Logo

शितल !!!



Spread the love

 

वाइफाइ अन गरे लगत्तै लगातारका मेसेज-बिपले अत्याइदिए। राँक्किएका नोटिफिकेसन भाईबरका रहेछन्।

स्लाइड गरेँ।

५१ अनरेड मेसेज।

अरे बा ! ५१ !! अफलाईन हुँदा तेत्रो मेसेजको खासै सामना गर्नु परेको थिएन। सरासर मेसेज खोलेँ। खोल्नसाथ अन्तिम मेसेज देखियो, “कहाँ छौ ? फोन कहाँ छ तिम्रो ?”

०००

दिनभर ‘सुइच अफ’ भएछ मोबाईल। साला ‘राकेश’ ! भरखर चिया पिउँदै थिएँ। हतार-हतार बोलायो बिहानै। के भो भनेर भन्दा, ‘तँ आइहाल् न छिटो, काम छ’ भन्दै’थ्यो। हतारमा मोबाईल बेडमै छुटेछ। के भएछ भनेर आत्तिएर गएको त, उसको बिहेको सपिङ गर्न हेल्प गर्नुपर्ने रे। यत्तिको लागि त्यत्रो हतार लगा’को रै’छ।

साला ! आफ्नै बिहेको केहि टुङ्गो लागेको छैन, अर्काको बिहेको सपिङ्गमा जहिल्यै खटिदिनु पर्ने। बल्ल-बल्ल हप्ता मरेर आ’को शनिबार। आजका प्लान सब सिनेमाका सिन जसरी घुम्दैथे। चौतर्फी। यस्तो कुरामा मलाई अल्झाउन खोज्दै’थ्यो ऊ। झनक्क रिस उठिरा’थ्यो।

अकंल-आन्टी हुनुहुन्न थियो भने सालेलाई पुग्नसाथ लात्तैलात्तले बजार्थेँ। घर फर्किहाल्न मन थियो । पुगेको मान्छे फेरि आबेगमा फर्किहाल्ने कुरापनि भएन ।

“हेर न शिशिर, हामीसँग जानै मान्दैन। हिँडेको मान्छे कहाँ पुग्छ, कति बेला फर्किन्छ केहि अत्तोपत्तो हुँदैन। बहिनीसँग पनि जादिनँ भन्छ। वाक्क बनाइसक्यो। तिमी गइदेऊ न बाबु योसँग।”

आन्टी भान्साबाट किस्तिमा कुकिज लिएर आउँदै हुनुन्थ्यो।

अकंल-आन्टीलाई नाई भन्न नि सकिनँ। उम्किने बहाना पनि केहि भेटिनँ। शनिबारको दिन, अफिस जानुछ भन्न नि नमिल्ने।

“भैहाल्छ नि आन्टी, म छु नि।”

धेरै नजिकका साथीहरु अक्सर हरामी नै हुने। राकेशले मलाई फसाउनु फसाइ सक्या’थ्यो। गए ऊ सँगै। अलिपर पुग्नासाथ सब रिस पोखेँ। मुड्कि-मुड्किले बजारेँ। हाँस्दैथ्यो साला।

किनमेल सुरुभयो। उसलाई फेरि हत्तपत्त केहि सामान मन नपर्ने। १२ बजिसक्या’थ्यो। किन्न अझ कति हो कति बाँकी। भोकले आन्द्रा बटार्न थालिसक्या’थ्यो। एउटा होटेल छिर्यौं। चिकेन खाना अर्डर दियो उसले। खाना खाइयो। पैसा उसैले तिर्यो।

बाहिर निस्किन लाग्दा ट्रीट कहिले हो सोद्दै’थ्यो। मेरो प्रपोज एसेप्ट भएको ट्रीट रे ! खालास् ट्रीट भन्दै हिडेँ। घर फर्किँदा ६ बजिसकेको थियो।

मोबाइल घर मै छुट्या’थ्यो। दिउँसै थाहा पाइसक्या थिएँ। राकेशको मोबाइलबाट उसलाई कल गर्न मन लागेन। बाहिरकै ल्यान-लाईनबाट कल गर्याथेँ। उठेन। नचिनेको नम्बर भएर होला नउठा’की।

सात्तै गयो ५१ अनरेड मेसेजज देख्दा। बिचरीलाई थाहा पनि थिएन कि म कहाँ छु ! फोन किन सुइच्ड अफ छ ! अनि, म किन उसलाई एक कल पनि गरिरहेको छैन दिनभर। कति टेन्सनमा थिई होली।

दिनभर बोल्ने प्लान थियो आज। साला राकेशले प्लान चौपट बनाइ दिएको थियो। आइपुग्नसाथ उसैलाई कल गरेँ। ५१ वटा मेसेज पढ्नु भन्दा बरु पहिला कल गर्नु ठीक लाग्यो । गरेँ । ६ रिङ्गपछि बल्ल उठ्यो।

“हेलो, कहाँ थियौ ?”

