Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४३५
संक्रमित
२२९,३४३
निको भएका
२०९,४३५

फूलको थुङ्गा



भेष राज बुढाथोकी

म सानो हुँदा मेरी आमालाई बारम्बार सोध्थेँ,”आमा ! म कहाँ जन्मेको रे ?” आमाको सदाबहार एउटै उत्तर हुन्थ्यो, “तँलाई हिँड्दा हिँड्दै बड्डी बाटोमा भेट्टाएँ । पछि तेरा बालाई भनेँ । त्यसपछि तेरा बाले आफ्नो न्यानो गन्जि भित्र तँलाई लुकाएर ल्याए ।” बड्डी बाटो गाउँको सबभन्दा ठूलो बाटो हो । जसको छातीमा टेक्दै बटुवा आफ्नो गन्तब्य तिर लम्किन्छ !

आमाको यस्तो उत्तर सुनेर म नाक खुम्च्याउँथेँ । लुखुर लुखुर कुदेर दलिनमा बसेकी हजुर आमाको काखमा पुग्थेँ । अनि हतार हतार सोध्थेँ, ” जिजा ! साँच्ची मलाई बड्डी बाटोमा भेट्टाएको रे हो ?”

हजुर आमा मुस्कुराउँदै भन्नुहुन्थ्यो, “कसले भनेको नि ?”
“हेर्नु न ! हाम्रो आमा जहिल्यै यस्तै भन्नुहुन्छ मलाई ।” निधार खुम्च्याउँदै म बोल्थेँ ।

आफ्नो चोर औँलाले र बुढी औँलाले मेरो नाक तान्दै हजुर आमा भन्नुहुन्थ्यो, “होईन नि मेरो नाक्च्या ! तँ हाम्रै घरमा जन्मिएको होस् । त्यो पनि तेरा बा आमाले बिहे गरेको धेरै बर्ष पछि । हामी रोएका थियौ त्यो दिन । त्यो दु:खको आँशु थिएन । खुशीको आँशु थियो । हाम्रो घर उज्यालो बनाउने मैनबत्ती होस् तँ त । यस्तो मैनबत्ती बाटोमा कसले फ्याँक्छ ?”

हजुर आमाको यस्तो कुरा सुनेर म निशब्द हुन्थेँ । अनुहार अमिलो बनाउँथे । युद्ध हारेको सिपाहीको जस्तो । आफ्नी आमालाई सिकारीले गुलेली हानेर गुँडमै मारेको थाहा पाउँदा पाउँदै केही गर्न नसक्ने बचेराको हालतमा म हुन्थेँ । केही सोच्थेँ । केही हराएको जस्तो, केही गुमाएको जस्तो फिल हुन्थ्यो ।

बा र आमाले बिहे गरेको पाँच बर्ष बढी भईसकेको थियो । म जन्मिनछु । आमाको काख रित्तो थियो । घरको आँगन रित्तो थियो । नाती नातिना खेलाउने हजुर बा र हजुर आमाका हातहरू खाली थिए । र खालि थियो , केटाकेटी खेल्ने मेरो घरको दलिन ।

आजभोली आमा मलाई सुनाउनु हुन्छ । सन्तान ढिलो जन्मिँदा भोग्नु पर्ने पिडाहरू, सहनु पर्ने अभाबहरू, पचाउनु पर्ने गालीहरू । एउटी आमा जसको काख रित्तो छ । उसलाई सहानुभुति दिनु पर्ने बेलामा समाज झन् कर्के नजरले हेर्छ । मेरो देशको राजधानीले मेरो गाउँलाई हेरे जस्तो । मेरी आमाले भोगेका त्यो बेलाका कष्ट सुन्दा मेरा आँखाहरू ओभाना रहँदैनन् । आँखाका चेप चेप बाट खस्छन् आँशुका ढिक्काहरू । भन्नेहरूले भन्छन् , आँशुको कुनै तौल हुँदैन । वजन हुँदैन । तर एक ढिक्का मात्रै पनि खसाउँदा मन हलुका भैजान्छ । जति खसायो झन् झन् हलुङ्गो फिल हुन्छ । झोलुङ्गोमा खेलीरहेको एक अबोध बच्चा जस्तै । समाज त छँदैछ । आफ्नै परिवारबाट पनि कष्ट पाएँ । दुःख पाएँ । अभाब सहनु पर्यो भनेर भन्नुहुन्छ मेरी आमा । बेदनाका पोकाहरू खोल्नुहुन्छ, मेरो अगाडी । सायद यो सब गर्नुको पछाडी म उहाँको एक मात्र आशाको दियो भएर होला । मेरो जिन्दगीको दियो निभ्न नदिन आमा तेल थपीरहनु हुन्छ । थपिरहनु हुनेछ ।

