यो भन्नु भएको थियो । उहाँहरूको आवश्यकता र हाम्रो सेवाको चाहना मिल्यो, त्यसपछि हामीले होल्डिङ सेन्टरको रूपमा आफ्नो संरचना तयार पार्ने अनुमति दियौं ।’

आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित ‘कोरोना रोकथामबारे सरकारको काम कारबाही अध्ययन उपसमिति’ले सिंहदरबारमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र उपत्यका नगरपालिका फोरमका प्रतिनिधिहरूलाई छलफलको लागि बोलाएको थियो । सो बैठकमा काठमाडौंका प्रजिअ दाहालले काठमाडौंको इज्जत जोगाएको भन्दै राधास्वामी सत्संग व्यास नेपालको प्रशंसा गरे ।

प्रमुख जिल्ला अधिकारीले भनेजस्तै आश्रमले काठमाडौंको इज्जत जोगाउनको लागि के–के काम गरेको रहेछ ? भनेर बुझ्न हामी आश्रम पुग्यौं ।

होल्डिङ सेन्टर प्रयोग गर्नुपूर्व सरकारले क्वारेन्टिनमा बस्नेलाई जस्तै प्रतिव्यक्ति एक छाकको लागि १७५ रूपैयाँ खर्च गर्ने योजना बनाएको थियो । त्यसमा बिहानको खाजा, दिउँसोको खाना, साँझको खाजा र रातिको खाना गरी चार पटक खानेकुरा दिने कुरा भएको थियो ।

बाहिरबाट ल्याउनेहरूलाई पनि पीसीआर नेगेटिभ आयो भने घर पठाउने र पोजिटिभ आएकोलाई आइसोलेसनमा लैजाने भएकोले त्यो वास्तवमै केही दिनको लागि मात्रै राख्ने ‘चौतारी’ कै रूपमा प्रयोग गर्ने जिल्ला प्रशासन कार्यालयको योजना थियो । त्यो आफैँमा खर्चालु काम पनि थियो । तर प्रस्ताव गर्न गएका चार जनालाई अचम्ममा पार्ने गरी सत्संगका सञ्चालकले बस्न मात्रै नभएर सकेको दिनसम्म खाना खुवाउने बतायो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को तर्फबाट खानाको लागि प्रतिव्यक्ति एक छाकको १७५ रूपैयाँसमेत उपलब्ध गराउने प्रजिअ दाहालले बताएका पनि थिए । तर सत्संगले सरकारी सो सहयोग नलिने सुनाएर सकेको दिनसम्म आफ्नै तर्फबाट खाना खुवाउने बताएको थियो ।

‘आश्रमको मुख्य मान्यता भनेको नै आफ्नो घरमा आएका जोकोही पाहुनालाई भोकै पठाउनु हुन्न भन्ने हो । ‘सेवा ही परमोधर्म’ नै हाम्रो मुख्य मन्त्र हो’ केन्द्रीय सदस्य दाहाल भन्छन् ‘हामीले जे गर्‍यौं एउटा आध्यात्मिक संस्थाले गर्नैपर्ने कर्तव्य गरेका हौं । अरू केही पनि होइन ।’

जेठ १६ गते सरकारले विदेशबाट नेपाली ल्याउने र भारतको समेत २० वटा नाकाबाट नेपालीलाई भित्र्याउने निर्णय गर्‍यो । भारतबाट आएकाहरूलाई कीर्तिपुरको सुन्दरीघाटस्थित सत्संगको शाखामा राख्ने र तेस्रो देशबाट आएकालाई सामाखुसीमा राख्ने निर्णय गरियो ।

दुवै ठाउँमा खाने र बस्ने सुविधा एकै किसिमको थियो । पहिलो एक महिनासम्म त खाटको व्यवस्था समेत गर्न नसकेर सबैलाई भुइँमा नै दरी ओछ्याएर चिसो नपस्ने गरी सुत्ने व्यवस्था गरिएको थियो । तर एक महिनापछि प्रशासनले नै झण्डै ५ सय जनालाई पुग्नेगरी खाटको व्यवस्था गरेपछि सबैलाई खाटमा सुत्ने व्यवस्था मिल्यो ।

क्षमताको हिसाबले सुन्दरीघाटमा मुस्किलले ३ सय जना अट्ने क्षमता थियो भने सामाखुसीमा ५ सय जनाको । सामाखुसीमा एउटै समयमा १११ जनाले प्रयोग गर्नसक्ने शौचालय पनि तयार पारिएको थियो । खाना बनाउने आफ्नो सुविधासम्पन्न भान्सा तयार नै थियो । त्यही आश्रमको प्राङ्गण र सत्संग हलमा बेड राखेर त्यसपछि जेठको तेस्रो सातादेखि सुरु भयो ‘होल्डिङ सेन्टर’को सेवा ।

त्यहाँ होल्डिङ सेन्टर बनाउने योजना प्रमुख जिल्ला अधिकारी दाहालको नै थियो । कुरा मिले पनि डीसीसीएमसीको आधिकारिक पत्र आउन केही दिन लागेको थियो । तर सो पत्र आउनुपूर्व नै सत्संगले नै बारबेर गरेर पाहुना राख्ने व्यवस्था मिलाउन थालिसकेको थियो ।

स्यानिटाइज गर्न आवश्यक पर्ने सकै सामान नेपाल रेडक्रस सोसाइटीले सहयोग गर्‍यो, पानी ट्यांकी र त्यहाँको लागि साबुनहरू र ब्ल्यांकेटहरू पनि रेडक्रसले नै दियो । स्यानिटाइजरको लागि काठमाडौं महानगरपालिकाले समेत स्यानिटाइजर गरेको थियो । केही ब्ल्यांकेट नेपाल प्रहरीले पनि सहयोग गरेको थियो । बाँकी आवश्यक सामग्री प्रशासन, प्रहरी र रेडक्रस जहाँ जे छ त्यतैबाट ल्याइयो । पहिलो चरणमा भारतबाट आएका ३०० जनालाई कीर्तिपुरमा राखियो ।
कस्तो थियो खानाको व्यवस्था ?

सत्संगका केन्द्रीय सदस्य दाहाल होल्डिङ सेन्टरमा आएर बस्नेहरूलाई ‘पाहुना’ भन्न रूचाउँछन् । उनका अनुसार पाहुनाका लागि तातो पानी र १३ वटा जडीबुटी मिसाएर बनाइएको पानी २४ घण्टै उपलब्ध थियो ।

दाहाल भन्छन् ‘हामी यो जडीबुटी युक्त पानीले कोरोना रोक्छ भन्दैनौं, यसले रूघाखोकी र चिसोबाट जोगाओस्।

प्रतिक्रिया दिनुहोस्