आवाजमा कुनै रस थिएन। कुर्दाकुर्दा थाकेजस्तै थियो आवाज। केहि हराए जस्तो।

“हेर न, राकेशसँग उसको सपिङ्गको लागि जानुपर्यो। मोबाईल घरमै छुटेछ। बाहिरबाट कल गर्या’थेँ, उठेन। सरी शितल। के गर्दै’थ्यौ ? के के भयो आज ?”

मेरा प्रश्नहरुको उत्तर दिन आवश्यक ठानिन सायद उसले।

“मेसेज हेर्यौ ?” प्रश्न मतिर तेर्सियो ।

“छैन, अहिले एकछिन बोलिसकेर हेर्छु नि।”

“अहिले हेर्दिन्छौ कि मेरा लागि ?”

उसले मागेको ‘आज्ञाले’ चित्त बुझाउनै सकिनँ। के यो सब म हराएकैले हो ? या आजको प्लान चौपट भएकाले ? कि अरु नै केहि ? मनमा अनेक आशंका उब्जिदै थिए।

केहि सोधिनँ अरु । ठीक लागेन पनि । भनिदिएँ,” हस् , अनलाइन आउ।”

मेसेज माथिसम्म स्क्रल गरेँ ।

लेखिएको थियो;

“शिशिर, आज मलाई कोही हेर्न आउँदैछ। काठमाडौंबाट। केटा अष्ट्रेलिया बस्ने रे। घर काठमाडौंमा भन्दैथे। छुट्टिमा बिहे गर्न आ’को रे। तयार भएर बस्न भन्नु भा’थ्यो बुवाले। यस्तो केस पहिलो त हैन, निक्कैलाई नाई भनिसक्या हो। तिमीलाई पनि थाहा छ।

हेरेर गए। आमाले मेकअप गरेर बस्नु भन्दै हुनुन्थ्यो। केटाहरु गै’सकेपछि गाली पनि गर्नु भो। म शृङ्गारिइन रे। आमालाई बिहे गर्दिन भनेर कत्ति भनेँ। सुन्नु भएन। मेरा आँशुले पनि कुनै बचाउ गर्न सकेन यसपाली शिशिर।

छोरी मान्छे। जिन्दगीनै अरुको अधिनमा। बोल् भन्दा बोल्नु पर्ने, चुप भन्दा आवाज थिच्नु पर्ने। घरिघरी त छोरी हुनु पनि अभिशाप लाग्छ शिशिर। यदि म छोरा थिएँ भने, सायद मैले बोलेको सजिलै हुन्थ्यो होला है ? तर मेरो दुर्भाग्य, छोरी भएर जन्मिएँ।

हामीले बोल्न पनि आज्ञा लिनुपर्छ। छि ! यो समाज।

केटा पट्टिले मन पराए रे मलाई। बुवाले कुरा छिनिसक्नु’भो रे। मास्लाघरे पण्डितबा’ले भोली साईत निकाल्छन् रे। बिहे छिट्टै गर्नुपर्छ भन्याछन् रे। बिहे मेरो, जिउनु मैले छ। तर, एक-वचन पनि सोधिएन मलाई। हुर्केकी छोरीलाई घरमा राखुन् पनि कसरी। मलाई सुख दिन चाहनुहुन्छ बुवा-आमा पनि।

तर, त्यो सुखको के अर्थ होला र, जुन सुखमा म आँफै हाँस्न सक्दिनँ। उहाँहरुलाई पनि मेरो खुशी हेर्नुछ। तर, किन बुझिदिनु हुन्न कि म खुशी हुन्न अरु कोहीसँग भनेर। किन मेरो ‘नाई’लाई यति सजिलै मेरो मन्जुरी मानिँदैछ। तिम्रो बारेमा पनि भनेँ। कुनै सुनवाइ भएन। रोएँ। कराएँ।

अहँ, बुझाउन सकिनँ। शिशिर, मलाई डर लाग्दैछ। मलाई यहाँबाट लग्छौ नि है ? टाढा ! म यसरी मेरो जिन्दगीको सम्झौता गर्न सक्दिनँ। तिम्री हुन सकिनँ भने अरु कसैकी पनि हुनेछैन शिशिर। पलपल मर्नुभन्दा एकै चोटि मर्छु बरु। मैले सक्ने गरिसकेँ। अब सक्दिनँ। तिम्रो फोन स्विच्ड अफ छ। कहाँ छौ ? फोन कहाँ छ तिम्रो ?”