एउटा वाक्य आमा दोहोर्याईरहनुहुन्छ,”तँ जन्मिसकेपछि मलाई आनन्द आयो । खुशी लाग्यो । शरिरबाट काँडा झिकेपछि जुन खुशी र आनन्द मिल्छ । त्यो मलाई मिल्यो । प्रशव पिडाको दु:ख तँलाई के सुनाउनु ? तैँले त ‘पुरूष’ नाउँको टालो जन्मिँदै ओढेर आएको छस् ।”

जसो तसो औषधी मूलो गरेर म जन्मिएँ । म भाग्यमानी यसर्थमा छु मैले मेरी आमाको कोख रित्तो हुन दिईनँ । सन्तानका भोका मेरा बालाई तृप्त बनाएँ । मेरो नाङ्गो शरिरलाई स्पर्श गर्ने मौका दिएँ । सधैँ खाली हुने मेरो घरको दलिन अब एक्लो रहेन । यात्रामा हिँडेको बटुवाले बाटोमा फूल भेटे जस्तै भेट्यो मेरो घरले पनि एक फूल र सजायो शिरमा । तर म जन्मेको खुशी धेरै टिकेन । पानीको फोका जस्तै फुट्यो खुशी । हावा भरिएको बेलुन जस्तै फुट्यो । सायद म काँडा भएर निस्किएँ कि ? मेरो समाज अझैँ पृत्तिसत्ताको जुत्तो लाएर हिँडेको छ । उसले अझैँ पनि पृत्तिसत्ताकै चश्मा लगाएको छ । म जन्मेर मेरो समाज पनि खुशी भएन । न मेरो परिवार नै खुशी भयो । कारण यो छ की मेरो पछाडी लगातार तिनटा बहिनीहरू जन्मिए । मैँले बहिनी नै बहिनी ल्याएछु । भाई ल्याउन सकिनँ । अब समाजले मलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भैदियो । मलाई अभागीको ट्याग भिराईदियो समाजले । एक्लो बाँदरको संज्ञा मलाई दिईयो । एकलकाटे भनेर सम्बोधन गर्न थालियो । बल्ल बल्ल खुशीको दियो बलेको मेरो घरमा तेल थप्नुको सट्टा पानी खन्याई दिए गाउँलेहरूले ।

मेरो भाई नजन्मिँदा मेरा बा आमालाई भन्दा बढी पिर हजुरबा र हजुरमालाई पर्यो । किनकी मेरा बा पनि एक्लो छोरा थिए । छोरा पनि एक्लो , नाती पनि एक्लो भएकोले हजुर आमा र हजुरबाले केही समय पिरको भारी बोके । यता बाले जिम्मेवारीको भारी । पिडाको बिरूवा त बा आमाको हृदयको कुनै कुनामा पनि हुर्केको हुँदो हो तर उहाँहरूलाई थाहा छ मामा नै नहुनु भन्दा कानो मामा ठिक । मौन रहनुभयो बा आमा । तर समाज मौन रहन सकेन ।

समय बिस्तारै बित्दै गयो । दिनहरू ढल्दै गए । बा आमा पनि आफ्नो जिन्दगीको यात्रामा दगुरी रहे दगुरी रहे । सन्तानको खुशी टाल्नका लागि आफ्ना पैतला फटाईरहे । त्यतिञ्जेल हजुरबा र हजुर आमालाई बुढेसकालको छायाले भेट्टाईसकेको थियो । यता हामी दाजु बहिनी कलिला बोटका रूपमा हुर्किँदै थियौँ ।

एक दिन । असार 30 गते हो त्यो मलाई थाहा छ । म बिर्सेको छैन र बिर्सिन्न पनि । म गोठालो गएको थिएँ । हजुरबा र हजुर आमा घाँस काट्न मेला जानुभएको थियो ।
साँझको समय । गोरू गोठमा ल्याउने पर्ने बेला भयो । असारको समय । झरीको समय । साउन सुरू हुनै लागेको थियो । कुहिरोले आकाश घेरेको थियो । रनभुल्नमा थियो कुहिरो पनि । बाटो बिर्सेको यात्री जस्तै । अलि अलि घाम पनि देखिन्थ्यो बेला बेला । घाम भोलि फेरि फर्किने गरि पारी डाँडामा बास बस्न जाँदै थियो । गोठालाहरू गोठ फर्किने तरखरमा थिए । काँडे भ्याकुर, ढुकुर र जुरेलीहरू आ-आफ्नो बास स्थानको यात्रामा थिए । चिरबिर चिर्बिर गर्दै कतै न कतै उडीरहेका थिए । गाउँमा यो समय भनेको बहुत ब्यस्त हुने समय हो । एक जना छिमेकी काका आए र भनेँ, ” भेष राज तेरो त भाई जन्मेछ आज । तेरा बाजे बज्यैलाई सुनाई दिनु ।” म बडा अचम्ममा परेँ । बिचरा बच्चै त थिएँ । केही पाए जस्तो केही गुमाए जस्तो भयो । जे होस् अब म एक्लो थिईनँ । मैले भाई ल्याए । अब म अभागी बाट भाग्यमानीको कठघरामा उभिन पाउने भए । खुशीको खबर बोकेर आउने ती काकालाई मनमनै धन्यबाद दिएँ ।

