Logo

आज नवरात्रीको तेस्रो दिन, यसरी पुजा अर्चना गरी चन्द्रघण्टालाई खुसि बनाऊ



Spread the love

नवरात्रिको तेस्रो दिन अर्थात चन्द्रघण्टाको पुजा अर्चना गर्ने दिन । घटस्थापना गरेसगै नवदुर्गाका ९ रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौं दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धि दात्रीको पूजा गर्ने गरिन्छ ।

शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ।

पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएकी थिइन्। अर्द्धचन्द्रयुक्त घण्टाकारको मुकुट धारण गरेकी, विशुद्ध स्वर्णमय दिव्य शरीर भएकी, दसवटा भुजा भएकी र उक्त भुजाहरूमा भिन्नभिन्न शस्त्रास्त्र धारण गरेकी, सिंहमाथि विराजमान भएकी, समस्त भूत, प्रेत, पिशाचादिबाट उत्पन्न हुने बाधाहरू नाश गरी भक्तको दुःखकष्ट हरण गर्ने, शत्रुनाश गरी भक्तको सर्वतोमुखी र सर्वत्र रक्षा गरी माङ्गल्य प्रदान गर्ने नै श्री चन्द्रघण्टा भगवती हुन् ।

चन्द्रघण्टा स्तुति
कालिकां तु कलातीतां कल्याणहृदयां शिवाम् ।
कल्याणजननीं नित्यं कल्याणीं प्रणमाम्यहम् ॥
पिण्डजप्रवरारूढा चन्दकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ॥

ध्यान:-
वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां दशभुजां चन्द्रघण्टां यशस्विनीम्॥
कञ्चनाभां मणिपुरस्थितां दुर्गां त्रिनेत्राम्।
खड्गगदात्रिशूलचापधरां पद्मकमण्डलुमालावराभीतिकराम्।
पटाम्बरपरिधानाम्मृदुहास्यां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्‍‌नकुण्डलमण्डिताम्॥
प्रफुल्लवदनां बिम्बाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां क्षीणकटीं नितम्बिनीम्॥

स्तोत्र:-
आपदुद्धारिणी त्वं हि आद्याशक्ति: शुभां पराम्।
अणिमादि सिद्धिदात्री चन्द्रघण्टे नमाम्यहम्॥
चन्द्रमुखी इष्टदात्री इष्टमन्त्रस्वरूपिणी।
धनदात्री नन्ददात्री चन्द्रघण्टे नमाम्यहम्॥
नानारूपधारिणीच्छामय्यैश्वर्यप्रदायिनी।
सौभाग्यारोग्यदायिनी चन्द्रघण्टे नमाम्यहम्॥

नवरात्रिको तेस्रो दिन यी देवीको पुजा–पाठको भिन्दै महत्व रहेको छ । हामीले मन,वचन र कर्मका साथै कायालाई विहित विधि–विधान अनुसार परिशुद्ध–पवित्र गरेर चंद्रघन्टाको शरणमा परेर उनको उपासना– आराधना गर्नु आवश्यक छ । यसो गर्दा सम्पूर्ण कष्टहरुबाट मुक्त भएर सजिलै परम पदको अधिकारी बन्न सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्