घाँटि सुक्यो। प्यास लागेजस्तो। कतै दुखेजस्तो। कतै पोलेजस्तो। असहज भएजस्तै भैराथ्यो। निसासिएको भान भैराथ्यो । डर लागिराथ्यो। कसैले कतै नचिनेको एकलास ठाउँमा लगेर छोडिदिएको भान भैराथ्यो। पानी पिएँ। निकै चोटि मेसेज पढेँ। मेरा सपना, मेरा रहर, मेरा लक्ष्य, मेरा खुशी, धुलाउन नमिल्ने नेगेटिभझै लाग्दै थिए। कहिँ टाढा देख्दैथेँ मेरा रहरहरु। मभन्दा धेरै टाढा। मबाट बसाइँ सरेर गएजस्ता।

किन ? किन सधैँ मै ? म त्यो सर्वपुज्य देउतालाई सोध्न चाहन्थेँ। किन मेरो भाग्य रित्तो मसिको भाडोमा चोभिँदै लेखियो ? किन मेरा खुशीहरु परैबाट निमोठिन्छन् ? जब पिडा र प्रश्नहरु एकसाथ थिच्न आउँछन् , तब तिनलाई बोकेर उठ्न असम्भव प्राय: हुँदो रै’छ। म ढलिसकेको थिएँ।

सायद, अब कहिल्यै उठ्न नसक्ने गरी। जिन्दगीमा जसलाई सबैभन्दा बढी माया गर्थेँ, ऊ नै अरु कसैकी हुँदैछे। म जमिनभित्र कतै भासिसकेको थिएँ। न केहि सोच्न सकिराथेँ, न केहि गर्न नै। जति नै चोटि मेसेज पढे पनि उसले लेखेका हरफहरु तिनै थिए। कुनै शब्दमा केहि बद्लाव आएन।

साला, मन न हो । उसका हरफहरु अचानक आँफै बद्लिदिउन्, यस्तै आशा बोकेर बसिरा’थ्यो। उसलाई अनलाइन देखायो।

सुरु उसैले गरी,”शिशिर, मेसेज पढ्यौ ?”
केहि बोल्नै सकिराथिनँ।

अनायासै बोल्न पुगेछु,”अँ !”
“म सक्दिनँ शिशिर, तिमीबाहेक अरु कसैकी हुन। म यहाँ बस्न चाहन्न अब। कतै पर जान चाहन्छु तिमीसँग। जिउन चाहन्छु। लान्छौ नि है मलाई ? छिट्टै आउ शिशिर, मलाई गाह्रो भै’राछ यहाँ।”

रोइरही ऊ। नरोउ भन्न सकिनँ।

“आउँछु शितल। लान्छु। नआत्तिउ। म छु नि।”

थाहा छैन, कुन सामर्थ्यले बोल्दैथेँ। कहाँ लाने सोच्दैथेँ म उसलाई। के गर्न सक्थेँ होला र म त्यहाँ। उसको रिप्लाई आएन। एकएक अफलाइन देखायो उसलाई।

अफलाईन ?

कल गरेँ । उठेन ।

फेरी गरेँ । रिङ्ग जानसाथ काटियो । अर्कोपाली रिङ्गको आवाज नै आएन । टेलिकमबाट कुनै लेडिजको आवाज थियो । स्विच्ड अफ छ भनेर। किन ? डरको सिमा रहेन।

आमाले मोबाईल खोसिदिनु भो उसको ? या के ?

अब फोनमा उसको आवाज आउँदैन कहिल्यै ? कसरी बोल्छु म उसँग अब ?

कसरी पुग्छु होला म अब उसको घर ?

कहिले पो गएको थिएँ र !

उसलाई बाहिरै भेट्थेँ। के आधारमा जाउँ चितवन ? उसलाई कसरी भेट्छु म ?

कतै भेटिहालिन्छ नि भनेर हानिउँ ?

फिल्मका कहानीजस्तै केहिको अपेक्षा गरौँ ? आखिर के गरौँ अब ?

प्रश्न माथि प्रश्न।

म साँच्चै निसासिसकेको थिएँ। ती ५१ मेसेजले नमज्जाले टुटाइसकेका थिए।

रातभर आँखाहरु चिम्लिन मानेनन्। मन त के थाक्थ्यो र उसलाई कुरेर। उसको फोनको लागि तड्पिरहेथेँ। प्रत्येक ४/५ मिनेटमा कल ठेलेको हुँदो हुँ। उनै टेलिकमकी लेडिजको उहि लवज। रात बस् कट्यो।

दिउसोँभरि कुनै कल आएन, कुनै मेसेज आएन। न म चितवन हिँड्न सकिराथेँ, न त उसको प्रतिक्षा गर्न नै। म पलपल केवल आँफैसँग हारिराथेँ।

०००

दिनहरु उसैगरी बितिरहेथे। ४/५ दिन भैसक्याथ्यो । उसको कुनै खबर आएको थिएन। जिउँदै मरिराथेँ।

भोलिपल्ट बिहानै मोबाईलको बिपले बिउँझाइदियो। मेसेज थियो।

वाग्मती सफाइ अभियानको ? हैन रै’छ।

अन्जान नंबरबाट आएको रै’छ। खोलेँ।

लेखिएको थियो,”बुवा-आमा मान्नुभो शिशिर। फाइनल्ली ! भर्खर सिम किनेको। घर पुगेर कल गर्छु ल।”

 

प्रतिक्रिया दिनुहोस्