साँझ हजुरबा र हजुर आमा मेलाबाट फर्किनुभयो । मैले हतार हतारले सुनाएँ, ” जिजा ! हाम्रो भाई जन्मियो रे अब आमा बा छिटै घर आउने रे । हजुरलाई कुनै चिन्ता कुनै पिर नलिई काम गर्नु रे । आमा र भाई दुबै ठिक छन् रे !” यति सुनाई सकेर म छेऊको गुन्द्रीमा टक्क बसेँ । खुट्टा हल्लाउँदै ।

मैले यो खबर सुनाउँदा हजुरबा र हजुर आमा मज्जाले हाँसे । खुशी धपक्कै बल्यो उनीहरूको अनुहारमा । अँध्यारोमा चम्किएको उज्यालो तारा जस्तै उनीहरूको अनुहार । यस्तो खुशी ल्याई दिने उही भाई थियो । उनीहरू कानेखुशी गर्न थाले । धेरै पछि भेट भएका प्रेमी प्रेमिका जस्तै मस्त रहे गफमा । म छेऊमा टुलुटुलु हेरी बसेँ । सोचेँ अब भाई रिसायो भने रोयो भने म फकाउँछु । उसलाई बाल्टिनमा पानी राखेर त्यसमा चन्द्रमाको छाया देखाउँछु । आँखिर जून मन नपर्ने चन्द्रमा मन नपर्ने , तारा मन नपर्ने को होला र संसारमा ?

मेरो भाई र ममा अलिक फरक छ । मेरो दाई छैन उसको दाई छ । मेरो दिदी छैन । उसका दिदीहरू छन् । यसर्थमा म भन्दा ऊ बढी भाग्यमानी छ । यो भन्दा ठूलो फरक ऊ अस्पताल जन्मियो । म घरमा जन्मेँ । ऊ सहरमा जन्मियो म गाउँमा । उसले जन्मिने बित्तिकै उज्यालो संसार देख्यो । मैले अध्यारो देखेँ किनकी म जन्मिने बेला गाउँमा बत्ति थिएन । म अँध्यारोमै जन्मेको हुँ एक फिलिङ्गो हुँ ।

बा आमा सहरबाट घर आउनुभयो । भाईको आगमन भयो घरमा । फष्ट टाईम घर भित्रियो भाई , पाहुनाको रूपमा । अब यो घर मेरो मात्रै रहेन, यो घर भाईको पनि भईसकेको छ । म बच्चै भए पनि केही त बुझ्ने भैसकेको थिएँ । भाईलाई काखमा लिएँ । समाते । स्पर्श गरेँ । स्पर्श गर्नु , छुनु भनेको महसुस गर्नु हो । मैले आत्मीयताको महसुस गरेँ । तातो अनुभब गरेँ । सोचेँ आज फूल रोप्दैछु । यो फूल एक दिन फूल्नेछ । फल्नेछ पनि । अनि यस सुनौलो धर्तिमा आफ्नो छुट्टै सुगन्ध छोडेर ओईलिनेछ । एक दिन त मान्छेले पनि ओईलिनु पर्छ । एक दिन त मान्छेले पनि झर्नुपर्छ । यो निश्चित छ । मैले सम्झेँ, मेरो भाईले बाले बोके जस्तै भारी नबोकोस् । बन्दुक नबोकोस् । मेरो भाईले कलम बोकोस् । स्वाभीमान बोकोस् । ज्ञान , सीप, कला र जिज्ञासा बोकोस् । त्यो भन्दा ठूलो छातीमा देशको प्रेम बोकेर हिँडोस् । काँधमा जिम्मेवारी र कर्तव्यको भारी बोकेर हिँडोस् । मैले ‘दाई नाता’ को दायित्व बोध गरेँ ।

बिरालाले बच्चा सारे जस्तै हामीले भाईलाई एक काखबाट अर्को काख सार्दै लग्यौं । यो क्रम चलिरह्यो । जेठो बहिनीले समाती । केही समय पछि उसलाई उसको ठ्याक्कै दिदी या मेरो साँईली बहिनीले समात्ने पालो आयो । उसले समात्न मानिनँ । ऊ कराई । रोई । उसले घरबाट भाईलाई फाली दिन भनि । घरमा ल्याउँदै नल्याउन भनि । ऊ अबोध थिई । उसलाई कसरी थाहा होस् भातृत्व भनेको के हो । उसले कसरी जानोस् भाईको महत्व । उसले कसरी बुझोस् भाईको अस्तित्व । उसले कसरी चाखोस् नखाएको बिषको स्वाद । अहिले आमाले यो प्रसंग झिक्दा ऊ मुसुमुसु हाँस्छे । त्यस्तो पनि गरेँ होला र , त्यस्तो पनि भनेँ होला र भन्छे ।

समयको गाडी रफ्तारमा कुद्यो । आज म संग भाई छ । ऊ धेरै जान्ने भईसकेको छ । उसले धेरै बुझीसकेको छ । बरू म नै नबुझ्ने छु । मलाई बेला बेला बा भन्नुहुन्छ, ” तँ हृदयसको जति नि बुझ्दैनस् । यस्तो नबुझ्ने किन भईस क्या ?” हो साँच्चै म बाले भने जस्तै नबुझ्ने नै छु ।

बालापन सबैको पृथक भईहाल्छ । मेरो झन् पृथक छ । यो समय गाउँमा काँक्रा फल्ने समय हो । काँक्राको मौसम हो यो । किसानहरू मेलापात जाँदा काँक्रो साथमै बोकेर जान्छन् । जब जब थकान र दिग्दारीले छुन थाल्छ उनीहरू काँक्रो छुन आईपुग्छन् । शीतल छहारीमा बसेर काँक्रोको स्वाद अलौकिक तरिकाले लिन्छन् । हरियो काँक्रो, हरियो खुर्सानी मिसाईएको अचार , हरियो ठाउँमा आहा ! स्वर्ग भनेकै यहीँ त होला । धर्तिको स्वर्ग ।

जब जब काँक्रोको सिजन सुरू हुन्छ मेरो मानसपटलमा एउटा कुरा याद भईराख्छ । बच्चामा म बारीमा काँक्रा खान सधैँ जान्थेँ । आमा कहिल्यै जान दिनु हुँदैन थियो तर पनि म लुकी लुकी चोरेर खान्थेँ । एक दिन राती सुत्ने बेला आमाले मेरो कपाल सुम्सुम्याउँदै गर्दा मैले सोधेँ, “आमा ! साँच्ची, काँक्रोको फेद किन तितो हुन्छ ?” आमा भन्नुहुन्थ्यो, ” आज तँ एक दिन काँक्रो खान गईस । यसको फेद तितो भयो । अब तँ सधैँ यसरी नै काँक्रो खान गईस भने पुरै काँक्रो तितो हुन्छ ।।काँक्रो पनि कसैको छोरो हो । उसको आमा रिसाएकोले तितो भएको हो । नजानू अब बारीमा । सधैँ गईस भने बारिका सबै काँक्रा तिता हुन्छन् । कसरी खान्छस ?” यस्तो भन्दा भन्दै म निदाईसकेको हुन्थेँ ।

आज मलाई थाहा छ । म सधैँ बारीमा गएर काँक्रोको फेद तितो भएको हुँदै होईन । मेरी आमा कति बाठो ! मैले सधैँ काँक्रो खान्छु । बारीमा भएका सबै काँक्रा सिध्याउँछु भनेर त्यस्तो भन्नुभाको रहेछ । आखिर पढेपछि थाहा भयो काँक्रोको फेद त “कुकुरबिटासिन” भन्ने तत्वको कारण तितो हुने रहेछ । क्या गज्जब छ ।अबोध बालापन ।

म जन्मिएको पृष्ठभूमि यो भन्दा ठूलो छ । हुन त सबैको आफू जन्मिनुको पृष्ठभूमि होला । फरक फरक कथा होलान् । छुट्टा छुट्टै ब्यथा होलान् । त्यस्तै कथा ब्यथा मेरा पनि छन् । आज मेरो जन्मदिन । यत्ति लेखेँ । यो एउटा ट्रेलर मात्रै हो । चलचित्र अझैँ बाँकी छ । जिन्दगी एउटा किताब हो भने यो सुरूको एक चौथाई हो । सिङ्गै किताब बाँकी छ ।

अफ्सोच ! समय पापी पनि छ । आज यो खुशीमा मेरा हजुरबा म संग ज्युँदो हुनुहुन्न । उहाँका कैयौँ सपनाहरू म संगै ज्युँदै छन् । पुज्य हजुरबा प्रति भावपूर्ण श्रद्धासुमन ! जब जब म हजुरबालाई सम्झिन्छु तब तब राष्ट्रकवि माधव प्रसाद घिमिरेको गीत सम्झिन्छु ।

“फूलको थुङ्गा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला ए राजै यो जिन्दगानीमा !”

अन्त्यमा ,म आफैले आफैलाई जन्मदिनको लाखौँलाख शुभकामना ! धेरै नगरे पनि केही गर्नु छ । केही गरेरै मर्नु त छँदैछ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्